संक्रमणको दोस्रो लहरले साउदी र ओमान जाने नेपाली रोकिए «

संक्रमणको दोस्रो लहरले साउदी र ओमान जाने नेपाली रोकिए


नेपालका श्रम गन्तव्यहरू साउदी अरब र ओमानमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुनः बढेपछि रोजगारीका लागि जाने नेपाली रोकिएका छन् । कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको जनाउँदै ति देशले स्थल र हवाई सेवा तत्काललाई स्थगन गरेसँगै रोजगारीमा जान लागेका नेपाली रोकिएका हुन् । हवाई सेवा रोकिएपछि विगत ५ महिना ठप्प भएर भदौबाट वैदेशिक रोजगारी जान सुरु भए पनि ४ महिनापछि फेरि पनि रोकिएका छन् । हालै साउदी अरब, कुबेत र ओमानले कोरोना संक्रमणको दोस्रो चरण आएको जनाउँदै हवाई सेवा बन्द गरेको जनाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएका छन् । यसबाट पछिल्ला महिनाहरूमा कोरोना कहरका बीच बढिरहेको रेमिट्यान्स विस्तारै घट्दै जानसक्ने जोखिम देखिन्छ ।
साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ । “साउदी नागरिकहरूको स्वास्थ्य सुरक्षा गर्न सावधानीस्वरूप हवाई तथा स्थलमार्ग स्थगित गरेको जानकारी प्राप्त भएको छ,” साउदी अरबस्थित नेपाली दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्नेछ ।” यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुनसमेत प्रतिबन्ध लगाएको छ । .
ओमानस्थित नेपाली दूतावासले हालै विश्वमा कोरोनाभाइरसले नयाँ स्वरूप लिएको र केही मुलुकमा सो नयाँ स्वरूपको कोरोनाभाइरस फेला परेको कारण ७ गतेदेखि १३ गतेसमम एक साताका लागि ओमानका सम्पूर्ण हवाई तथा स्थलमार्गबाट हुने आवगमन बन्द गरेको जनाएको छ ।
ओमान सरकारको ओमान सर्वोच्च कमिटीले विश्वव्यापी रूपमा विकासित पछिल्लो घटनाक्रम र महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न देशहरूले चालेका कदमलगायत यस क्षेत्रमा भाइरसको पैmलावटलाई मध्यनजर गर्दै आवागमन बन्द गरिएको जनाएको छ । ओमान सरकारले यो अवधिपछि भाइरस विस्तार र पैmलावटको अवस्थाको आधारमा आगामी निर्णय लिने बताइएको छ । तत्काल नेपाल र ओमानको यात्राका क्रमका रहेका यात्री व्यवस्थापन गर्न अनुरोध गरिएको दूतावासले जनाएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि नेउपानेले केही श्रम गन्तव्यको हवाई सेवा स्थगन गरिएको जानकारी आए पनि ति देशका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति भने नरोकिएको बताए ।
लकडाउनयता कुबेत, साउदी अरब र ओमानबाट ३८ हजार ५० नेपाली कोरोना संक्रमणका कारण रोजगारी गुमाएर स्वदेश फर्केको कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ । यसमध्ये कुवेतबाट १३ हजार १ सय ९८, ओमानबाट २ हजार १० र साउदी अरबबाट २२ हजार ८ सय ४२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी, विगत ४ महिनामा यी ३ देशमा रोजगारीमा जाने नेपालीको संख्या भने १२ हजार ९९ मात्र रहेको वैदेशिक रोजगार कार्यलय ताहाचलले जनाएको छ । कार्यालयका सूचना अधिकारी छत्रबहादुर शाहले हवाई सेवा रोकिएको भए पनि श्रम स्वीकृतिको काम भने सुचारु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्