शिलान्याशको १४ महिनापछि निर्माण सुरु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग
प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निर्माण सुरु भएको छ । आगामी सन् २०२३ को मघ्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण कार्य मंगलबारदेखि सुरु भएको हो । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग मार्गको शिलान्याश गरेका थिए । तर, मुआब्जा विवाद, विष्फोटक पदार्थ आयातको अनुमतिमा नेपाली सेनाको ढिलाई र कोभिड–१९ लगायतको कारण उपकरण आयात ढिलाइ, जनशक्ति व्यवस्थापन गर्न कठिनाई लगायतको कारणले आयोजना सुरु गर्न लामो समय लागेको आयोजानाका अधिकारीहरूले बताएका छन् ।
दु्रतगतिमा सुरुङ निर्माण गरेर ४२ महिना भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो सुरुङमार्गमा नेपाल सरकारको ६ अर्ब लगानी र जापान सरकारको १६ अर्ब ऋण सहयोग रहेको सडक विभागले जानकारी दिएको छ । आयोजनास्थलमा सुरुङ खन्नका लागि निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम पूरा भएसँगै सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभाग अन्र्तगतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । “तोकिएको समयभन्दा केही ढिलो काम सुरु भएको भए पनि आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न हुने छ ।,” उनले भने, “खन्ने काम २० देखि २५ मिटरसम्म मेसिनले कोतरेर खनिनेछ भने त्यसपछि ड्रिलिङ र बम ब्लाष्टिङ विधिबाट खनिने छ ।”
आयोजना निर्माणका २० जापानी, नेपाली प्राविधिकसहित हाल ३ सय प्राविधिक जनशक्ति आयोजनास्थलमा खटिरहेका छन् । जापानको निर्माण कम्पनी हाज्मा एन्दो कर्पाेरेसनले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङ क्षेत्रमा र काठमाडौंतर्फको भागमा पनि खन्ने काम मंगलबारबाट सुरु गरिएको आयोजनाका परामर्शदाता रमेश कोइरालाले जानकारी दिए । “रोडसाइड सर्भिस स्टेसन निर्माणको लागि माटो भर्ने काम, निर्माण स्थलको साइड क्लियरेन्सको काम भइरहेको छ,” उनले भने ।
सुरुङमार्ग निर्माणको लागि निर्माण सामग्री बालुवा धादिङको महादेववेशीबाट ल्याउने र ढुंगा, गिट्टीको लागि सुरुङमार्गबाट निस्किएको ढुंगा उपयोग गर्ने योेजना रहेको छ । ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट निर्माण गर्ने लागिएको सुरुङमार्गको लागि आवश्यक जम्बो ड्रिल मेसिन, लोडर मेसिन ट्रिपर लगायतका मेसिन जापानबाट आयात भइसकेको छ । सबै उपकरण आयात भएपछि निर्माण कार्यलाई गति दिइएको छ । ब्लास्टको लागि ९ सय टन विस्फोटक पदार्थ आवश्यक पर्नेमा ३ सय टन बाहिरबाट आयात गरिएको छ भने बाँकी विस्फोटक पदार्थ खन्ने काम हुँदै गर्दा नेपाली सेनाले उत्पादन गर्दै गर्ने र पछि गुणस्तर मापन गरेर स्वदेशी विष्फोटक पदार्थ प्रयोग गर्ने योजनारहेको छ ।
आयोजनाअन्तर्गत दुई इन्टरचेन्ज (फ्लाइओभर र अन्डरपास) ब्रिजसहित सात वटा स–साना पुल र ११ वटा बक्स कल्र्भट पनि निर्माण हुने महाशाखा प्रमुख थापाले जानकारी दिए ।
सुरुङमार्ग रोड साइड सर्भिस सेन्टर (रेष्टुरेन्ट, शौचालय, डिपार्टमेन्ट स्टोर)सहित धादिङतर्फको क्षेत्रमा पाकिङस्थल सुरुङमार्ग नागढुंगा सुरुङमार्ग तथा एप्रोच सडकको निर्माणका लागि त्रिभुवन राजमार्गको काठमाडौंको बलम्बुबाट सुरु भएर आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै त्रिभुवन राजमार्गको धादिङ सिस्ने खोलामा गएर राजमार्गमा जोडिने छ । यो सुरुङमार्ग र फ्लाई ओभरसहितको यो पूर्वाधार नेपालको पहिलो हो । सुरुङमार्ग निर्माण पूरा भएपछि हाल रहेको १२ किलोमिटरको लामो सडक मार्गलाई सुरुङमार्गबाट १० मिनेटमा पार गर्न सकिने छ ।
आयोजनाका अनुसार, लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोचमार्ग, पूर्वलम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी,१८ मिटर उचाइ निर्माण हुनेछ । पहिलो आकस्मिक सवारीको लागि कुल ४ मिटर चौडाइको र अर्का ९ं.५ मिटर चौडाइको निर्माण हुने छ । पूर्वपश्चिम एप्रोज रोडसमेत निर्माण हुने र पूर्वतिर २३ सय ७ मिटरको र पश्चिमतर्फ ५ सय ६५ मिटरको सडक निर्माण हुनेछ । सुरुङमार्गबाट पेट्रोलियम पदार्थ र दुईपाङ्ग्रे सवारीलाई भने प्रतिबन्ध गरिने छ ।