वीरगन्जमा ‘क्लार्क रिसोर्ट’ सञ्चालन «

वीरगन्जमा ‘क्लार्क रिसोर्ट’ सञ्चालन

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा दोश्रो अन्तर्राष्ट्रिय चेन होटल सञ्चालनमा आएको छ । हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालिको १ अर्बको लगानीमा अन्तर्राष्ट्रिय चेन होटल क्लार्क रिसोर्टले सेवा सुरु गरेको छ । कागज उद्योग, स्वास्थ्य र सञ्चारक्षेत्रमा लगानी गरेका सुनिल खेतानले होटलमा लगानी गरेका छन् ।
होटलको व्यवस्थापन भने १५ बर्षका लागि भारतीय होटल क्लार्क समूहले जिम्मा लिएको छ । भारतको जयपुर, लखनउ, आगरालगायत भारतभर ३९ वटा होटल सञ्चालनमा रहेको यो समूहको अन्तर्राष्ट्रिय स्तरमा भने वीरगन्जको हिमाल वाटर पार्क एण्ड भिलेज होटलको पहिलो अन्तर्राष्ट्रिय चेन होटल रहेको होटलका प्रोजेक्ट मेनेजर रविन्द्र रैनाले बताए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर बहुअरीस्थित गण्डक नहरको किनारसँगै रहेको २ विघा क्षेत्रफलमा निर्माण गरिएको होटलले कोरोना महामारीमा गरिएको लकडाउनपछि खुलेर अवस्था सहज भएपछि सेवा सुरु गरेको हो । ९२ हजार वर्गफिटमा फैलिएको होटलका संरचनाहरु २०७३ सालदेखि निर्माण थालिएको होटलका सञ्चालक खेतानले बताए । रमणीय हरियाली वातावरणको साथै अपाङ्गमैत्री रहेको रिसोर्टमा वीरगन्जमै पहिलो पटक कन्भेन्सन सेण्टर को साथै ७ वटा बैंक्वेट हल रहेका छन् । कन्भेन्सन सेन्टरमा एकै समयमा विवाह, जन्म दिन र कन्फ्रेन्स समेत गर्न सकिने सुविधा रहेको खेतानले बताए । अटोमेटिक पार्टिशन गर्न मिल्ने गरी छुट्टाछुट्टै क्षमताको हलको व्यवस्था रहेको छ ।
रिसोर्टमा रहेको ६ तल्ले होटलमा एक्जुकेटिभ स्वीट ४ वटा, एक्जुकेटिभ ८ वटा, स्वीट ८ वटा, किङ डबलवेड २४ वटा र ट्वीन १६ वटा गरी ६० वटा कोठा रहने छन् । होटलतर्फको भवन बन्ने क्रममै रहेकोले यी कोठाहरु भने आउने दिपावलीदेखि सञ्चालनमा ल्याइने खेतानको भनाइ छ । १५ जनादेखि २ हजार जनासम्म अट्ने सभाहल, डेढ सयदेखि ३ सय जनासम्म अट्ने अन्य ४ वटा हलहरु सञ्चालनमा आइसकेको छ । मंसिर १५ गतेदेखि नै कन्भेन्सन हल र रेस्टुराँ सञ्चालनमा छ ।
होटलमा क्यासिनो, इनहाउस बेकरी, स्वीमिङ पुल, सांगीतिक कार्यक्रम गर्न ओपन एयर थिएटर, पार्क, ओपन एयर किचेन, बच्चाहरुका लागि रिक्रियसन रुम, बार, लंग, स्नुकरलगायत इन्डोर गेम खेल्ने ठाउँ र जीम क्लबको समेत सुविधा दिने तयारी छ । होटलमा अहिले १५ जना कर्मचारी कार्यरत छन् भने पूर्णरुपमा सञ्चालनमा आइसकेपछि ५० भन्दा बढीले रोजगारी पाउने छन् । एक वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने योजना होटलको छ । ठूला औद्योगिक घरानाका नयाँ पिढीमा वीरगन्जमा कोही पनि छैन भन्ने मनोविज्ञानको विकास भएकाले त्यसरलाई परिवर्तन गर्नकै लागि अन्तर्राष्ट्रिय स्तरको होटल खोलेको उनले बताए । उनले भने, “कामको सिलसिलामा भारतमा जाँदा विभिन्न सहरमा त्यहाँका सुविधा सम्पन्न र स्तरीय होटल देखेपछि वीरगञ्जमा पनि यस्ता होलटहरु खोल्नुपर्छ भन्ने लागेर होटलमा लगानी गरेको हुँ ।”
पछिल्लो समयमा विवाहका लागि बाहिर जाने (म्यारिज डेस्टिनेशन) को चलन बढेको तथा वीरगन्जका व्यावसायिक घरानाका युवायुवतीहरु अन्य शहरमा गइरहेको देखेपछि उनले वीरगन्जमा एउटा स्तरीय र सुविधा सम्पन्न होटल आवश्यकता देखेर लगानी गरेको बताए ।
अन्तर्राष्ट्रिय स्तरको होटलमा चाईनिज, इण्डियन, थकाली, इटालियन लगायत सबै प्रकारका खानाको परिकार पाइने मात्र नभइ होटल परिसरमै अर्गानिक खेती र गाई पालनका लागि अग्र्यानिक कृषि फर्म पनि खोल्न लागेको खेतानले बताए । उनले २८ वर्षअघि हिमाल कपी उद्योग खोल्ने बेलामा नै वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको होटल खोल्ने सोच बनाइसकेका थिए ।
उनले खोलेको कागज उद्योग कही चलेन र बन्द गर्नुपर्ने अवस्था आयो भने उद्योगको संरचनालाई नै होटल बनाउने दूरगामी सोच राखेर कागज उद्योगको गोदाम समेत मार्बल लगाएर नै बनाएका थिए । उनको दूरगामी सोचले नै अन्तर्राष्ट्रिय स्तरको चेन होटल सञ्चालन गर्न सफल भएको उनी बताउँछन् । अहिले कागज उद्योग पनि चलिरहेकै छ । उनको कागज उद्योग खोल्ने बखतकोे सोचले नै अहिले होटल पनि सञ्चालनमा ल्याउन सकेको उनको भनाइ छ । खेतानको कागज, सञ्चार, स्वाथ्य लगायतका क्षेत्रमा समेत लगानी रहेको छ ।
यसअघि वीरगन्जको आदर्शनगरमा उद्योगी अनिल रुंगटाले ‘लड्र्स दियालो’ भारतीय चेन होटलको व्यवस्थापनमा तीनतारे होटल सञ्चालनमा ल्याएका छन् । करिडोरमा खुलेका सबै होटलहरुले भारतीय ग्राहकलाई नै लक्षित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्