६ वर्ष बित्दासमेत स्वास्थ्य केन्द्रको भवन बनेन «

६ वर्ष बित्दासमेत स्वास्थ्य केन्द्रको भवन बनेन

इलाम-१५ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भई सुरु भएको पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रको भवन ६ वर्ष बित्नै लाग्दासमेत निर्माण सम्पन्न भएको छैन । समयमा भवन निर्माण नहुँदा सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि कोचेर राखिएको छ । स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन र ल्याब सामग्रीमाथि कपडा सुकाइएको छ ।
स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जीर्ण अवस्थामा छ । दैनिक आउने सेवाग्राहीका लागि पनि पर्याप्त स्थान नभएकाले उपचार गर्नै कठिन भएको छ । राणा शासन कालमा १९८६ सालमा नै बनेका भवनमा उपचार सेवा सञ्चालन भइरहेको छ । भवन निर्माणमा ठेक्का पाएको मिलेनियम देव एण्ड सायर कम्पनीले निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनी र ठेकेदारको जेजस्तो सम्झौता रहे पनि तत्काल काम सकेर स्वास्थ्य उपचार कार्यलाई प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग छ ।
उपचारमा आउनेको संख्या थपिँदै गएको भएता पनि भवन अभावमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रमोद राईले बताए । भवन नबनेकै कारण यहाँका बासिन्दाले समस्या झेल्नु परेको उनको भनाइ छ ।
दार्जिलिङको राजनीतिक अस्थिरता हुँदा र पूर्वीइलामका दर्जनौं गाउँका बासिन्दाका लागि उपचारको थलोका रूपमा परिचित यस भवन निर्माणमा स्थानीय सरकारले समेत प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयको भनाइ छ ।
वि.सं २०६९ जेठ ११ गते क्वाटरसहितको अस्पताल भवन निर्माणका लागि ठेकेदार पक्षसँग सम्झौता भएको थियो । तर पटक-पटक म्याद थप गर्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन । २०७० साल भदौमा सम्पन्न भइसक्नु पर्ने भवन नबन्दा स्थानीयले सास्ती पाएका हुन् । २०७३ पुस ३० गतेसम्म म्याद थप गरिए पनि भवन निर्माण पूरा भएन । संघीय सरकारको मातहतमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माणाधीन यो भवनका लागि २०७४ चैतसम्म पुनः म्याद थप गरिएको थियो । यो विषयमा भने कुनै कारबाही नभएको कार्यालयले जनाएको छ ।
भवन निर्माण गर्नुपर्ने स्थानमा रहेको विद्युत् प्रशारण लाइन हटाउनमात्रै ३१ महिना लागेका कारण ढिलाइ भएको निर्माण कम्पनीका डम्बर गदालले बताए । त्यहाँसम्म पुग्ने ट्रक लेभलको सडक नहुनु, अत्यधिक चिसोका कारण हिँउदयाममा काम गर्न कठिन हुनु, भूकम्प र राजनीतिक उतारचढावका कारण पनि ढिलो भएको उनको तर्क छ ।
पाउनु पर्ने डेढ करोड रुपैयाँमध्ये करिब ७० लाखको काम भए पनि रकम नपाएको उनको भनाइ छ । जीर्ण भवनमा ओपेडीदेखि बर्थिङ सेन्टर, बिमा फार्मेसीलगायतका काम सम्पन्न गर्न कठिन रहेको डाक्टर कुसल वस्तीले बताए । क्वाटरको अवस्था पनि उस्तै रहेको डाक्टर वस्तीले बताए । उनले पुरुष बस्ने स्थानमा बाथरुम नै नभएको बताए । दुई डाक्टरसहित १० जना स्वास्थयकर्मीको टिमलाई दैनिक कामकाज र बसोबासमा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्