कोभिड नियन्त्रण र उपचार शीर्षकमा ४६ अर्ब «

कोभिड नियन्त्रण र उपचार शीर्षकमा ४६ अर्ब

कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएयता यसको नियन्त्रण र उपचारमा मात्र लगभग ४६ अर्ब रुपैयाँँ खर्च भएको पाइएको छ । सरकारले कोभिड १९ पहिचान, परीक्षण, नियन्त्रण तथा उपचारका लागि गत आर्थिक वर्षसहित यो आवको माघसम्मका निमित्त ४५ अर्ब ७५ करोड ५१ लाख १० हजार रुपैयाँ विनियोजन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजानिक गरेको कोभिड–१९ स्वास्थ्य क्षेत्र दु्रत कार्ययोजनाअनुसार गत आवको चैतदेखि असारसम्म ९ अर्ब ९३ करोड २८ लाख ३९ हजार निकासा भएको छ । निकासा गरिएको रकममध्ये औषधि तथा औषधिजन्य सामग्रीमा १ अर्ब १३ करोड़ ९० लाख २५ हजार तथा स्वास्थ्य औजार र उपकरणमा २ अर्ब ९१ करोड ३२ लाख ५१ हजार समेत गरी ४ अर्ब ८९ करोड़ ८० लाख ७० हजार खर्च भएको देखिन्छ । यसैगरी चालू आवको प्रहिलो दुई महिनामा ३ अर्व २९ करोड ९० लाख ५५ हजार रुपैयाँ कोभिड १९ पहिचान, परीक्षण, नियन्त्रण तथा उपचारका लागि निकासा गरिएको छ । यसको खर्च भने सार्वजानिक गरिएको छैन ।
यसैगरी कात्तिकदेखि माघसम्मका लागि कोरोना नियन्त्रण गर्न ३२ अर्ब ५१ करोड ८६ लाख १७ हजार अनुमानित बजेट लाग्ने गरी योजना अगाडि बढाइएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए । आगामी माघसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि संघबाट ६२ प्रतिशत, प्रदेशबाट २९ प्रतिशत र स्थानीय तहमार्पmत ९ प्रतिशत परिचालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले महामारी फैलिएपश्चात हालसम्म ४ लाखभन्दा बढी व्यक्तिहरूलाई १४ दिन क्वारेन्टिनमा राखेर संक्रमण नियन्त्रणका लागि काम गरेको जनाएको छ । हालसम्म प्रयोगशालाको परीक्षणका दायरा बढाउनका लागि निजी क्षेत्र समेतको सहभागितामा ५७ वटा प्रयोगशालाहरूबाट ४० सरकारी तथा १८ निजी) दैनिक २५ हजार भन्दा बढी परीक्षण गर्न सक्ने गरी क्षमता अभिवृद्धि गरिएको जनाएको छ ।
कोभिड–१९ संक्रमितहरूको उपचारका लागि ७० वटा अस्पतालहरू तोकी उपचार व्यवस्थापन गरिएको, अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पतालमा ३ हजार २ सय ४५ बेड सञ्चालनको लागि ६४ करोड ९० लाख व्यवस्था गरी पठाइएको छ । यसका लागि स्थानीय तहहरूले काम सुरु गरेको प्रवक्ता गौतमले बताए ।
जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० बेडमा स्तरोन्नति गर्दा ९२२ बेड, साविकका ११ अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई दुई बेडको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ बेड र प्रदेश स्थित ७ संघीय अस्पतालहरूलाई पाँच सय बेडमा स्तरोन्नति गर्दा एक हजार गरी कुल ६ हजार २०२ बेड थप गर्ने कार्य अघि बढेको मन्त्रालयले जनाएको छ । संक्रमितको उपचार सेवामा वेवास्ता गरेको आरोप लागेपछि कार्तिकबाट मात्र कोभिड १९का लागि अस्पतालहरूलाई तयारी अवस्थामा राख्न आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ । मन्त्रालयले प्रगति प्रतिवेदन सार्वजनिक गदै देशभरि करिब २ हजार ८ सय आईसीयू बेड र १ हजार भेन्टिलेटर रहेको दाबी गरेको छ । यसमध्ये कोभिड १९ उपचारको लागि ४ सय ९० आईसीयु बेड थप्नको लागि आवश्यक कार्य अघि बढेको जनाइएको छ ।
हाल आएर कोभिड–१९ व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरू पर्याप्त मात्रामा व्यवस्था गरिएको सरकारले जनाएको छ । यसका अतिरिक्त स्यानिटाइजर, मास्क, फेस सील्ड, ग्लब्स आदिको आन्तरिक बजारमा उत्पादन अभिबृद्धि हुदै गएकाले यसको योजनाअनुसार खरिद प्रक्रिया समेत सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्