सडक सञ्जालमा जोडिँदै दोधारा–चाँदनी «

सडक सञ्जालमा जोडिँदै दोधारा–चाँदनी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीभन्दा पारी अवस्थित दोधारा चाँदनी नगरपालिका सडक सञ्जालसँग जोडिएको छ । महाकाली नदीमा चार लेनको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै नगरपालिका पहिलोपटक सडक सञ्जालसँग जोडिएको हो ।
महाकाली नदीमा निमार्णाधीन चारलेनको पक्की पुलमा ठूला सवारीसाधन आवतजावत गर्न थालेपछि आवतजावत गर्न सजिलो भएको छ । नदीपारीको क्षेत्र भएकोले विगतमा भने भारतीय बाटो प्रयोग गरेर सदरमुकाम महेन्द्रनगर आउनु पर्ने बाध्यता थियो । विकल्पको रूपमा महाकाली नदीमा निमार्णाधीन पक्की पुलको दक्षिणतिर निर्माण गरिएको झोलुङ्गे पुल भए पनि चारपाङ्ग्रे सवारीसाधन आवतजावत गर्न भने भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो । बिरामी बोक्ने एम्बुलेन्स, सुरक्षा निकायका गाडीहरू, विवाहका गाडीलगायत ठूला सवारीसाधन दोधारा चाँदनी क्षेत्रमा लैजान एकदमै गाह्रो हुने गरेको थियो । तर, अबका दिनमा भने भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
“मैले पसल थापेको झण्डै २० वर्षभन्दा बढी भयो लाग्छ मलाई, भारतीय बाटो प्रयोग गरेर पसल चलाउन भारतीय सुरक्षाकर्मीको चाकरी गर्नुपर्ने बाध्यता थियो,” दोधारा चाँदनी नगरपालिका–१ का जगदीश भट्टले भने, “नेपाली बजारबाट एक डण्डा चुरोट ल्याए पनि गाली गर्दथे, अहिले आफ्नै स्वेदेशको पुल बनेको छ एकदमै धेरै खुसी लागेको छ ।” उनले २० वर्ष अघिबाट पसल थापेर जीवन निर्वाह गर्दै आएका छन् । झण्डै २०२३ सालको बस्ती रहेको दोधरा चाँदनीमा १० ओटा वडाहरू छन् । नगरपालिकाको सबै क्षेत्र भारतीय सीमासँग जोडिएको छ । पुल नहुँदा वर्षाैंदेखि भारतीय थिचोमिचो सहँदै आएको उनले बताए । बिरामी बोक्ने एम्बुलेन्स भएपनि बिरामी लैजान बाटो नभएका कारण वर्षाैंदेखि स्थानीय पुलको आशमा जीवन जिउँदै थिए । पुलबाट आवत जावत गर्न मिले पनि यहाँका स्थानीयलाई नयाँ जीवन मिलेको छ ।
“सदरमुकामबाट सानो सामान ल्याए पनि भारतीय सुरक्षाकर्मीबाट हेपिनुपर्ने बाध्यता थियो, अहिले चारलेन पुलले पुरानो समस्या सबै बिर्साएको छ,” स्थानीय भट्टले भने, “भारतीय बाट हेपिनु पर्ने बाध्यताको अन्त्य भएको छ, आफ्नो देशको बाटोमा हिँड्न पाउँदा उलग्गै गर्व महसुस हुन्छ, वास्तवमा नदी पारिका नेपाली नागरिकका लागि पुलले नयाँ जीवन नै दिएको छ ।” पुल निर्माण भएपछि अव पारिवारि खुलेर आवत जावत गर्न पाइने भएको छ । नेपाली भूभागमा निर्माण भएको नेपाली पुल भएकोले सदरमुकाम जाउन आन रातविरात पनि समस्या नहुने उनले बताए । दुई दशकअघि निर्माण भएको एक किलोमिटर भन्दा लामो झोलुंगे पुलसँगै चारलेनको पक्की पुल निर्माणपछि दोधारा चाँदनी क्षेत्रको जनजीवन नै परिवर्तन हुने स्थानीयको बुझाइ छ ।
दोधारा चादँनी नगरपालिका– १ का अर्का स्थानीय रामबहादुर सिंहले पनि पुलले गर्दा दैनिक जीवन नै परिवर्तन गरिदिएको बताए । स्थानीय क्षेत्रमा उत्पादन भएको तरकारी तथा अन्नवाली लगायत धेरै बाली नालीहरूलाई सदरमुकाम क्षेत्रसँग सिधै जोड्न पाउने भएपछि स्थानीय उत्पादनमा पनि बढवा आउने सिंहले बताए ।
“महाकालीवारिको हाम्रो क्षेत्र भनेको तरकारी खेती तथा कृषि कार्य राम्रो हुने क्षेत्र हो, तरकारी खेती धेरै उत्पादन हुन्छ, बजार नपाएरै समस्या हुने गर्दछ,” सिंहले भने, “पुलकै अधावमा धेरै कुराबाट पछाडि परेका थियौ, पुल निमार्ण सम्पन्न हुन लागेको छ, स्थानीय उत्पादनले सदरमुकामको बजार पाउँछ ।” सदरमकुाम जोड्ने झोलुङ्गै पुलबाट मात्रै स्थानीय उत्पादन बजार सम्म लैजान नसक्दा स्थानीय उत्पादनले बजार पाएको अवस्था थिएन । पक्की पुल भएपछि अव स्थानिउ उत्पादनले पनि बजार पाउने सिंहले बताए । उक्त क्षेत्रमा उत्पादन भएको तरकारी, दूध र खाद्यान्न झोलुंगे पुलकै बाटो भएर आउने गरेको थियो ।
यस्तै पुल निमार्ण भएपछि सीमा सुरक्षामा पनि सहज हुने देखिएको छ । स्थानीय सिंहका अनुसार नगरपालिका क्षेत्र भारतीय खुल्ला सीमाना सँग जोडिएकोले पनि सीमा सुरक्षाको निकै समस्या थियो ।

महाकाली पुल ६० प्रतिशत सकियो
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निमार्ण भैरहेको चारलेन महाकाली पुलको निमार्ण कार्य ६० प्रतिशत सकिएको छ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाले चार लेन महाकाली पुलको शिलान्यास गरेका थिए । निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले लकडाउन खुलेपछि निर्माण कार्यलाई तिव्र रूप दिइ लक्ष्यको ६० प्रतिशत निर्माण कार्य सकिएको छ ।
“पुलको काममा भने निर्माण गर्नुपर्ने ३२ ओटा स्ल्याबमध्ये १० ओटा स्ल्याव निमार्ण सकिएको छ,” कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले भने, “स्ल्याबसँगै बाँकी निर्माण कार्य पनि भइरहेको छ, ३४ पिलरमध्ये ३० वटा बनिसकेका छन् ।” उनका अनुसार पिलर र स्ल्याब हाल्ने काम एकैसाथ निर्माण कार्य भइरहेको छ । यसको निर्माणका लागि ३ अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्