सुरु भयो छठ «

सुरु भयो छठ

काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा हिन्दू धर्मावलम्बीको अर्को ठूलो चाड छठ सुरु भएको छ । यसअन्तर्गत आइतबार व्रतालुले संकल्प लिएका छन् ।
छठ पर्वको व्रत संकल्पका रूपमा आइतबार चोखो बनी अरूवा खाद्यपदार्थ खाएर सोमबार हुने खरनाको उपासनाका लागि व्रतालुहरूले छठ उपसनाको तयारी गरेका हुन् । यसलाई स्थानीय रूपमा ‘नहाय खाय अरवे अरवाइन’ पनि भन्ने गरिन्छ । चोखो बन्ने क्रममा व्रतालुहरू र व्रतका मुख्य सहयोगीहरूले हजामबाट नङ कटाउने गर्छन् । यो पर्वको मुख्य व्रतालु महिला हुने गरेकाले उनीहरूको नङ नाउनीले काट्ने चलन छ । नङ कटाएपछि व्रतालुले पवित्र तलाउ वा नदीमा स्नान गर्ने चलन रहेको छ ।
प्रदूषित तलाउ वा नदी रहेको ठाउँमा नल वा चापाकलको पानीमा गंगाजल मिसाएर पानी पवित्र गरी नुहाउने चलन देखिएको जनकपुरका साहित्यकार राजेन्द्र ललनजीले बताए । उनका अनुसार छठका व्रतालुहरूले सोमबार निर्जल र निराहार बसी साँझ सख्खरमा पकाइएको खीर पकाई केरा, स्याउलगायत फलफूल एवं मिठाइ राखेर अर्घ दिई खरना पर्व पूरा गर्छन् । खरनाको दिनभर निराहार व्रत बसेका व्रतालुले सोही खीरसहितको प्रसाद ग्रहण गर्छन् । बेलुका खाएको खीरसहितको प्रसाद नै व्रतालुका लागि उदाउँदो सूर्यलाई अर्घ नदिएसम्मका लागि खानेकुरा हुन्छ ।
यो वर्ष सोमबार बेलुका प्रसादको रूपमा खाएको खाना सोमबार राति, मंगलबार दिउँसो र रातिसम्मका लागि हुनेछ । बुधबार प्रातः कालमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र व्रत भंग गर्न पाइन्छ । ३६ घन्टासम्म पानी नखाई उपवास लिने काम व्रतालुहरूबाट हुने गर्छ ।
सामान्यरूपमा यो आफैंमा कठिन काम मानिन्छ । साथै यो पर्वमा पवित्रता र स्वच्छताको पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । यो पर्वका लागि पोखरीको भत्केका डिलको मर्मत र सरसफाई गरिन्छ । स्थायी घाट नभएका पोखरीमा घाट बनाउनुपर्ने हुन्छ । जनकपुरका प्रायजसो पोखरीका डिलले पक्की घाटको रूप लिइसकेकाले पहिलेजस्तो घाट बनाउने झन्झट नभएको ललनजीले बताए । उनले भने, “पहिले–पहिले घाट बनाउने काम टोलका युवाहरूको जमातले गथ्र्यो । अहिले सरसफाइ र सजिसजाउ गरे पुग्ने भएको छ ।”
केही वर्ष अघिसम्म घाटमा जाग्राम गरी बस्ने चलन नभएको अनुभव सुनाउँदै ललनजीले भने, “छठका लागि गहुँको पीठोबाट बन्ने ठेकुवा, चामलको पीठोबाट बन्ने भुसुवा, माटोको गाग्रीजस्ता सामान घरबाट घाट र घाटबाट घर फर्काउने गरिन्थ्यो । अब घाटमै जाग्राम गरी बस्ने चलनले त्यो झन्झट जनकपुरमा हटेको छ । गाउँहरूमा भने अझै यो चलन छ ।”
यो पर्वको विशिष्टता भनेको अनुशासनमा कठोरता र व्यवहारमा सहजता हो । यो पर्वको विधानमा कुनै बालकबाट पनि भएको गल्तीका लागि तत्काल क्षमा दण्ड दिने गरिन्छ । उदाहरणका लागि खरनाका लागि बनाइने कुनै खीर बालकले पूजा नगरी खाइदिएमा त्यसको क्षमा दण्डस्वरूप घरपरिवारले अर्को वर्ष थप अर्घ दिने भाकल गरिहाल्छ ।

 

प्रतिक्रिया दिनुहोस्