च्याउखेतीले बिर्सायो विदेशको दुःख «

च्याउखेतीले बिर्सायो विदेशको दुःख

बाँके : परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । ६ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन ।
खजुरा गाउँपालिका–३ गाउँका सुनारले ६ वर्षअघि आफ्नै गाउँमा च्याउखेती सुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मेहनत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले १ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रमअन्तर्गत ६० हजार रुपैयाँबाट तरकारी खेती सुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर १६ हजार रुपैयाँको लगानीमा च्याउखेती सुरु गरे ।
सुरुमा १ सय २० पोकाबाट च्याउखेती सुरु गरेका उनी उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । उनले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । “लक्ष्मी बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएँ”, उनले भने, “यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।”
विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएका उनले बताए । “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,” उनले भने । टहराबाट च्याउखेती सुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाए । अहिले च्याउ लगाउनका लागि आठवटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।
उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन् भने चाउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् ।
आवश्यकताअनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भए पनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन सुरु गर्ने सुनारले बताए । च्याउको सिजन सुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यस वर्ष बढाउने लक्ष्य लिएका छन् ।
उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालिमबिना नै च्याउखेती सुरु गर्नुभएका सुनार अचेल आफैँ तालिम दिन्छन् । मेहनत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो ।
आत्मविश्वास बढ्यो, यसैमा लागिपरे र कर्म गरे अवश्य फल पाइन्छ । उनले भने, “हिजो १०÷१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे र आज दुई÷चार लाख दिने मान्छे छन् ।” व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । उनी च्याउखेतीमै लागिपरे र सफल पनि बने ।
“वि.सं २०७३ सालमा खोर नै सखाप थियो । १७ लाख रुपैयाँको लगानी खेर गयो तर हिम्मत हारिन,” उनले भने, “साथीभाइको साथले फेरि सुरु गरें ।” समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मेहनत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए ।
सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका छन् । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनी बताउँछन् । “आफ्नो काममा खुसी र सन्तुष्ट छु”, उनले भने, “अझै धेरै गर्न बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस्