Logo

पर्यटन पुनरुत्थानका लागि गर्नुपर्ने पहल

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा पर्यटनका विभिन्न क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ ।

करिब ६ महिनाभन्दा बढी बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र बन्द अर्थतन्त्र केही सीमिततासहित चलायमान हुन खोज्दैछ । सुरुवाती महिनामा ९० प्रतिशतभन्दा माथि रहेको कोभिड– १९ बारेकोे मानसिक डर÷त्रास हालका दिनहरूमा २० प्रतिशतभन्दा मुनि झरेको छ । कोभिड–१९ निको पार्ने भ्याक्सिन वा औषधि बजारमा उपलब्ध नभएसम्म सामाजिक–आर्थिक अवस्था चल्दैन भन्ने बुझाइ औषधिबिनै पनि निश्चित सुरक्षा मापदण्ड अपनाई अघि बढ्नुपर्छ भन्ने प्रयासतर्फ अग्रसर छ । विश्वव्यापी रूपमा विभिन्न खाले आशंका, अनुमान, अपेक्षा र आशाका बीचमा गुज्रिरहेको छ आजको समय । यही सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य आवतजावतका लागि वातावरण सहज बनाउँदै गइरहेका छन् । बेलायत, अमेरिका, रसिया, चाइना जस्ता देशहरूबाट भ्याक्सिनसम्बन्धी आइरहेका सकारात्मक समाचारहरूले झन् उत्साहित बनाएको छ सबैलाई ।
मानव जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यत्तिकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो । सबैभन्दा बढी प्रत्यक्ष असर त यसले पर्यटन उद्योगमा नै पारेको छ, जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरूले सिर्जित हुने अर्थतन्त्र हो । होटल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, -याफ्टिङ, एयरलाइन्स, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब १० लाख जनशक्तिको रोजगार अहिले पनि संकटमा छ । पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । पर्यटनमा सेवा दिँदै व्यवसाय गर्ने होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, -याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टमा हेर्दा करिब १ खर्ब ६० अर्ब जतिको आय पर्यटन क्षेत्रले गुमाउने अनुमान गरिएको छ । खर्र्बाैंको लगानी रहेको पर्यटन उद्योगमा स्थिर सरकार, देशमा बढ्दो विकासवादी मानसिकता, २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित अघि बढाइएको भ्रमण वर्ष–२०२० अभियान, बढ्दो पूर्वाधारको अवस्थाले यस क्षेत्रलाई निकै उत्साहित बनाएको थियो र ठूलो मात्रामा लगानी बढाइरहेको थियो ।
हरेक संकटको एउटा आयु हुन्छ । कोरानोभाइरस महाप्रकोप पनि केही समयपछि हराउनेछ । तसर्थ अब संकटबाट कसरी बच्ने, यसलाई कसरी पराजित गर्ने भन्ने चिन्तन गर्दै संकटग्रस्त अवस्थाबाट यथाशीघ्र सामाजिक–आर्थिक पुनरुत्थानतर्फ लैजाने बाटो कोर्ने बेला हो यो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा पर्यटनका विभिन्न क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक गरिसकेको छ । अब विस्तारै ट्राभलमा रहेको नियन्त्रण खुकुलो हुँदै जानेछ । आन्तरिक र अन्तर्राष्ट्रिय आवागमन पनि सुचारु भइसकेको छ । अब पर्यटन बचाउन (सर्भाइभल), फर्काउन (रिचाइभल), र फैलाउन (थ्राइभल) का लागि कम्तीमा तीनवर्षे रणनीतिका साथ अझ बढी सक्रिय हुँदै हिंड्नुपर्ने हुन्छ ।

मारमा परेको पर्यटन पुनरुत्थानका लागि तत्काल केही पहल थाल्नुपर्ने हुन्छ ।
कोषको परिचालन : पर्यटन क्षेत्रका व्यवसायी, व्यवसाय, र कामदारहरूको पेसा बचाउनका लागि राहत दिने तथा सबल बनाउन थप प्याकेज ल्याउने कामलाई प्रथमिकता दिंदै अहिले नेपाल सरकारबाट छुट्ट्याइएकोे रु. ५० अर्बको कोष, पर्यटन मन्त्रालय तथा मातहतका निकायमा रहेको बजेट, प्रदेशका पर्यटन मन्त्रालयहरूको बजेट, अन्य सहयोगी विकास साझेदार संस्थाहरूको सहयोग एकठ्ठा पारी मर्का परेका मुख्य क्षेहरूका लागि क्षेत्रगत रूपमा छुट्टाछुट्टै टास्क फोर्स बनाई एक कार्यविधि र एकीकृत योजना निर्माण गरी यथाशीघ्र परिचालित हुने स्थिति बनाउने । यस आ.व.को आधा समय गुज्रिसकेको अवस्थामा यस्तोे कोष तत्काल परिचालन नभए पर्यटन क्षेत्रलाई बचाउन सहयोगी हुनेछैन ।

इन्ट्री एक्जिट प्रोटोकल र भ्रमण कोरिडर : नेपाल प्रवेश, भ्रमण र फर्किंदाको एउटा स्पष्ट प्रोटोकल बनाई सोहीबमोजिम पर्यटकको घुमाइ सहज र सुरक्षित बनाउने । पर्यटकहरूको सुरक्षित भ्रमण प्रत्याभूत गर्नका लागि जोखिम कम भएका, भीडभाड कम हुने, प्राकृतिक तथा साहसिक गन्तव्य तथा गतिविधिहरूको एक कोरिडोर बनाई पर्यटन सुचारु हुने वातावरण बनाउने ।

व्यापक तालिम तथा अभिमुखीकरण : पर्यटन क्षेत्रमा र पर्यटन क्षेत्रका लागि अग्रपंक्तिमा काम गर्ने जनशक्ति, उद्यमी, व्यवसायी, कामदारहरूलाई संक्रमण रोक्न गर्नुपर्ने व्यवहार र उपायका बारे नियमित तालिम प्रदान गर्ने । र, पहिचान गरिएका कोरिडरहरूमा यस्तो प्राथमिकता दिने । साथै जनचेतना जगाउने कार्य पनि स्थानीय सरकार तथा अन्य मुख्य सरोकारवाला निकायहरूको समन्वयमा व्यापक रूपमा सञ्चालन गर्ने ।

सुरक्षा मापदण्डका लागि अनुगमन संयन्त्र :अब यात्रामा निस्कने हरेक पर्यटक, स्वेदेशी÷विदेशी, दुवैले गन्तव्य वा गतिविधि छनौट गर्दा स्वास्थ्यसम्बन्धी तयारीलाई पहिलो क्राइटेरिया बनाउनेछन् । पर्यटन पुनरुत्थान हुँदै गर्दा धेरै चिज पहिलेजस्तै रूपमा फर्के पनि ‘एसएमएस’ (एस–सेफ डिस्टेन्सिङ, एम–मास्क, एस–सेनिटाइज) को प्रचलन रहिरहनेछ । कम्तीमा यी तीन चलन जताततै लागू भएको प्रत्याभूत गर्न सक्नुपर्नेछ । त्यसैले यात्रा गर्ने साधन जस्तै– हवाईजहाज, बस, कार; बास बस्ने स्थान जस्तै– होटल÷रिसोर्ट-होमस्टे-टेन्ट; पर्यटन सेवा र गतिविधिका स्थलहरू जस्तै– विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, –याफ्टिङ-बन्जी-प्याराग्लाइडिङ-साइक्लिङ-बोटिङ÷हात्ती सवार-सफारीजस्ता गतिविधिका साधनलाई नियमित रूपले डिस्इन्फेक्ट गर्ने, सफाइ तथा हाइजिनको मापदण्ड कडाइका साथ लागू गर्ने, यात्रुहरूबीच भौतिक दूरी कायम राख्ने जस्ता कार्य गर्न सरकारी, निजी क्षेत्र तथा पर्यटक प्रहरीका प्रतिनिधि संलग्न एउटा संयन्त्र बनाई त्यसको नियमित अनुगमन गर्ने व्यवस्था गर्ने ।

भिजिट नेपाल सेफ मोबाइल एप- पर्यटकहरूलाई नियमित सूचना दिन र उनीहरूको कन्ट्याक्ट ट्रेसिङका लागि सहयोगी हुने एक भरपर्दो र प्रयोग मैत्री मोबाइल एप बनाई पर्यटकले अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने ।

ब्रान्ड भिजिबिलिटीका साथ तयारीको सञ्चार – ब्रान्ड, संकटकाल होस् वा समृद्धकाल, जहिले पनि भिजिबल भइराख्नुपर्छ । उद्यम, व्यापार, व्यवसायमा त ब्रान्डिङ सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसैले यो संकटका बेला पनि नेपाल मन पराउने र सहयोग गर्नेहरूसँग नेटवर्किङ गर्ने, देशभित्र विकसित भएका सकारात्मक विकासहरूको प्रचार गर्ने काम पनि यही बेला गर्नुपर्ने हुन्छ । लकडाउनका बेला पनि विमानस्थलका काम भइरहेका छन्, स्थानीय तहमा पदयात्रामार्गको स्तरोन्नति भइरहेको छ, कतिपय सम्पदाहरूको सौन्दर्यीकरण भइरहेको छ, कतिपय विदेशीहरू नेपाल सुरक्षित ठानेर यहीं बसिरहेका छन्, जुन कथाहरू बाहिर प्रचारित हुनुपर्छ । सांस्कृतिक विशिष्टता, प्राकृतिक सुन्दरता र हिलिङ डेस्टिनेसनको छवि अझ बढी प्रचारित गर्नुपर्छ । आन्तरिक पर्यटक, विशेष रुचिका (निश) पर्यटक, आध्यात्मिक पर्यटक र बिजनेस पर्यटक हरेक संकटपछि पुनरुत्थान हुने महत्वपूर्ण चारवटा सेगमेन्ट हुन् । त्यसैगरी आन्तरिक, रिजनल, सर्टहल, र लङहलका स्रोत बजारमा विशेष र लक्षित पर्यटन प्रवद्र्धनका कार्यको प्राथमिकताका आधारमा सुरुवात गरौं, प्रभावकारी ब्रान्ड भिजिबिलिटीका साथ ।
बुझाइ र विश्वास बढाउन मुख्य स्रोत बजारका नेपालमा नियमित रूपमा पर्यटक पठाउने प्रतिष्ठित कम्पनीका विज्ञ प्रतिनिधिहरूमार्फत स्रोत बजारमा नेपाल आउन इच्छुक पर्यटकहरूको नेपालका बारे रहेको बुझाइ, हामीले गर्नुपर्ने तयारीका बारेमा नेपालका सेवाप्रदायक व्यवसायीहरूलाई नियमित रूपमा वेबिनारमार्फत अभिमुखीकरण पनि गर्ने ।

आन्तरिक पर्यटन – पर्यटनमा आउने संकटपछि पुनरुत्थान हुने पहिलो पाइला आन्तरिक पर्यटन नै भएको हुँदा यसको प्रवद्र्धन एक अभियानकै रूपमा अघि बढाउने । सरकारी तथा निजी क्षेत्रका संगठित संस्थामा कार्यरत कर्मचारीहरू १५ लाखभन्दा बढी छन् । उनीहरूलाई वर्षमा दुईपल्ट गरी जम्मा १० दिनको खर्चसहितको भ्रमण बिदामा पठाउने कार्यक्रम यही आर्थिक वर्षमा लागू गर्नेे । मलेसिया, थाइल्यान्ड, सिंगापुर, भारत, चीन, दुबई, इन्डोनेसिया, युरोप तथा अमेरिकी सहरहरूसम्म घुम्नकै लागि जाने नेपालीहरू करिब १२ लाख छन् । अबका केही दिन यो संख्या पनि देशभित्रै पर्यटकीय गतिविधि गर्न प्रेरित हुनेछ । र, यो संख्या विदेशी पर्यटकहरूले गर्ने खालकै गतिविधिमा रमाउने र खर्च गर्ने खालको छ । त्यसैले यसको व्यवस्थित विकास, प्रभावकारी प्रवद्र्धन र सुरक्षित वातावरण बनाउन यथाशीघ्र जोड दिनु अत्यावश्यक छ ।

नवप्रवर्तन – हरेक संकटले एउटा नयाँ अवसर ल्याएको हुन्छ, तर त्यो अवसरलाई चिन्ने र त्यसबाट फाइदा लिन सक्ने हाम्रो क्षमता नहुँदा आएका अवसरहरू गुमाइन्छ । युवाहरूलाई दिगो पर्यटनका लागि उत्पे्ररित गर्न यस संकटपछि नवीनतासहित वातावरणमैत्री, दिगो पर्यटन, डिजिटल इन्नोभेसन, संकटको समाधानजस्ता विषयवस्तुमा केन्द्रित उद्यमशीलता जन्माउन स्टार्टअ-सिडक्याम्पको सुरुवात गर्ने ।

गन्तव्यहरू र गतिविधिहरूको स्तरोन्नति – आगामी २-३ वर्षसम्म हामीकहाँ २० लाखभन्दा बढी पर्यटक आउन सक्ने अवस्था देखिंदैन । त्यसैले नयाँ गन्तव्यको खोजी वा विकासमा हामीसँग रहेको सीमित साधन र स्रोत लगानी गर्नुभन्दा विद्यमान मुख्य पर्यटकीय गन्तव्यहरू जस्तै काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका स्थलहरू, पोखरा-चितवन-लुम्बिनी-जनकपुरजस्ता क्षेत्र, राष्ट्रिय निकुन्जवरिपरिका क्षेत्रहरू, मुख्य पदयात्रा मार्गहरू र -याफ्टिङ रिभरहरूको सौन्दर्यीकरण, सफाइ, मर्मत तथा साइनेज स्थापना गरी स्तरोन्नतिका काम गर्ने, जसमा हाल बेरोजगार रहेका पर्यटन क्षेत्रमा संलग्न कामदारहरूलाई लगाउने । त्यसैगरी बर्दिया, इलाम, धरान, पाल्पाजस्ता उदीयमान पर्यटकीय गन्तव्यहरूको विकासका लागि काम गर्ने ।

पुनरुत्थानका लागि विशेष संयन्त्र र विशेष कार्यक्रम –संकटबाट यथाशीघ्र उम्कन जति धेरै सरोकारवालालाई एउटा मिसनमा सक्रिय बनाउन सकियो त्यति नै छिटो पुनरुत्थान गर्न सकिन्छ । अहिले भ्रमण वर्ष २०२० अभियान र सचिवालय स्थगन गरिसकिएको अवस्था छ । यस्तो बेलामा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई एउटा पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने जसले विशेष कार्यक्रमहरू गरी छिटोभन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्नेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मुख्य समन्वयमा सरकारी क्षेत्र, निजी क्षेत्र, प्रादेशिक तथा स्थानीय सरकार, कूटनीतिक नियोगहरू तथा अन्य मुख्य सरोकारवालाहरूबीच सहकार्य तत्काल सुरु गर्नु आवश्यक छ । नेपालको पर्यटन उद्योगमा निजी क्षेत्र ज्येष्ठता, अनुभव, विज्ञता, नेटवर्क र स्रोतका हिसाबले निकै बलियो र व्यापक छ । त्यसैगरी करिब २० वर्षअघिदेखि कार्य सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डको विशेषज्ञता र टिम पनि आज ज्ञान र स्रोतका हिसाबले सबल छ । मन्त्रालयअन्तर्गतका नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम, पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलगायतका संस्थाहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ, पर्यटन उद्योगलाई थप ऊर्जा दिंदै छिटो पुनरुत्थान गर्नका लागि । यसका साथै अन्य मुख्य निकायहरू जस्तै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, अध्यागमन विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रकृति संरक्षण कोषजस्ता निकायसँग पनि समन्वय अति आवश्यक हुन्छ ।
संकटबाट छिटै पुनरुत्थान हुने मन्त्र चार ‘स’ को प्रभावकारितामा आधारित छ, त्यो भनेको प्रभावकारी समन्वय, प्रभावकारी सहकार्य, प्रभावकारी सक्रियता र प्रभावकारी सञ्चार नै हो । तसर्थ मुख्य सरोकारवाला निकायहरूका सबै प्रयास र स्रोतहरूलाई आगामी दुई वर्षसम्म सम्पूर्ण रूपले पर्यटन पुनरुत्थानको एकमात्र मिसनमा परिचालन गर्न सके नेपालको पर्यटन छिटो र दिगो रूपले पुनरुत्थान हुनेछ ।
(लेखक विश्व पर्यटन सन्जालका संस्थापक कार्यकारी सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्