श्रम बजारको सूचना प्रणाली विकास परियोजना सुरु «

श्रम बजारको सूचना प्रणाली विकास परियोजना सुरु

विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरी श्रम सूचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न इएलएमएस परियोजना सुरु भएको छ ।
नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरे । प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटनलगायत विविध क्षेत्रको समग्र सीप पहिचान गरी आवश्यक सीपहरुको एकरुपता कायम गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्राविधिक एवम् व्यावसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा सीप र उद्योगको आवश्यकता बीच बेमेल रहेको बताए । उनले तालिमको नाममा सरकारको धेरै रकम खर्च भइरहेपनि लक्षित वर्गाले रोजगारी नपाउँदा न्यून ज्यालाको काम गर्न विदेशिनु परेको बताए । यस्तो समस्यालाई दृष्टिगत गरी नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिए ।
मुलुकभित्र औद्योगिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणलीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा काम गर्ने बताए ।
कार्यक्रममा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रका रोजगारदाताको माग अनुसारको प्राविधिक मानवस्रोत उत्पादन गर्न महत्वपूर्ण र सान्दर्भिक हुने बताए । परियोजनाले आफ्नो लक्ष्य र अपेक्षित उपलब्धि हासिल गर्न आफ्ना मन्त्रालयले सबै प्रकारको सहयोग, साझेदारी र समन्वय गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले निजी क्षेत्रले तथ्यांकीय विवरण संकलन गर्ने कार्यमा सक्रियता देखिएको बताए । उनले प्रदेशले सञ्चालनमा ल्याउन लागेको रोजगारी पोर्टलसँग सहकार्य गर्दा परियोजनाको उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । परियोजनाद्वारा रोजगारदाताको माग अनुसार ‘सीप वर्गीकरण’ नेपालको सन्दर्भमा निकै आवश्यक विषयको उठान भएको बताए ।

प्रतिक्रिया दिनुहोस्