चिनी मिलले फेरि किसानलाई झुक्याए «

चिनी मिलले फेरि किसानलाई झुक्याए

चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ । शुक्रबारदेखि नै किसानको खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरूलाई झुक्याएको किसानको आरोप छ । उखु किसान संघर्ष समितिका सचिव हरिश राय यादवले श्रीराम सुगर मिलले उखुको रकम भुक्तानी नगरेको बताए । शुक्रबार रकम खातामा हालिदिएको भने पनि आइतबार खातामा चेक गर्दा रकम नै नआएको उनले जानकारी दिए ।
रौतहटमा रहेको श्रीराम चिनी उद्योगले शुक्रबार पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।
तर, किसानले भने आइतबार दिउसोसम्म खातामा पैसा नआएको बताएका छन् । श्रीराम चिनी उद्योगका सञ्चालक विशाल अग्रवाल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कबाहिर छन् । श्रीराम सुगर मिलले शुक्रबारदेखि नै किसानको रकम भुक्तानी गरेको भनेर विज्ञप्ति जारी गरे पनि किसानको खातामा पैसा नगएकाले झुक्याएको सचिव यादवको भनाइ छ । उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले जानकारी दिए ।
अन्नपूर्ण सुगर मिलका लेखाप्रमुख प्रकाश सुवेदीले भने आइतबार ८० करोड रुपैयाँ किसानको खातामा पठाइसकेको बताए । बाँकी रकम किसानको खातामा पठाउँदै जाने उनले जानकारी दिए । तीन वर्ष अघिदेखिको ९० करोड रुपैया चिनी मिलले भुक्तानी नगरेको भन्दै एक हप्ता अघिदेखि किसान आन्दोलनमा छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले उद्योगीले किसानको सवै बक्यौता रकम भुक्तानी नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नवलपरासीको लुम्बिनी चिनी उद्योग प्रालिले ८ करोड ४१ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । नवलपरासीमा रहेको इन्द्रिरा सुगर एण्ड एग्रो इन्ड्रिटिजले ४ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसले ७४ लाख भुक्तानी गरिसकेको छ । यस्तै, सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालिले १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यसले ३ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । रौतहमा रहेको श्रीराम सुगर मिल्सको २६ करोड ७७ लाख ७८ हजार ६ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै लुम्बिनी चिनी मिलले पनि २० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।

अन्नपूर्ण मिलका कर्मचारीलाई प्रक्राउ
अन्नपूर्ण चिनी मिलमा कार्यरत कर्मचारी शिवु यादवलाई प्रहरीले शनिवारदेखि थुनामा राखेको छ । मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ तर सञ्चालकलाई नथुनेर प्रहरीले कर्मचारीलाई थुनेको हो । शनिवारदेखि प्रहरीले थुनामा राखेको यादवले जानकारी दिए । “मलाई किन्न थुनामा राख्नुभएको हो भन्दा पनि प्रहरीले केही भनेको छैन,” कर्मचारी यादवले भने, “हिसाबकिताब मुख्य कार्यालयबाट हुने भएकोमा अनावश्यक थुनामा राखेर दुःख दिइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्