Logo

आफ्नै दलका सांसदले प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद विघटन : नेता रायामाझी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई कुनै पनि काम गर्न नदिएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने र काम गर्न सकेन भन्ने खालको स्थिति भएपछि संसद विघटन गर्नुको विकल्प नभएको बताए ।
प्रतिपक्षले सरकारलाई काम गर्न दिने तर आफ्नै दलभित्रका सांसदहरुले काम गर्न नदिने स्थिति भएपछि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जानुको विकल्प नभएको नेता रायमाझीले दाबी गरे। उनले संसद पुनःस्थापना गर्नभन्दा नयाँ जनादेश लिन मध्यावधिक चुनावमा जानुपर्नेमा जोड दिए ।
यस्तै पार्टीभित्र पहिलो अध्यक्षको निर्णय नै अन्तिम हुने पनि उनले बताए । त्यसैअनुसार केन्द्रीय सदस्यहरुको संख्या थप गरिएको पनि स्पष्ट पारे ।
नेकपाकै अर्का नेता कृष्णभक्त पोखरेलले भने आफ्नै दलसँग पनि छलफल नगरी विघटन गरिएको र संविधानमा हुँदै नभएको व्यवस्थामा टेकेर विघटन गरिएको भन्दै विरोध गरे ।
कुनै पनि काम गर्न नसक्ने सरकारले आफ्नो पार्टी र संसदलाई छल्दै संसद नै विघटन गर्ने कार्य गैह्र कानूनी भएको बताए। संविधानले प्रधानमन्त्री र राष्ट्रपति कसैलाई पनि संसद विघटनको अधिकार नदिएको पनि स्पष्ट पारे तर पनि प्रधानमन्त्री ओलीले विघटन गरेपछि आफूहरु सर्वोच्च अदालतमा गइसकेको र त्यहीबाट न्याय पाउने विश्वास पनि व्यक्त गरे । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएका केन्द्रीय सदस्यहरुको बहुमत सदस्य नभइकन बसेको बठकले गरेका निर्णयहरु कुनै पनि कोणबाट आधिकारिक नहुने पनि स्पष्ट पारे ।
निर्वाचनका लागि कांग्रेस सधैं तयार छ, डराउँदैन्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा संसदीय दलकी सचेतक पुष्पा भुसालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको गम्भीर आरोप लगाइन् । उनले जनताले लामो समयको संघर्ष र आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रपछि नेकपालाई दुई तिहाइको जनमत दिएको भए पनि उसले जनमतको यथोचित कदर नगरेको जिकिर गरिन् । उनले मुलुकलाई समृद्धि र विकासमार्फत अघि बढाउने अभिभार नेकपासँग भएको भए पनि उनले संविधानको भावनाअनुसार काम नगरेको बरु उल्टै जनमतको घोर अपमान गरेको बताइन् ।
उनले नेपालको संविधानले स्थिर सरकार र स्थिर संसद चलाउने परिकल्पना गरेको उल्लेख गरिन् । तर, वर्तमान सरकारले संसद नै विघटन गरेर त्यो भावनामाथिनै कुल्चिने काम गरेको उनको गुनासो छ ।
यो सरकारसँग चुनाव गराउने क्षमता पनि छैन
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको टिप्पणी गरे । उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता पनि नभएको ठोकुवा गरे । उनले भने,‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन् । यो रकम काट्न मिल्दैन् । प्रधानमन्त्रीले आफ्नो पद धरापमा प¥यो भन्दैमा उहाँले तरबार चलाउँदै सबैलाई काटिदिने, यो त हाँस्यास्पद कुरा हो नि । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको पद धरापमा पर्छ, जान्छ । यो नौलो कुरा होइन । तर, आफ्नो पद धरापमा प¥यो भन्दैमा यस्तो गलत कदम चाल्ने ? यो त संविधानको विरोधी भावना हो । उहाँमाथि अविश्वाको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउँदा अर्को प्रधानमन्त्री पनि अघि सारेको छ । आफूसँग बहुमत छ भने फेस गर्नुपर्छ । तर, उहाँले संसद विघटन गर्न पाउनुहुन्न । दर्ता भैसकेको अविश्वासको प्रस्तावलाई फेस गर्नुपर्छ ।’
कार्यक्रममा नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाइएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्तावअनुसार संसद विघटन हुनै नसक्ने बताए ।
उनले भने,‘आशा गरौं सर्बोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई।’ कुनै पनि अर्थमा संसद विघटनको प्राबधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग छलफल नै नगरी संसद विघटन गरेको दुःखेसो पोखे । आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।
उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्