अरुण तेस्रो र त्रिदेशीय सडक निर्माण धमाधम «

अरुण तेस्रो र त्रिदेशीय सडक निर्माण धमाधम

संखुवासभा-कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै धक्का दिइरहेका बेला पनि संखुवासभाका २ राष्ट्रियस्तरका ठूला आयोजना निर्माणकार्य जारी रह्यो । अरुण तेस्रो परियोजना र कोसी राजमार्गको काम कोरोना कहरमा झन तीव्र गतिमा भएको हो । कोरोना कहरले न त दुवै आयोजनाको काम रोकियो, न त मजदुरको रोजगारी गुम्यो । स्थानीय क्षेत्रमा धमाधम काम चलेकाले बरु स्थानीय अर्थतन्त्रसमेत चलायमान भयो । आयोजनाका मजदुरका लागि चाहिने खाद्यान्नलगायत तरकारी र अन्य उपभोग्य वस्तुको खरिद बाहिरबाट हुने गरेकोमा लकडाउनमा भने स्थानीय रूपमा नै खरिद बिक्री हुँदा स्थानीय अर्थतन्त्र चलायमान भएको हो ।
आयोजनामा कार्यरत मजदुरको बाह्य हिँडडुलमा कमी र पर्यटक आउन निषेध गरिएकाले कामलाई निर्वाध रूपमा सञ्चालन गर्न सहज भएको अरुण तेस्रो परियोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमान बताउँछन् । गत चैत ११ मा घोषणा गरिएको लकडाउनको समयमा समेत १४ सय बढी कामदारले संखुवासभाको मकालु गाउँपालिका–५ नुम दोभानमा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको कामलाई थप तीव्रताका साथ निरन्तरता दिइएको थियो । परियोजनामा कार्यरत १४ सय कामदारमध्ये केही चाहिँ घरायसीलगायतका समस्याले घर फर्किए पनि १२ सय बढी भने कोरोना कहरमा पनि काम गरिरहे । अधिकांश कामदार भारतीय छन् ।
नेपाललाई चीन र भारतसँग जोड्ने गौरवका आयोजना त्रिदेशीय लिंकरोड कोसी राजमार्गको कामले समेत लकडाउनका समयमा थप तीव्रता दिइएको उत्तर दक्षिण कोसी सडकका प्रमुख गौतम श्रेष्ठ बताउँछन् ।
अपर्झटजस्तै लकडाउन घोषणा गरिएकाले लामो तथा छोटो दूरीका सवारी साधनसमेत चल्न नसकेपछि आवतजावतमा रोकावट हुँदा परियोजनाको कामलाई निरन्तरता दिनुको विकल्प नभएको धिमान बताउँछन् । “६ वर्षभित्र निर्माणकार्य सक्नेगरी सम्झौता गरिएको परियोजना अहिले २ वर्षमा ४० प्रतिशत सम्पन्न भइसकेको छ,” उनले भने, “लकडाउनले कामलाई तीव्रता दिन थप सहयोग पुग्यो ।”
ती कामदारलाई आवश्यक पर्ने खाद्यान्नलगायतका आवश्यक सामग्री बाहिरबाट ल्याउने गरिएकोमा लकडाउनको समयमा भने स्थानीयस्तरमा उपलब्ध खाद्यान्न, लत्ताकपडा र निर्माण औजारको राम्रो बिक्री भएको निर्माणस्थल मकालु–५ का स्थानीय व्यवसायी भरत कटुवालले बताए । “लकडाउनमा गाउँमा भएका खाद्यान्न, सागसब्जीलगायत अन्य स्थानीय उत्पादनले राम्रो मूल्य पायो,” उनले भने, “कृषिमा लागेका स्थानीयले कृषि उपज बिक्रीबाट पैसा उपार्जन गरेकाले लकडाउनमा समेत कुनै आर्थिक मार खेप्नु परेन ।”
बाहिरबाट खाद्यान्नलगायतका सामग्री ल्याउने परिस्थिति नभएकाले स्थानीय उत्पादनको उपभोग र बजारीकरणमा लकडाउनबाट ठूलो सहयोग मिलेको स्थानीय कृषक कर्णबहादुर गुरुङले बताए । उनले राँगा, भेडा, खसी, हाँस, कुखुरा, माछाजस्ता मासुजन्य र तरकारी तथा फलफूलजन्य वस्तुबाट राम्रो आम्दानी लिएको बताए ।
अहिले लकडाउन खुकुलो भएपछि बिदामा घर गएका २ सय बढी कामदार पुनः काममा फर्किएका छन् । १४ सय कामदारको भीडमा नेपाली कामदारको पनि उल्लेख्य उपस्थिति छ । लकडाउनमा अन्य क्षेत्रमा संलग्नले रोजगार गुमाइरहँदा अरुण परियोजनामा कार्यरत कामदारले भने आर्थिक अभाव र रोजगारी गुमाउन नपर्दा परिवार धान्न सहज भएको अरुण तेस्रोमा कार्यरत कामदार हेमकर्ण राईले बताए । लकडाउनका समयमा आधाजसो मजदुरले ओभरटाइमसहित दैनिक १५ घण्टा बढी काम गर्ने अवसर पाउँदा आम्दानीमा वृद्धि भएको उनले बताए ।
अहिले पनि उनी दिनभर अरुण तेस्रोको निर्माणाधीन सुरुङमा कम्मरमा पेटी बाँधेर निर्माण औजारसहित झुण्डिरहेका हुन्छन् । आफू सुरुङ मार्गभित्र झुण्डिरहनुपरे पनि परियोजनामा अन्यत्र जस्तो रोजगारी गुमाउनुपर्ने अवस्था नआएकाले लकडाउनका समयमा समेत परिवार धान्न सहज लागेको उनले बताए ।
बाहिर कोरोना भाइरस (कोभिड–१९)को प्रकोपले गाउँ डुल्ने अवस्था आएन । गाउँबासीबाट समेत नयाँ मान्छेलाई गाउँ पस्न पनि नदिने परिस्थिति आउँदा आफूजस्ता अन्य मजदुर ढुक्कले काममा लाग्न पाएको उनले बताए । लकडाउनका समयमा क्याम्पमा रहेका सबै कामदारलाई अत्यन्तै कडाइसाथ सुरक्षा विधि अपनाएर काममा खटाइएको थियो । गाउँकाले समेत कोरोना भाइरस फैलने डरले कामदारलाई बाहिर निक्लन दिएनन् जसले गर्दा कामदारलाई काममा राम्ररी खटाउन पाइएकाले काममा उल्लेख्य प्रगति गर्ने अवसर मिलेको धिमान बताउँछन् । मकालुको नुम दोभान फ्याक्सिन्दामा अरुण तेस्रोको ड्याम र सुरुङ निर्माणको काम धमाधम भइरहेको छ भने चिचिला गाउँपालिकामा पर्ने पुखुवा दोभानमा पावरहाउस निर्माणको काम द्रुत गतिमा अघि बढेको छ । लकडाउनमा समेत कुनै दिन कामदारहरू खाली बस्न नपरेकाले कामको प्रगति सोचेभन्दा राम्रो आएको उनी बताउँछन् ।
नेपाल, चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको ३ सय ९० किलोमिटरको कोसी सडकको कामले समेत लकडाउनको समयमा तीव्रता पाएको छ । ३ सय ९० किलोमिटरमध्ये १४ किलोमिटर मात्र ट्र्याक खुला गर्न बाँकी छ । भीर र चट्टानी भाग जोडिएपछि ग्राभेल गर्न रकमसमेत विनियोजन भइसकेको छ । त्यस क्षेत्रमा नेपाली सेनाले बिस्फोटक पदार्थ प्रयोग गरेर लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिइरहेको श्रेष्ठले जानकारी दिए । लकडाउनका कारण निर्माण क्षेत्रमा मानिसको आवतजावत नहुँदा विस्फोटक पदार्थ प्रयोग गरी भीर फोड्ने काममा सहजता आएको उनले जनाए । अहिले त्यस क्षेत्रमा ३ यस ५० बढी कामदार परिचालित छन् । लकडाउनको समयमा समेत उनीहरूले निर्माण कार्यलाई निरन्तर रूपमा अगाडि बढाए । भोटखोलाको चेपुवा च्याम्ताङ, छुम्सुर शंखेभीर घोङ्घत्ता क्षेत्रमा करिब १४ किलोमिटर भीर फोड्ने काम लकडाउनदेखि नै निरन्तर रूपमा अघि बढिरहेको छ । यो सडक निर्माण सम्पन्न भएपछि नेपालको किमाथांका हुँदै चीनको तिङ्गिसेन जिल्लाको डेन्डाङ र चाँगा बजार जोडिनेछ भने चीन, नेपाल, भारत र बंगलादेशसम्मको व्यापारिक कारोबारको हिस्सेदारी बन्ने अपेक्षा राखिएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले देशको अर्थतन्त्र उकास्न सामरिक महत्वको राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको उत्तर–दक्षिण कोसी सडकको निर्माण कार्यलाई कोरोना भाइरस कहरमा समेत १ सय ५० नेपाली सेना र करिब ३ सय ५० जना निर्माणकर्मी निर्वाध रूपमा परिचालन गरि निरन्तरता दिइएको बताए । यो राजमार्ग निर्माण सम्पन्न भए ठूला अर्थतन्त्र बोकेका चीन, भारतसँग र बंगलादेशसँगको व्यापारिक कारोबार र आन्तरिक तथा बाह्य उत्पादनको बजारीकरणमा सहजता आउनेछ । दक्षिण कोसी राजमार्गलाई बाहै्र महिना निर्वाध रूपमा सञ्चालन गरी बाह्य विश्वसँग सिधा सम्पर्क हुने जीवनमार्गको रूपमा लिइएको आचार्य बताउँछन् । सडकको काम सम्पन्न भएपछि किमाथांका नाका निर्वाध रूपमा सञ्चालन हुँदा त्रिदेशीय सम्बन्ध, हिमाली पहाडी क्षेत्रका बहुमूल्य जडिबुटी, रोजगारीको अवसर (श्रम बजार), पर्यापर्यटन र स्थानीय उत्पादन अन्तर्राष्ट्रिय बजारसँग सिधै जोडिने भएकाले यो सडकलाई राज्यले प्रमुख प्राथमिकतामा राखेको उनी बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस क्षेत्रको भ्रमणका क्रममा उत्तर दक्षिण कोसी राजमार्ग, किमाथांका नाका सञ्चालन र अरुण तेस्रोलगायत माथिल्लो अरुण र किमाथांका अरुण परियोजना सञ्चालनलाई विशेष प्राथमिकता दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्