कोरोना कहरमा अभिभावकलाई सुझाव «

कोरोना कहरमा अभिभावकलाई सुझाव

अहिलेको जोखिमयुक्त विषम परिस्थतिमा बालबालिकालाई बालमैत्री रोचक क्रियाकलापमार्फत त्रस्तभन्दा पनि स्वस्थ, व्यस्त राख्ने प्रयास गर्नु बुद्धिमानी ठहर्छ ।

कोरोना भाइरस (कोभिड—१९) को विश्वव्यापी महामारीका कारण अहिले सर्वत्र आशंका, अस्तव्यस्तता र अन्योलता छाएको छ । कोरोना संक्रमणलाई निस्तेज पार्न अनेकौं उपाय अभ्यास भइराखेका छन् । भाइरस रोकथामका लागि स्वास्थ्यसम्बन्धी सूचना र टिप्सहरू सञ्चारमाध्यममा बग्रेल्ती छाएका छन् । उपचारका औषधिहरू पत्ता नलागेको यस अदृश्य शत्रुलाई परास्त गर्न रोकथामबाहेक अन्य प्रभावकारी विकल्प भेटिएको छैन । कोरोना संक्रमणलाई निष्प्रभावी पार्न मानव सम्पर्कलाई यथाशक्य न्यून गर्नु र संक्रमितलाई आइसोलेसनमा राख्नु नै रोकथामको उत्तम उपाय मानिएको छ । मानिसहरूबीचको सम्पर्कबाट एकअर्कामा तीव्र रूपमा सजिलै सर्ने भाइरसको श्रृंखला तोड्न विश्वका अधिकांश मुलुकले लकडाउन घोषणा गरेका छन् । प्राणघातक भाइरसबाट बच्न अपनाइएको लकडाउनका कारणबाट बालबालिकालगायत सबै उमेर र पेसाका जनसमुदायलाई सकस पर्नु अन्यथा होइन ।
लकडाउनका कारण बालबालिकाको पठनपाठन ठप्प भएको छ । शिक्षण संस्था लामो बिदाका कारण विद्यार्थीहरू एक किसिमले बेरोजगार नै भएका छन् । समूहमा खेल्न, चल्न रुचाउने बालबालिकालाई घरको चौघेराभित्र चौबीसै घण्टा सीमित गर्दा छटपटी र बेचैनी बढ्नु स्वाभाविकै हो । यसबाट उनीहरूमा शारीरिक, मानसिक तनाव र अन्योलता आउनु अनौठो होइन । शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास राम्रोसँग भइनसकेका चञ्चले स्वभावका बालबालिकालाई घरभित्रै थेगिराख्नुपर्ने कठिन बाध्यता अभिभावकमा आइलागेको छ । अहिलेको जोखिमयुक्त विषम परिस्थतिमा बालबालिकालाई बालमैत्री रोचक क्रियाकलापमार्फत त्रस्तभन्दा पनि स्वस्थ, व्यस्त राख्ने प्रयास गर्नु बुद्धिमानी ठहर्छ ।
कोरोना संक्रमणका कारण शिक्षण संस्था अनिश्चितकालीन बन्द गरेर सरकारी निकाय बेखबर रहनु दुःखद हो । बिदामा घर बसेका विद्यार्थीलाई सक्रिय राख्दै समयको सदुपयोगका लागि पाठ्यक्रममा आधारित आवश्यक स्वाध्यायन सामग्री उत्पादन र प्रचारप्रसारका लागि सरकारी निकाय, शिक्षकका पेसागत संघसंगठन, संस्थागत विद्यालयका सञ्चालकका छाता संस्था प्याब्सन, एन प्याब्सन तथा शिक्षा क्षेत्रमा क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी संघसंस्थाले कुनै चिन्ता र चासो नदेखाउनु उदेकलाग्दो छ । विद्यालय तहमा अध्ययनरत मात्रै झन्डै ८० लाख बालबालिकाका लागि अभिभावक र सीधै विद्यार्थीलाई समेत सहयोग पु-याउने उपायहरूको सरकार र सरोकार पक्षले तत्काल खोजी गरेर आफ्नो दायित्व निर्वाह गर्न चुक्नु हुन्न ।
भर्खरै सुरु गरिएको वैकल्पिक शिक्षण विधिले सबै बालबालिकालाई नसमेटेको जगजाहेर नै छ । परीक्षणका रूपमा असार महिनाभरिका लागि सञ्चालन गरिएको यस विधिको प्रभावकारितामाथि प्रश्नचिह्न खडा हुने प्रायः निश्चितै छ ।
भनिन्छ, बालबालिकाको पहिलो स्कुल घर र पहिलो शिक्षक बाबुआमा नै हुन् । यो भनाइलाई व्यवहारमा उतार्न अभिभावकले स्कुल नखुन्जेलका अबका केही दिन बालबालिकालाई उचित मार्गदर्शन गर्नेतर्फ बुद्धि–विवेक खियाउनुपर्ने हुन्छ । पढाइ हुँदा पनि बालबालिकाले दिनमा ६ घण्टा मात्र स्कुल र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउँथे । अहिले अनिश्चित्कालीन लकडाउनका कारण २४ घण्टा अभिभावकको जिम्मामा छन् । अघिपछि आमाबुबा रोजगारीमा जाँदा लामो समय सँगै बस्न नपाएका साना उमेरका बालबालिका चौबीसै घण्टा सँगै बस्न पाउँदा मक्ख त परेकै हुन्छन् । तर, अलि ठूला उमेरका खासगरी माध्यमिक तहमा पढ्ने बालबालिकाको उमेरगत परिवर्तनका कारण लामो समयसम्म घरभित्रै बसिरहँदा अभिभावकसँग झगडा गर्ने, एकोहोरो बन्ने, चिडचिडाउनेजस्ता मनोवैज्ञानिक समस्याहरू देखिन्छन् ।
घरमा एक्लै बस्दा मानसिक तनाव बढ्ने, झर्किने, नटेर्ने, टोलाएर बस्ने जस्ता समस्या देखिन सक्छन् । तिनीहरूलाई विद्यालय नखुलुन्जेल कस्तो शिक्षा र सीप दिने भन्नेबारे अभिभावकको चिन्ता र चासो बढेको छ । बालबालिकाको उमेरगत शारीरिक, मानसिक विकासमा विभिन्नता भएअनुसार उनीहरूको रुचि, क्षमता र आवश्यकता पनि फरक–फरक हुन्छ नै । यस्ता विभिन्नतालाई सम्बोधन गर्न अभिभावकलाई सहज छैन । तथापि येनकेन तत्काल सरकार र सरोकार पक्षले सूचना प्रविधिका विभिन्न माध्यमबाट अभिभावकलाई सहयोग गर्नुपर्ने खाँचो खट्किएको देखिन्छ ।
घरमा बरालिएर बसेका बालबालिकाका लागि अहिले जीवनोपयोगी शिक्षा सिकाउने अवसरका रूपमा अभिभावकले सदुपयोग गर्न सक्छन् । असल संस्कार र संस्कृति सिकाउने मौकाका रूपमा लकडाउनको भरपुर उपयोग गरिनुपर्छ । हाम्रा पूर्वजहरूले स्कुलमा नगईकन समाजमा असल नागरिकको पहिचान बनाएको जगजाहेर नै छ ।
विद्यालयमा पढाइ हुने पाठ्यक्रमले तोकेका विषयवस्तुका अतिरिक्त अन्य धेरै कुरा बालबालिकाले अरूको चालचलन, बानी–व्यवहार हेरेर सिक्दै आएका हुन्छन् । यसरी अनौपचारिक रूपमा दैनिक अभ्यास र अनुभवबाट सिक्ने अलिखित सीप र ज्ञानलाई अदृश्य पाठ्यक्रम (हिडेन करिकुलम) ले समेटेको हुन्छ, जसअन्तर्गत बालबालिकाले अरूले गरेका क्रियाकलाप, बानीबेहोराको अनुकरण गर्दै आएका हुन्छन् ।
शिक्षा मनोविज्ञानअनुसार बालबालिका स्वभावैले चञ्चले हुने, अरूको नक्कल गर्ने, लिंगअनुसार काममा सरिक हुन उत्सुक रहने, खासगरी छोरीले आमाका काममा र छोराले बाबुको काममा सघाउने, खेल्न रुचाउने आदि उनीहरूका स्वभाव हुन् । घरभित्रको सरसफाइ, चियानास्ता पकाउने, सरसामान मिलाउने, उमेरअनुसार आफूले प्रयोग गर्ने सानातिना लुगा धुने, लुगा पट्याउने र उपुयुक्त ठाउँमा जतनसँग राख्ने, फूलबारी, करेसाबारीका कामहरूमा व्यस्त बनाउने आदिबाट व्यावहारिक अभ्यासबाट बालबालिकामा स्वावलम्वी बानीको विकास गर्न सकिन्छ । त्यस्तै घर–कम्पाउण्डभित्रै खेलिने चेस, लुँडो, क्यारमबोर्ड, ब्याडमिन्टनलगायतका इन्डोर गेमबाट पनि बालबालिकालाई शारीरिक, मानसिक व्यस्त बनाउन मद्दत पुग्छ । साथै आफूसँगसँगै सामान्य योगाभ्यासको बानीले शारीरिक, मानसिक तथा आध्यात्मिकतासम्बन्धी प्रारम्भिक ज्ञान दिन सकिन्छ ।
अहिले बालबालिकाका बारेमा अभिभावकको गुनासो भनेकै धेरै बेर टिभी र मोबाइलमा झुन्डिने, अह्राएको नटेर्ने आदि पर्छन् । यस्तो अवस्थामा मोबाइल, टिभीकै प्रयोगबाट उनीहरूमा विषयगत र व्यावहारिका ज्ञान सिकाउने उपायहरू खेजिनुपर्छ । वेबसाइट तथा युट्युबहरूमा बालबालिकाले अध्ययन गरिराखेका विषयवस्तुसँग सम्बन्धित विषयहरू प्रशस्तै पाइन्छन् । तिनीहरूलाई पहिला आपूmले खोजेर वा सक्षम भए उनीहरूलाई खोज्न लगाएर अध्ययन र जानकारी लिन लगाउन सकिन्छ । वेबसाइटमा भएका कतिपय प्रख्यात भौगोलिक एवम् पर्यटकीय स्थानको परिचय, वैज्ञानिक आविष्कार तथा ऐतिहासिक घटनाहरू हेर्न लगाएर तिनीहरूबारे प्रश्न दिएर उत्तर लेख्न लगाउन सकिन्छ । त्यस्तै गीत, नृत्य, वक्तृत्वकला, सामान्य ज्ञान सिक्ने माध्यमका रूपमा पनि मोबाइलको उपयोग गर्न सकिन्छ ।
ऊनीहरूको रुचिअनुसार रचनात्मक, सिर्जनात्मक कामहरूमा व्यस्त हुन पाउँदा बालबालिका रमाउने हुन्छन् । चित्र बनाउने, रंग भर्ने, म्याजिक कोठाहरू भर्ने, हिज्जे मिलाउने, विभिन्न आकारप्रकारका वस्तुहरू चिन्ने बनाउने, शुद्ध र राम्रो अक्षर लेख्ने अभ्यास आदि गराएर पुरस्कार र प्रशंसास्वरूप चकलेट, लेखेको कापीमा मूल्यांकनस्वरूप अंक प्रदान गरेर, परिवारमा एकभन्दा बढी केटाकेटी भए आपसमा प्रतिस्पर्धा गराउँदा पनि उत्साहपूर्वक हौसिएर सहभागिता जनाउँछन् ।
बालबालिकाहरू विद्यालयमा रुटिनअनुसार पठनपाठन र अतिरिक्त क्रियाकलापमा अभ्यस्त भइराखेकाले घरमा गरिने उल्लिखित क्रियाकलापहरू समयतालिका बनाएर नै गर्दा प्रभावकारी हुन्छ । व्यक्तिगत सरसफाइ, स्वस्थकर खाना, स्वच्छ दैनिकी र उपुयुक्त आराम र निद्राले बालबालिकामा स्फूर्ति बढाउँछ ।
त्यस्तै बालसाहित्य पढ्ने, उनीहरूले तयार गरेका चित्र, लेखरचना आदि बाल–पत्रपत्रिकामा छाप्न पठाउनाले आत्मबल र प्रतिस्पर्धाको ल्याकत विकास गराउन टेवा पुग्छ । छोराछोरीको कुरा धैर्यतापूर्वक सुन्ने, उनिहरूको जिज्ञासालाई सावधानीपूर्वक सम्बोधन गर्ने, विभिन्न कथा र अनुभवहरू सुनाउने, अन्तक्रिया गर्ने, विकल्पहरूमा छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुग्ने, प्रशंसा गर्ने, आदर, सत्कार, संयमलगायतका मानवीय तथा सामाजिक मूल्यमान्यतालाई आत्मसात् गर्ने संस्कारको विकासतर्फ पनि अभिभावकले हेक्का राख्न बिर्सिनु हुन्न । अतः शिक्षण संस्था सुचारु नहुन्जेलसम्म बालबालिकाको दिनचर्याको उन्नत व्यवस्थापनका लागि अभिभावकलाई विभिन्न माध्यमबाट सुसूचित गर्न सरकार र सरोकार पक्ष जस्तै– विद्यालय सञ्चालक, शिक्षक, व्यवस्थापन पदाधिकारी तथा विज्ञहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहनेतर्फ हेक्का राख्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्