सार्क उवासंघमा विधान संशोधनको प्रस्ताव «

सार्क उवासंघमा विधान संशोधनको प्रस्ताव

सार्क उद्योग वाणिज्य संघको ७६ औं कार्यकारिणी समितिको बैठक शनिबारदेखि भारतको चेन्नाईमा सुरू भएको छ । उक्त बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले भाग लिइरहेको महासंघले जनाएको छ । बैठकको अध्यक्षता संघका अध्यक्ष रूवान इडिरीसिंघेले गरेका छन् ।
बैठकमा सार्क उवासंघका उपाध्यक्ष एवं संघको विधान संशोधन समितिका सभापति ढकालले संघको विधान संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राख्ने कार्यक्रम छ । संघको विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउने उद्देश्यले बंगलादेशको ढाकामा गत वर्ष सम्पन्न संघको ७५ औं कार्यकारिणी समिति बैठकले उनलाई विधान संशोधन समितिको सभापतिमा चयन गरेको थियो ।
विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् । बैठकमा संघका उपाध्यक्ष रोहिथा सिल्भा, उपाध्यक्ष विनोद जुनेजा, हिना साइद र संघका कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क उवासंघको संस्थापक सदस्य हो ।

प्रतिक्रिया दिनुहोस्