नेपाल–इण्डिया पार्टनरसीप समिट हुँदै «

नेपाल–इण्डिया पार्टनरसीप समिट हुँदै


नेपाल–भारत उद्योग वाणिज्य संघको प्रतिनिधिले लगानी बोर्डसँग छलफल गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग भएको छलफलमा पछिल्ला वर्षहरुमा भारतबाट नेपालमा हुने लगानीका बारेमा छलफल भएको छ । संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले नेपालमा भारतको तर्फबाट हुने लगानी घट्दै गएको अवस्थामा त्यसलाई निरन्तरता दिन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ ।
संघका उपाध्यक्ष सुनिल केसीले आगामी दिनमा भारतबाट लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई लक्षित गरी हरेक वर्ष ‘नेपाल इण्डिया पार्टनरसीप समिट’ आयोजना गर्ने योजना रहेको बताए । उनले संघको उक्त कार्यक्रममा लगानी बोर्ड पनि प्रमुख साझेदारको रुपमा रहन आग्रह गरे ।
यस्तै संघले दिल्लीमा ‘नेपाल ईनोभेसन सेन्टर’को स्थापना गर्ने तयारी गरेको पनि बताए । उक्त सेन्टरको माध्यमबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्तालाई नेपालका विभिन्न निकायसँग सहजिकरण गर्ने पनि उनले बताए । नेपालमा भारतीय लगानी भित्र्याउन नेपाल–भारत उद्योग वाणिज्य संघ र लगानी बोर्ड दुवैको उद्देश्य र चासोको विषय भएकाले भारतीय दूतावास समेतलाई समावेश गरी त्रिपक्षीय सम्झौतामा नेपालमा लगानी भित्र्याउनुपर्ने उनले बताए ।
संघका उपाध्यक्ष सैवाल घोषले नेपालमा विदेशी लगानी आकर्षित गर्न यहां भएका विदेशी लगानीमा सञ्चालित उद्योगहरुका समस्याको उचित सम्बोधन गर्नुपर्ने बताए । विगत लामो समय झण्डै १० वर्षदेखि सम्बोधन नभएको बौद्धिक सम्पत्ति अधिकार सम्बन्धि समस्याका साथै ब्राण्ड रजिष्टरका समस्या, टेष्ट मार्केटिङको अनुमति प्राप्तिमा ढिलाई लगायत कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ खुल्ला गरिनुपर्ने उनले बताए । उनले विदेशी कम्पनीसँग लिएको सेवावापतको भुक्तानीका विषयमा १ लाख रुपैयाँसम्मको भुक्तानीमा बैंकमार्फत गर्न सकिने प्रावधान परिर्वतन गर्नुपर्ने बताए ।
संघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अब नेपाल–भारत आर्थिक सम्बन्धलाई पुनर्विचार गर्नुपर्ने बताउँदै तुलनात्मक लाभको हिसावमा पर्यटन र जलविद्युत्लाई अगाडि बढाउनुपर्ने बताए । भारतमा ६–७ वर्षपछि जलविद्युत्को ठूलो माग रहने बताउँदै नेपालले जलविद्युत् परियोजना बिना अवरोध सुचारु दिए नेपालबाट भारतमा बिजुली उच्च मूल्यमा निर्यात गर्न सकिने प्रधानले बताए ।
प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा भारतीय लगानी भित्र्याउने सम्बन्धमा लगानी बोर्ड अत्यन्त चिन्तनशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्