निकासीयोग्य वस्तुको उत्पादन बढाउन अमेरिकाले सघाउने «

निकासीयोग्य वस्तुको उत्पादन बढाउन अमेरिकाले सघाउने


अमेरिकाले नेपाललाई निर्यातमा भन्सार छुट दिएका ७७ वटा वस्तुको उत्पादन क्षमता बढाउन प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता परिषद् (टिफा) को पाँचौं बैठकमा उत्पादन बढाउनका लागि अमेरिकाले प्राविधिक सहयोग गर्ने बताएको हो ।
सन् २०१५ देखि स्न २०२५ सम्म नेपाललाई दिएको ७७ वटा वस्तुहरूमा अमेरिकी व्यापार सहुलियत लाभको पूर्णरूपमा उपयोग गर्नका लागि प्राविधिक सहयोग उपलव्ध गराउन अमेरिका सहमत भएको हो । यसअघिको चौथो टिफा बैठकमा अमेरिकाले स्वदेशी वस्तुको उत्पादन बढाउन प्राविधिक सहयोग गर्ने बताए पनि कार्यान्वयनमा आउन सकेको थिएन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार अमेरिकाले स्वदेशी वस्तुको उत्पादन बढाउनका लागि प्राविधिक सहयोग गर्ने बताएको छ । बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड , इ–कमर्स, श्रम, वित्तीय सेवा, लगानी प्रवद्र्धन, कृषि उत्पादनको व्यापार अमेरिकाले नेपाललाई उपलब्ध गराएको व्यापार सहुलियत लगायतका द्विपक्षीय व्यापार र लगानीसम्बन्धी छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले लगानीको वातावरण सुधार गर्न भएका नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका बारेमा जानकारी गराउँदै अमेरिकालाई थप लगानी विस्तार गर्न आग्रह गरेको थियो । अमेरिकाले आफ्नो देशबाट बंगुर र कुखुराको मासु नेपालमा निर्यात गर्दा समस्या भएको बताएकोमा नेपालले ती वस्तुको आयातमा कुनै प्रतिवन्ध नभएको बताएको थियो । अमेरिकाले श्रमिक अधिकार संरक्षण गर्ने गरी नेपालको श्रम कानुनको कार्यान्वयनमा भएको प्रगतिको स्वागत गरेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै अमेरिकाले बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयनमा सुधार गरी नवप्रवर्तक र लगानीलाई प्रोत्साहन गर्ने प्रयासमा नेपालसँग आफनो संलग्नता बढाउने प्रतिवद्धता व्यक्त गदै नेपालले गर्न लागेको बौद्धिक सम्पत्ति सम्बन्धित कानुनको स्वागत गरेको छ ।
यस्तै, आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल व्यापारको भूमिकालाई महत्व दिँदै नेपाल र अमेरिका डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा सहकार्य गर्न सहमत भएका छन् । दुई सरकारको बैठकमा भएका प्रतिवद्धतालाई कार्यान्वयनका लागि द्विपक्षीय बैठक बस्ने सहमति भएको छ । आगामी टिफा काउन्सिलको छैटौं बैठक नेपालमा आयोजना गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालको तर्फबाट बैठकको नेतृत्व वाणिज्य सचिव डा. बैकुन्ठ अर्याल र अमेरिकाको तर्फबाट दक्षिण तथा मध्यएसियाका लागि संयुक्त राज्य अमेरिकाका सहायक प्रतिनिधि क्रिष्टोफर विल्सनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्