छठको तयारीसँगै केरा महँगियो «

छठको तयारीसँगै केरा महँगियो

जनकपुर- मिथिलाञ्चलको महान पर्व छठको तयारी सुरु भएसँगै केराको मूल्यमा दुई गुणाले वृद्धि भएको छ । प्रदेश नम्बर २ मा केराको खेतीलाई खासै महत्व नदिँदा छिमेकी मुलुक भारतबाट निर्यात गर्नुपर्ने बाध्यताले केराको मूल्य अकासिएको हो ।
छठ पर्वमा अघ्र्यका रूपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रूपमा केरालाई नै मुख्य मानिन्छ । त्यसैले छठमा केराको माग उच्च हुने गरेको जनकपुरका फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष रुदल साह बताउँछन् ।
केराको माग बढी हुने गरेको र स्थानीयस्तरमा थोरै उत्पादन भएपछि भारतबाट केरा मगाउनु परेको अध्यक्ष साहले बताए । उनका अनुसार विगत आर्थिक वर्ष झन्डै ८० लाख बढीको केरा जनकपुर निर्यात गरिएको थियो भने यसवर्ष ७२ लाख रूपैयाँ बराबरको विभिन्न प्रजातिका केरा व्यापारका लागि जनकपुर ल्याइएको अध्यक्ष साहले जनाए । उनले यसपाली १२ ट्रक केरा जनकपुरका लागि मगाएको जानकारी दिए ।
जनकपुरमा गोपाल केरा (सिंगापुरी), सप्तरी जिल्लाको भारदह तथा इनर्वाबाट ल्याउने गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट मगाउने गरिएको छ । छठ पर्व यस वर्ष १५ दिनपछि परेकाले केराको उत्पादन भएर पनि बेकार हुने भएकाले यस वर्ष ७० प्रतिशतले महँगिने भएको छ । अध्यक्ष साहका अनुसार यस वर्ष छठ पर्व ढिलो गरी सुरु भएका कारण केराको उत्पादन अगावै हुँदा मूल्यवृद्धि भएको हो ।
केराको घरी ५ सयदेखि ७ सय रूपैयाँसम्मा बिक्री हुने गरेको छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती गरिँदै आएको छ । छठ पर्व जति नजकिँदै जान्छ, त्यति नै केराको मूल्यमा बढ्ने फलफूल व्यवसायिहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्