खुला दिसामुक्त देशको प्रभावकारी कार्यान्वयन होस् «

खुला दिसामुक्त देशको प्रभावकारी कार्यान्वयन होस्

नेपाल एक विविधताले युक्त देश हो । यहाँका मानिसहरूको पनि भिन्दाभिन्दै किसिमको विशेषता रहेको छ । हतारमा काम गरिसकेपछि फुर्सदमा पछुताउने नेपालीको बानी नै हो । सरकारको समृद्धिको नारा र व्यवहारमा मात्र एकरूपता नभएको जस्तो भान आज हामीलाई लागेको छ । भनिन्छ, एक व्यक्तिको हैसियत उसले लगाएको जुत्ता हेरेर थाहा पाउन सकिन्छ रे । मानिस जति नै तामझम गरी फूलबुट्टा भरेर हिँडेको भए तापनि जुत्ता प्वाल परेको लगाएर हिँड्दा नै थाहा हुन्छ कि उसको हैसियत के रहेछ भनेर ।
भन्नुको मतलब नेपालको कानुनले नै नेपाल खुला दिसामुक्त देशको घोषणा त गरियो, तर व्यवहारमा भने मुक्त भई नसकेको अवस्था छ । त्यसैले बाहिरी सजावटले मात्र भित्री समस्या समाधान नहुने भएकाले यसतर्फ गम्भीर ध्यानाकर्षण गरिएको छ ।
सुगम भनिएका सहरी क्षेत्रमा बाक्लो घनाबस्ती हुनु स्वाभाविक नै हो, तर ती सभ्य ठाउँमा बसोबास गर्ने सभ्य नागरिक नै असभ्य बन्दाको परिणाम आज देखिएको अव्यवस्थित सहरीकरण, अव्यवस्थित फोहोरमैला र प्रदूषण तथा नदीनालाका छेउमा घिनलाग्दो देखिने दृश्यले खुला दिसामुक्त देशको नारालाई गिज्याइरहेको छ । फोहोरमैला र ढलको उचित व्यवस्थापन हुन नसक्दा आज सहरले उच्च प्रदूषणको मार खेप्नुपरेको तीतो यथार्थ विदितै छ । जमिनको कित्ताकाटले सानो क्षेत्रफलमा बनाइएका घरमा बनाइएको ट्वाइलेटलाई ढलको माध्यमबाट प्रत्यक्ष रूपमा नदीमा लगेर मिसाइएको छ, जसले गर्दा नदीमा पानीको तहभन्दा फोहोरमैलाको तह बढी रहेको हामीले प्रत्यक्ष देखेकै छौं । एकातर्फ नदीमा मिसाइएको खुला दिसापिसाबले त्यहाँ आश्रित जीवजन्तुको विनाश र उनीहरूको पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर परिरहेको छ भने अर्कातिर नदी वरिपरिको वातावरण दुर्गन्धित बनी हिँडडुल गर्नसमेत गा-हो भई विभिन्न रोगको सिकारसमेत बन्नुपरेको छ । उदाहरणका लागि काठमाडौं उपत्यकाको कुरा गरौँ कि बागमती सरसफाइ अभियानको ५ सय औंभन्दा बढी हप्ता बितिसक्दा नदीको सरसफाइ केही हदसम्म राम्रो देख्न सकिए तापनि बागमती नदीमा मिसिने अरू नदीहरूको अवस्था नाजुक नै रहेको छ ।
घर, बंगाला झकिझकाउ बनाउने नाउँमा आफू र आफ्नो परिवार तथा घरबाट सिर्जित फोहोरको उचित व्यवस्थापन हुन नसक्दा आज सहर फोहोरी बनेको छ । यस्तो अवस्थामा सरकारले कसरी खुला दिसामुक्त देशको घोषणा गरेको होला खै ? कि नेपाल साँच्चिकै खुला दिसामुक्त देश बनेकै हो त ? हामीले प्रयोग गर्ने चर्पी सीधै नदीमा मिसाउँछौं अनि भन्छौं खुला दिसापिसाब मुक्त देश, यो कत्तिको व्यावहारिक छ, हामी आदैन ले एकपटक गहिरो चिन्तन गरौं ।
आज स्वास्थ्यसँग सरोकार राख्ने विभिन्न दातृ राष्ट्रका संघसंस्थाले स्वास्थ्यका नाममा करोडौं रकम खर्चिएर आफू र आफ्नो संस्थाको दुनो सोझ्याउने गरेका प्रशस्त उदाहरणहरू छन् । आज अल्पविकसित देशमा यस्ता खालका कामहरू गरेको देखाउने र पैसा कमाउने संस्थाहरूले यस किसिमका कार्यलाई प्रभावकारी रूपमा गर्न जरुरी देखिएको छ । सरकारले पनि आफ्नो छोटो र क्षणिक लोकप्रियता कमाउन र कमिसन र अनुदानको आसमा सत्यतथ्य र वास्तविकतालाई ध्यान नदिई यस किसिमका गम्भीर निर्णय र कदम चाल्नु गलत हुन जान्छ । त्यसैले यससँग सरोकार राख्ने सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै जुगौंजुगसम्मको दीर्घकालीन लोकप्रियता हासिल गर्दै जान सुझाव दिन चाहन्छौं, जसको प्रभावले विभिन्न देशले यस किसिमको निर्णय लिँदा एक उदाहरणका रूपमा नेपाललाई दिन सकोस् ।

प्रतिक्रिया दिनुहोस्