महाधिवेशनबाट विवादको छिनोफानो गर्नुपर्छ «

महाधिवेशनबाट विवादको छिनोफानो गर्नुपर्छ

मुलुक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आक्रान्त छ यतिबेला । कोरोनाका कारण मुलुकको अर्थतन्त्र थिलथिलो भएको छ । व्यापार व्यवसाय बन्द हुँदा बेरोजगारी समस्या चुलिँदै गएको छ । अनियन्त्रित रूपमा महँगी बढ्दा आमनागरिकको दैनिक जीवन सञ्चालनमा समस्या भइरहेको छ । तर, कोभिड र आमनागरिकको समस्यासँग जुध्नुपर्ने बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लिखित रूपमै एकअर्काबीच आरोप–प्रत्यारोपसमेत भएको छ । विवाद बढ्दै जाँदा नेकपाको पार्टी जीवन नै संकटपूर्ण अवस्थामा पुगेको नेता कार्यकर्ताले महसुस गर्न थालेका छन् । पटक–पटक स्थगित भएर स्थायी कमिटी बैठक बसे पनि लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । मिति तोकिए पनि पटक–पटक बैठक सर्ने गरेको छ । पार्टीभित्रको विवादका विषयमा कारोबारकर्मीहरूले नेकपाका नेताहरूसँग गरेको कुराकानीको सार :

चित्त नबुझ्ने आफ्नो बाटो लागे हुन्छ
विनोद ढकाल
केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नेकपाभित्रको विवाद केवल पार्टीभित्रको मात्रै विवाद होइन । झट्ट हेर्दा र सुन्दा नेकपाभित्रको विवादजस्तो देखिए पनि यसमा थुप्रै विषय लुकेको छ । संविधान जारी भएदेखि नै देशी विदेशी शक्ति संविधान र संघीयतालाई असफल बनाउन लागिपरेका थिए । उनीहरूले संविधान जारी भएदेखि नै नेपालमा विभिन्न कोणबाट आफ्ना गतिविधिहरू बढाएका थिए । प्रत्यक्ष अप्रत्यक्ष अहिलेको नेकपाभित्रको विवादमा पनि उनीहरूको प्रभाव र दबाब परेको हुनुपर्छ । अहिलेको अवस्थामा केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्नु भनेको मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हो । नेपालको राजनीतिमा केपी ओलीको भूमिका महŒवपूर्ण छ । हिजो संविधान निर्माण हुँदै गर्दा सरकारमा बसेर सुशील कोइरालाको भूमिका महŒवपूर्ण रह्यो । तर, सरकारभन्दा बाहिर रहेर केपी ओलीले अहम् भूमिका निर्वाह गर्नुभएको थियो । चाहे संविधान निर्माणमा होस्, चाहे टोलैपिच्छे जातीय नारा लगाइरहेको अवस्थामा होस्, उहाँले देश र जनताको हितमा काम गर्नुभएको छ । जातीय राज्य हुँदैन भनेर अडान लिनुभयो । त्यही भएर जातीय राज्य भएन मुलुकमा । यदि जातीय राज्य बनाउनेतर्फ अगाडि बढेको भए मुलुकमा ठूलै द्वन्द्व हुन सक्थ्यो । जातीय राज्यविरुद्ध उहाँ चट्टानझैं उभिनु भयो । अनि भारतले लगाएको नाकाबन्दीविरुद्ध पनि उभिनुभयो । नाकाबन्दी नहटाएसम्म म भारत जान्नँ भन्नुभयो । जसले गर्दा भारत नाकाबन्दी हटाउन बाध्य भयो । नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने आँट र हिम्मत पनि उहाँले गर्नुभयो । पार्टीभित्र र बाहिर केपी ओलीको लोकप्रियता पचाउन नसक्नेले उहाँको विरोध गरिरहेका छन् । अहिलेको लडाइँ विचार र सिद्धान्तको होइन, कुर्सीको हो । केपी ओलीले महाधिवेशनमार्फत अध्यक्ष पद छोड्ने भनिसक्नु भएको छ । दोहो¥याएर अध्यक्ष र प्रधानमन्त्री हुन्न भनिसकेपछि ९ जना सचिवालयका नेतामध्ये ५ जना एकातिर बसेर अहिले नै छाड भरै नै छाड्न भन्न मिल्छ ? पार्टीभित्र उहाँले के बिराउनुभएको छ । उहाँकै जोडबलले निर्वाचनमा नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिलाउनुभयो । राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउनुभएको छ । मिलेसम्म पार्टीलाई एकढिक्का बनाएर लाने हो । जसलाई चित्त बुझ्दैन उनीहरू आ–आफ्नो बाटो लाग्छन् । उहाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएकाले पार्टी छाडेर हिँंड्ने कुरा आउँदैन । धेरै ल्याङल्याङ गर्नुभन्दा जसलाई चित्त बुझ्दैन उहाँहरू आफ्नो बाटो लाग्दा हुन्छ ।

नेकपाभित्र अहिले नीति, विचार, संगठन र कार्यक्रम अन्तरिम हुन्
ऋषिकेश पोखरेल
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), मोरङ

नेताहरूले ख्याल गर्नुपर्ने मुख्य तीनवटा विषय छन् । पहिलो कुरा नेताहरूले के कुरा बुझ्नुपर्छ भने पार्टी भनेको नेता वा व्यक्ति होइन । पार्टी भनेको विचार, संगठन र कार्यक्रम हो । यी अहिले चाहिं दुईविपरीत प्रवृत्ति वा कार्यशैली भएका दलहरूबीचको एकता हो । त्यसो हुँदा नीति, विचार र संगठन पनि अन्तरिम हुन् अहिले । यसको वैधानिक एकता भनेको महाधिवेशन मात्रै हो । यी सम्पूर्ण कुराको समाधान महाधिवेशनबाट मात्रै खोजिनुपर्छ । एउटा नेताले अर्को र अर्कोले अर्को नेता हट भनेर निषेध गर्ने होइन । विधिबाट समाधान खोज्ने हो । विधि भनेको अध्यक्ष को हुने भन्ने कार्यकर्ताको भावनाअनुसार महाधिवेशनबाट हुने हो । त्योभन्दा बाहिरको विधिलाई लोकतान्त्रिक विधिअनुसार पार्टी निर्णणका रूपमा मान्न सकिँदैन । अब केपी ओलीलाई प्रधानमन्त्रीमा राख्ने हो वा हटाउने हो भने संसदीय दलको बैठक राख्नुपर्छ । संसदीय दलबाट नेता छान्ने र त्यही नेता प्रधानमन्त्री हुने लोकतान्त्रिक विधि र प्रक्रिया हो । यसर्थ संसदीय दलको बैठकको आयोजना गरेर समाधान खोजिनुपर्छ । हामीले चाहिँं संविधानमार्फत ल्याउन खोजेको लोकतन्त्र यही हो । योभन्दा फरक विधि र तरिकाहरू अथवा जबरजस्तीका कामहरू सर्वसत्तावादी तरिकाहरू हुन् । दोस्रो कुरा के हो भने अहिले सबै मिलेर प्रचण्डलाई हटाए वा केपी ओली जसलाई हटाए पनि पार्टी एकता भंग हुन्छ । त्योचाहिँं जनता र राष्ट्रका लागि धोका हो । त्यसैले अहिलेको विवादको समाधान भनेको गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयमा फर्किनु नै हो । भदौ २६ को निर्णय सबैले पालना गर्दै पार्टी एकता भंग हुनबाट जोगाउनु नै अहिलेको आवश्यकता हो । त्यही निर्णयमा उभिएर महाधिवेशनमा जानुपर्छ । अहिले एकताको क्रममा छौं । अहिले पार्टी फुट्ने होइन, भंग हुने हो । महाधिवेशनपछि मात्रै वैधानिक रूपमा पार्टी एकता हुन्छ । अहिले त एकता प्रक्रियामा छ नेकपा । महाधिवेशन नभएसम्म यो कुरा नेताहरूले बुझ्नुपर्छ । पार्टी एकतालाई भंग हुनबाट जोगाउन मुख्य रूपमा नेतृत्व गम्भीर हुनुपर्छ ।
प्रस्तुति : मीनकुमार नवोदित

बैठकबाट भाग्नु हुँदैन, पार्टीको विधि र प्रक्रियामा जानुपर्छ
शत्रुघ्न महतो
केन्द्रीय सदस्य, नेकपा

नेकपाभित्र अहिले देखिएको विवाद समाधानको एउटै उपाय भनेको सचिवालयको बैठक नै हो । सचिवालयको बैठक बस्नुप-यो । त्यहाँबाट टुंगो नलागे स्थायी समिति, त्यसबाट पनि समाधान नभए केन्द्रीय समितिसम्म लगेर छलफल हुनुपर्छ । केन्द्रीय समितिमा पुगेपछि त्यहाँ हुने प्रक्रियाअनुसार नै टुंगो लगाउने हो । बैठक नै नबस्ने अनि विवाद समाधान कसरी हुन्छ ?
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एक हुने बेलामा गरिएका सहमतिअनुसार दुई महिनाभित्र पार्टीका सबै तहमा टुंगो लगाउने भनिएको थियो । तर, दुई महिनामा केही टुंगो लाग्न सकेन । पार्टीभित्र देखिएको विवाद समाधान भनेको विधि र प्रक्रिया नै हो । विधि र प्रक्रियामा गएर नै टुंगो लगाउनुपर्छ । अध्यक्षद्वयले ल्याएको प्रस्तावमा छलफल गर्न बैठक बस्नुपर्छ । यसलाई धेरै लामो समयसम्म लम्ब्याएर राख्नु उचित होइन । एउटाले ल्याएको प्रस्ताव मान्दिनँ भन्ने, यहाँ कसले कसलाई मान्ने र कसले कसलाई नमान्ने ? कम्युनिस्ट पार्टीको विधि र सिद्धान्तबारे पार्टीभित्र बृहत् छलफल हुनुपर्छ । छलफलबाट बहुमत वा अल्पमतले टुंग्याउने हो । कहिलेकाहीं बहुमत र अल्पमतको पनि कुरा आउँछ । कतिपय ठाउँमा बहुमतको कुरा पनि निर्णय नभएको उदाहरण पनि छन् । कसैलाई आरोप लाग्यो होला, कसलाई प्रतिवेदन लाग्ला, त्यो के हो भन्ने टुंगो लगाउने त बैठकले नै हो । अध्यक्षद्वयले ल्याएका प्रस्तावहरू बैठकको छलफलमा आउनुप¥यो । त्यसका लागि त बस्ने भनेको बैठक नै हो । फिर्ता लिने भए केमा बहस गर्ने ? दुवै अध्यक्षबीच विवाद समाधानका लागि छलफल भइरहेका छन् । यो स्वाभाविक पनि हो । यसले सकारात्मक सन्देश पनि प्रवाह गर्छ । दुवै जनाको सहमतिमा ल्याउन छलफल गर्नु राम्रो हो । हाम्रो चाहना पनि दुवै अध्यक्षले सहमतिमै टुङ्ग्याओस् भन्ने चाहना त थियो । तर, अहिलेसम्म सहमति जुट्न सकेन । सामूहिक निर्णयको आधारमा हुनुपर्छ । विधि र प्रक्रियामा गयौं भने पार्टी फुट्दैन । यति पार्टीले विवाद समाधान गर्न सकेन र फुटतिर नै गयो भने कुनै कम्युनिस्टलाई पनि जनताले माफ गर्दैन । म भन्नु हुन्न, हामी भन्ने भावनाको विकास हुनुपर्छ । बैठकमा बस्नुपर्छ, छलफल हुनुपर्छ । बैठकबाट भागेर कसैले पनि जित्दैन । कोही पनि विजयी हँुदैन । अन्ततोगत्वा बैठकमा बस्नुको विकल्प छैन । पार्टीलाई एकढिक्का बनाएर लानका लागि विधि र प्रक्रियाअनुसार बैठक बसेर छलफल, बहस, तर्क जे हुन्छ त्यसबाट नै टुंगो लगाउनुपर्छ । बैठकबाट भागेर, विधि र प्रक्रिया मान्दिनँ भनेर एकातिर भागेर यो समस्या समाधान हुँदैन ।
प्रस्तुति ः निरज पीठाकोठे

कसैले चाहेर पार्टी फुट्दैन
रामजीप्रसाद बराल
गण्डकी प्रदेशसभा सदस्य

पार्टीभित्रको विवाद छ । यो विवाद दृष्टिकोणबीचको अन्तर हो । एउटा दृष्टिकोण अग्रगामी दिशातर्फ केन्द्रित हुन्छ भने अर्को प्रतिगमनतर्फ लैजाने गतिविधि र व्यवहार देखिन्छ । पार्टीभित्र बहस कुनै पद र प्रतिष्ठाका लागिभन्दा पनि यो विचार र दृष्टिकोणको छलफल हो । गलत प्रवृत्तिको विचारलाई पराजित गरेर त्यसलाई रूपान्तरण गर्ने, बदल्ने, निषेध गर्ने भन्ने होइन, एकता, संघर्ष र रूपान्तरण भन्ने हाम्रो बुझाइ छ ।
दुई दृष्टिकोणबीच टकराव छ, यसले नेकपा थप एकता, मजबुत, शक्तिशाली बनेर एउटै कम्युनिस्ट केन्द्र बनाएर जानुपर्छ । पार्टी विभाजन हुन्छ भन्ने एक प्रकारको ओली पक्षधर भन्नेहरूले जसरी बजारमा हल्ला फैलाएका छन् यसले नेता, कार्यकर्ता र जनतामा समेत निराशा छाउन लागेको छ । आमजनता एकताको पक्षमा छन्, पार्टीभित्रको एकाधिकारवादी सोच पराजित गर्दै पार्टीलाई विधि र प्रक्रियामा चलेको र चलाएको जनता र नेता तथा कार्यकर्ताले हेर्न चाहेका छन् । स्वाभाविक रूपमा हिजो फुट्नका निम्ति एकता गरेको होइन, मुलुक र जनतालाई समृद्ध बनाउनका लागि गरिएको एकता हो, यसमा हामीले एकता प्रक्रियामा के कुराको आधार तयार पारेका थियौं, अझ मजबुत बनाउँदै जाने, पार्टीलाई सशक्त, शक्तिशाली र साँच्चै कम्युनिष्ट पार्टीजस्तो बनाउनेतर्फ हाम्रो भूमिका हुनुपर्छ ।
इतिहासले जुन रूपमा सुम्पिएको जिम्मेवारी छ, समाजवादी राज्य व्यवस्थामा पु-याउनेतर्फ केन्द्रित हुनुपर्छ । समाजवादी दिशामा केन्द्रित हुनुपर्छ, यही लक्ष्य पूरा गर्न बाहिर रहेका कम्युनिष्टहरूलाई पनि एउटै केन्द्रमा गोलबन्द गरेर समाजवादी समाज निर्माण गरी मुलुकलाई उन्नति, प्रगति र समृद्धिको बाटोमा लैजानुपर्छ । विश्व मानचित्रमा नेपाललाई सम्मानजनक स्थान उपलब्ध गराउने दायित्वसमेत बोकेर एकता भएको हो । कसैले चाहेर पार्टी फुट्दैन, कसैले पार्टी भाँड्न खोज्दैमा भाडिँदैन, पार्टीभित्रका गलत प्रवृत्तिहरू पराजित हुन सक्छन्, बहिर्गमनसमेत हुन सक्छन् । पार्टीभित्र मौलाएको मनोगत एकात्मकवादी प्रवृत्ति, निषेधवादी सोच, एकाधिकारवादी हैकम, नोकरशाही कार्यशैली, फुटवादी मानसिकतालाई वैचारिक राजनीतिक बहस, छलफलको माध्यमबाट परास्त गरी रूपान्तरण गर्न जुट्नुपर्ने समय आएको छ । अविलम्ब पार्टी सदस्यसम्म लैजान रूपान्तरणसहितको एकताका पक्षधर नेता, कार्यकर्ता क्रियाशील हुनैपर्ने यतिबेलाको आवश्यकता हो । परिवर्तनशील जनता र नेकपाका इमानदार कार्यकर्ताहरूमाझ फुटपरस्त प्रवृत्तिले भ्रम छरेर निराश बनाउने खेती विभिन्न गुटमा जनप्रतिनिधिहरूलाई समेत बोलाएर छरेको पाइयो । यो गलत प्रवृत्ति हो ।

कम्युनिस्टहरू कम्युनिस्ट पार्टीको विचार, आदर्श र आचरणमा चल्नुप-यो
राजकाजी गुरुङ
नेकपा कास्की इन्चार्ज

अहिलेको राज्यव्यवस्थालाई समाजवादउन्मुख समाजका रूपमा जुन ढंगले व्याख्या गरिएको छ, त्यसका लागि हाम्रो पार्टीभित्रको छलफल र बहस भएको हो । यसका आधारहरू सिर्जना गर्न, उत्पादन वृद्धि हुने गरी अर्थतन्त्रलाई मजबुत पार्ने, राष्ट्रिय पुँजीको विकास गर्ने, निजी सार्वजनिक साझेदारीमा अघि बढ्ने र सामाजिक न्यायको सिद्धान्तका आधारमा वितरण गर्ने वा नगर्ने यसको बहस चलेको हो ।
पार्टी सदस्यदेखि केन्द्र र अध्यक्षसम्म एउटै विधानले काम गर्छ र गर्नुपर्छ भन्न चाहन्छौं । हाम्रो पार्टीको विचार र विधिमा हाम्रो पार्टीभित्रको बहस हो । आजको उपलब्धि, स्थायित्व, शान्ति, समृद्धिका निम्ति आत्मनिर्भर अर्थतन्त्रका निम्ति जसरी जनताले हामीलाई विश्वास गरेर बहुमत दिएका छन्, त्यसलाई समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने अवस्था आएको छ । जसरी विभाजित कम्युनिस्टहरू एक भई आएपछि जनताले हामीमा विश्वास गरेका थिए, त्यसलाई गुम्न नदिनका लागि यताउता अर्थात् दायाँबायाँ हुन दिन हुँदैन र यसमा हामी बहस केन्द्रित गरेका छौं ।
विभिन्न ढंगले छलफल चले पनि त्यो पार्टी एकतालाई अहित हुने खाल्का कार्यक्रमहरू गर्न हुँदैन भनेर हामीले आ–आफ्नो ठाउँबाट जवाफ दिइराखेका छौं । आफ्नो विचार ठीक वा बेठीक भन्ने विषयमा गुट–उपगुटमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा भेला भई छलफल हुनुले पार्टी फुटाउने सल्लाह भने गर्न हुँदैन । हामीले गरेको छलफलले पार्टी एकतालाई मजबुत पनि बनाउनुपर्छ, कम्युनिस्टहरू कम्युनिस्ट पार्टीको विचार, आदर्श र आचरणमा पनि चल्नुप-यो । संगठनात्मक रूपमा एकता भई सबै जुट्नुप-यो, अर्को स्वार्थ (पार्टी फुटाउने) सम्भव हुँदैन र गर्न हुँदैन ।
प्रस्तुति : दीननाथ बराल

प्रतिक्रिया दिनुहोस्