Logo

भाइटीका महोत्सवमा १४ देशका पर्यटक

पोखरा-नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा रहेको भाइटीका पर्वको अवसरमा शुक्रबार पोखरामा आयोजना भएको १२ औं भाइटीका महोत्सव २०७५ मा १४ देशका ६० पर्यटक सहभागी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले पर्यटन प्रबद्र्धन गरी नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको उक्त महोत्सवमा अमेरिका, अष्ट्रेलिया, जापान, चाइना, जर्मन, बेलायत, फ्रान्स, होल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, इजरायल, क्यानडा, रस्सा र स्पेनका गरी १४ देशका ६० जना पर्यटकहरू उक्त महोत्सवमा सहभागी भएको संघका महासचिव गणेशराज पहारीले बताए । उनका अनुसार यस वर्ष केही देशका पर्यटक पुनः दोहोरिएर भाइटीका महोत्सवमा सहभागी भएका छन् ।
नेपाली मौलिक पर्व तिहारको बारेमा पर्यटकहरूलाई जानकारी गराउँदै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सवलाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । भाइटीका महोत्सवमा सहभागी भएका विदेशी पर्यटकहरूलाई लेकसाइडको लालुपातेमार्गमा रहेको बटरफ्लाई फाउण्डेसनको परिसरमा भाइटीकाको दिन दिउँसो ३ बजे पछि नेपाली परम्पराअनुसार नेपाली चेलीहरूले पर्यटकहरूलाई दाजुभाइको सम्बन्ध प्रगाढ रहोस् भन्दै यो पर्व मनाएको महोत्सव संयोजक पार्वती पाण्डेले बताइन् ।
महोत्सवमा नेपाली परम्पराअनुसार तिहार पर्वको विधिअनुसार टीका लगाइएको थियो । पर्यटकहरूलाई निधारमा सप्तरंगी टीकाको साथमा, सयपत्री फूलका माला, पुष पर्यटकलाई नेपाली ढाका टोपी र महिला पर्यटकहरूलाई सल प्रदान गरी भाइटीका मसला समेत प्रदान गरिएको थियो । रेन्बो चिल्ड्रेन फाउन्डेसनका बालिकाहरूले दाई तथा दिदीको रूपमा पर्यटकहरूलाई टीका लगाएपछि उनीहरूलाई पर्यटकहरूले समेत दक्षिणा दिएका थिए । तिहार पर्वमा खाइने सेलरोटी, अचारसहितका परिकारसमेत विदेशीलाई खुवाउँदै देउसीभैलो कार्यक्रममा नचाइएको थियो । अन्तर्राष्ट्रिय भाइचारा स्थापना गर्न पनि उक्त महोत्सवले सहयोग पु¥याएको उनले जनाए ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन पाउण्डेसनका वालीका तथा वालकहरूले भैली देउसी कार्यक्रमसमेत प्रस्तुतः गरेका थिए । महोत्सवमा तिहारका खानाको समेत व्याबस्था गरिएको थियो ।
गत वर्षको ११ औं भाइटीका महोत्सवमा १३ देशका ३५ पर्यटकले भाइटीका महोत्सवमा सहभागी भएका थिए । यसअघि ३ पटक भाइटीका महोत्सवमा सहभागी भएकी होल्याण्डकी हितताजले भाइटीका महोत्सव आफूलाई निकै रमाईलो लाग्ने भएकोले नेपाल भ्रमण हुदा सकेसम्म सहभागी हुने बताइन् । इजरायलका गलनिटले एक महिना नेपाल भ्रमण गर्ने क्रममा भाइटीका महोत्सवमा पहिलो पटक सहभागी हुन पाउदा निकै खुसी लागेको बताए । उनले भने, “नेपाल प्राकृतिक सौन्दर्यतामा जति राम्रो छ, यहाँको कला संस्कृति पनि उतिकै राम्रो अनि उहाँका मान्छेहरूको व्यवहार प्रति हामी निकै खुसी छौं ।” उनी आफ्ना भाइसहितको ४ जनाको टोलीमा नेपाल भ्रमणको क्रममा पोखरा आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्