थपिदैँ पूर्वधार निर्माणको म्याद «

थपिदैँ पूर्वधार निर्माणको म्याद

१) दमकमा निर्माणधीन नेपालकै सबैभन्दा ठूलो भ्यूटावर । २) दमकमा निर्माणधीन प्रदेश–१को सबैभन्दा ठूलो सभागृह । तस्बिर :मनिषा चम्लागाईँ ।

झापा-कोरोनाले नेपाली अर्थतन्त्रमा पु-याएको असर देखा पर्न थालिसकेको छ । पूर्वाधार निर्माण, पर्यटन क्षेत्र, वैदेशिक व्यापारमा यसको गम्भीर असर देखा परेको छ । कोरोनाको प्रभाव अझैपनि कायम नै छ । जसले नेपालको आर्थिक वृद्धिदर खुम्चिने सम्भावना छ । कोरोना कहरको समाधान कसरी हुन्छ भन्ने अन्योल जस्तै यो संक्रमणले नेपाली अर्थतन्त्रलाई कति लामो समयसम्म थला पार्छ भन्ने अनिश्चित नै छ ।
कोरोना कहरले झापामा निर्माणधीन राष्ट्रिय गौरवका आयोजनाको काममा सुस्तता ल्याएकाले छ । सरकारले अर्बौँ खर्चेका यी आयोजनाको निर्माण जति छिटो सकिन्थ्यो, अर्थतन्त्रले उती गुणात्मक लाभको सिर्जना गर्न सक्थ्यो । झापा क्षेत्र नम्बर –५को दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । दमकमा अर्बौँ लगानीका आधा दर्जन बढी विकासका परियोजना सञ्चालनमा छन् ।
ओली प्रथम पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरेका थिए । सोही अनुरुप दमकमा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर), अन्तराष्ट्रिय स्तरको सभागृह, औद्योगिक पार्क, विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणधीन छन् । मूलुकले नै गौरब गर्न लायक केही परियोजना निर्माणमा कोरोना कहरले गग्भीर असर पु-याएको छ ।
आयोजना प्रभावित
प्रधानमन्त्री ओलीको परिकल्पनामा दमक नगरपालिका –३मा भ्यूटावर निर्माण शुरु भएको हो । सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ अढाई वर्षे योजना हो । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका अनुसार ०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा उक्त टावर निर्माणको काम सक्नुपर्ने छ । भ्यूटावर १ सय मिटर अग्लो र १८ तले बन्ने छ । भ्यूटावर वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको हो । अहिले भ्यूटावरको जगको काम भइरहेको छ । चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ रुपैयाँमा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् ।
कोरोना कहरका कारण भ्यूटावर निर्माण ढिला भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारी बताउँछन् । “कोरोनाका कारण निर्माण कार्य प्रभावित बन्न पुग्यो” बिडारी भन्छन्, “चैत १४ गतेदेखि १ महिना त काम नै ठप्प भयो, त्यसपश्चात भारतीय कामदार भारत फर्के ।” तत्काल भारतीय कामदार फर्काउन नसकिने भएकाले नेपाली कामदारबाटै काम शुरु गरिएको बिडारी बताउँछन् । १ महिनापछि काम शुरु गरेपनि कच्चापदार्थ अभाव, र कामदार अभावले कामलाई पहिले कै गतिमा लान नसकेको निर्माण कम्पनीले जनाएको छ । हाल दैनिक १ सय ५० श्रमिक निर्माणमा खटिइरहेका छन् । “असोजसम्मा पहिलो तला निर्माण गर्ने योजना थियो” बिडारी भन्छन्, “कोरोना महामारीले थप केही महिना पछि मात्र पहिलो तला सम्पन्न हुने देखिन्छ ।”
सहरी विकास मन्त्री कृृष्णगोपाल श्रेष्ठसहितको उच्चस्तरीय टोलीले गत मंसिरमा भ्यूटावर निर्माणको अनुगमन गरेको छ । निर्माणस्थलको निरीक्षण पश्चात मन्त्री श्रेष्ठले सम्झौतामा तोकिएको अवधिभित्रै भ्यूटावरको निर्माण सक्न निर्देशन दिएका थिए । “राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा काम सक्नुहोस्” निर्माण कम्पनीलाई, मन्त्री श्रेष्ठले भने । सोही कार्यक्रममा निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौतामा तोकिएको अवधिमै कार्यसम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
भ्यूटावर निर्माण पश्चात दमकको मात्र नभएर देशकै मुहार पाँच बिघा जमिनमा बन्दै छ । जसका लागी स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको दमक नगरपालिकाका प्रमुख रोम ओलीले बताए । ७ कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुला स्टेजलगायत संरचना रहने ओली बताउँछन् । टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालय रहने जनाइएको छ । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ ।
थपियो सभागृह निर्माणको म्याद
दमक नगरपालिका– ९मा ‘दमक सभागृह’ निर्माणको काम ७५ प्रतिशत पुगेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका अनुसार ०७४ असार २० मा भएको ठेक्का सम्झौताअनुसार ०७७ असार २५ मा उक्त सभागृह निर्माणको काम सक्नुपर्ने हो । निर्माण कम्पनीले कोरोना कहरले गर्दा समयमा नै काम सक्न समस्या भएको भन्दै १५ महिना म्याद थप गरेको छ । जसअनुसार असार २०७८ साल असोजमा दमक सभागृहको निर्माण सम्पन्न हुने सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरले जनाएको छ । सभागृह निर्माणको ठेक्का डाँफे एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले लिएको छ ।
प्रदेश १– कै ठूलो भनिएको सभागृह १ विगाह क्षेत्रफलमा निर्माण भइरहेको छ । संघीय सरकारको ३२ करोड २२ लाख ७ हजार २ सय २६ रुपैयाँ लगानीमा उक्त सभागृह निर्माण भएको हो । २ वटा हल रहेको सभागृहमा एउटा हलमा १५ सय जना र अर्को ३ सय जना र अटाउने क्षमताको रहेको छ । “मुख्य काम भइरहेको समयमा कोरोना कहरले गर्दा लकडाउन भयो, लकडाउनको असर असारसम्म प¥यो” सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर भुपेन्द्रकुमार यादवले भने “कामदारहरु भारत फर्के, पीसीआर गरेर ल्याउन झन्झट हुने भएकाले नेपाली कामदार नै लगायौँ अहिले काम भइरहेको छ ।” नेपाली कामदारलाई काम सिकाउन पनि समय लागेको यादव बताउँछन् । लकडाउनले काम पछि थकेलेको उनले बताए । अहिले सभागृह ‘फिनिसिङ’को काम भइरहेको छ ।
सभागृह प्रदेश–१ कै सबैभन्दा ठूलो हो । सभागृह परिसदभित्रै रेस्टुरेन्ट, बैठक कक्ष, ६ वटा चेन्जिङ रुम, गार्डेन र व्यवस्थित पार्किङ रहने दमक नगरपालिकाले जनाएको छ । सभागृह मुख्य सभाहल साढे तीन तलाको रहेको छ । सभागृह निर्माणका लागि स्थानीय १७ दाताले एक बिघा १२ कठ्ठा जग्गा दान गरेका थिए । उक्त जग्गामध्ये मुख्य सभाहल ४ कठ्ठामा बन्दै छ । सभागृह निर्माणले ठूलठूला सभा, सम्मेलन, विवाह, भोजका लागि सहज हुने दमक नगरपालिकाका प्रमुख रोम ओली बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७३ जेठ २८ गते सभागृहको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्