उठ्दै पर्यटन, जाग्दै आशा «

उठ्दै पर्यटन, जाग्दै आशा

दीननाथ बराल
पोखरा चर्चित पर्यटकीय गन्तव्य हो । कोरोना भाइरसले ठप्प रहेको पोखरा आसपासमा पर्यटकीय गतिविधि सुरु भएको छ । ६ महिना ठप्प भएका पर्यटकीय गतिविधि बिस्तारै सञ्चालन आएसँगै आशा जगाएको छ ।
दुई दशकदेखि सञ्चालनमा आएको सहासिक खेल प्याराग्लाइडिङ, तनहुँको मानहुकोट डाँडामा एकै दिनमा १० हजार पर्यटक जानु, मर्दी हिमाल र माछापुछ्रे मोडल ट्रेकमा पर्यटनको आगमन, पोखरा आसपासका डाँडामा पर्यटक आगमन, पोखरा २२ मा विशाल महादेवका मूर्तिलगायतका दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यले पनि आन्तरिक पर्यटकहरूको चहलपहल सुरु भएको छ । दैनिक ४-५ सयको हाराहारीमा प्याराग्लाइडिङ उडान हुने गरेको छ भने मानहुँकोट डाँडामा धेरैको संख्यामा जाने गरेकोे तनहुँ व्यास नगरपालिकाको वडा नम्बर ५ ले दैनिक ३ सय पर्यटकलाई प्रवेश गराउने निर्णय गरेको छ ।
मर्दी हिमाल र माछापुछ्रेमोडल ट्रेकमा पछिल्लो समयमा दैनिक ३-४ सयको संख्यामा पर्यटक आगमन भएसँगै माछापुछ्रे गाउँपालिका ७, ८ र ९ वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीहरूले पीसीआर नेगेटिभको रिपोर्ट देखाउनुपर्ने निर्णय गरे । पुम्दीकोटमा विशाल महादेवको मूर्ति स्थापना भएसँगै पर्यटक आगमनमा वृद्धि भएको स्थानीय चन्द्रकान्त बरालले बताए ।
त्यसैगरी विन्ध्यवासिनी मन्दिर खुला गरिएसँगै भक्तजन तथा पर्यटक जान थालेका छन् । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रीय संग्रहालयमा समेत जानका लागि खुला गरिएसँगै पर्यटक आगमनमा वृद्धि भएको निर्देशक शंकर गौतम बताउँछन् ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६५ प्रतिशतभन्दा बढी सम्पन्न भएकाले अब पोखरामा पर्यटकीय सहितको आर्थिक गतिविधि बढ्ने सम्भावना देखिन्छ । कोभिड—१९ को कारण हाल विश्वकै चर्चित पर्यटकीय गन्तव्यमा हाल विगत ८-९ महिनादेखि सुनसान प्रायः छ तर केही पर्यटकीय गतिविधि भने पछिल्लो सातादेखि देखिन थालेको छ । पोखरासहित गण्डकी प्रदेशको अर्थतन्त्र कमजोर बन्दै गएको व्यवसायीहरूले बताएका छन् । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएर प्राथमिकता दिए पनि त्यस अनुरूपको बजेट विनियोजन नगरेको पर्यटन व्यवसायी गुनासो गर्छन् ।
काठमाडौं आएका पर्यटकहरूको तुलनामा ४० प्रतिशत पर्यटक पोखरा आउने व्यवसायी दाबी गर्छन् । उता धार्मिक क्षेत्रहरूलाई खुला नगर्दा धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटक आगमनमा प्रभाव परेको विभिन्न शक्तिपीठ तथा धार्मिक एवम् पर्यटकीय स्थलका सरोकारवालाको गुनासो छ । कोभिड—१९ बाट बच्न÷बचाउन र यसको व्यवस्थापनमा सुरु–सुरुमा जसरी तीन तहका सरकारको तारताम्य, समन्वय र सहयोगको भाव थियो पछिल्लो केही महिनादेखि संक्रमण दरसमेत बढ्दै जाँदा उनीहरू जिम्मेवारीबाट पन्छिन खोजेको जस्तो देखिएको छ । पछिल्लो केही समय भेन्टिलेटरसहितको सेवा, सुविधा नपाई ज्यानसमेत गुमाउनु परेको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारले ल्याएका नीति अनुरूपका पुनः कर्जा, सहुलियत दरमा कर्जा व्यवहारमा लागू गर्नुपर्ने बताउँछन् । उनी पर्यटन क्षेत्र मात्र नभई अन्य व्यवसायीहरू कोरोनाले गर्दा मर्कामा परेकाले समयमै पुनःकर्जा कार्याक्रम कार्यान्वयन गर्न माग गर्छन् । ‘अर्थतन्त्र पुनस्थापना गर्न बिस्तारै व्यवसायहरू खोल्दै जानुपर्छ,’ उनले भने, ‘व्यवसायहरू अब बन्द गर्नु उचित हुँदैन्, हाम्रा पर्यटकीय गन्तव्यहरू, पदमार्गहरू, खोलेसँगै आन्तरिक पर्यटकलाई सहुलियत दरमा उपलब्ध गराउन पनि सकिन्छ ।’
कोभिड—१९ ले गर्दा पोखरा क्षेत्रको पर्यटन व्यवसाय अझै पनि प्रायः सुनसान जस्तै भएकाले गर्दा त्यसलाई चलायमान बनाउन महानगरले आवश्यक सहयोग गर्न तयार रहेको पोखरा महानगरका मेयर मानबहादुर जिसी पनि बताउँछन् । “पोखराको पर्यटन क्षेत्र अहिले पनि सुनसान जस्तै भएको छ, पर्यटन क्षेत्र ठप्प भएको करिब ८ महिना भएकाले त्यसको क्षति पूर्ति कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्ने समय आएको छ,” उनले भने, “विभिन्न कार्यक्रम जस्तै भेला तथा गोष्ठी आयोजना गरेर अब पर्यटन क्षेत्रलाई पुनः ब्युताउनु पर्छ ।” आन्तरिक पर्यटनले मात्र पोखराको पर्यटन क्षेत्रले राम्रो लाभ लिन नसक्ने उनले जनाए । कोभिड—१९ ले स्वदेशमा उत्पादनमा जोड दिन खोजेको अवस्था सिर्जना गरेको बताएका मेयर जिसीले ठूलो मात्रामा र सामुदायिक उत्पादनमा अघि बढ्नुपर्ने जनाए । अझै पनि सीपयुक्त जनशक्ति अभाव भएकोले गर्दा अबौं रुपैयाँ विदेश जाने गरेको उनी बताउँछन् ।

अब सबै क्षेत्र खोल्नुको विल्कप छैन : डा. शर्मा
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले कोरोनाबाट प्रदेशमा परेको प्रभावलाई पुनरुत्थान गर्न उद्योगधन्दा तथा व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँछन् । ८-९ महिनादेखि बन्द भएको उद्योगधन्दा तथा केही व्यवसायलाई अब पनि कोरोनाको नाममा बन्द भयो भने यस क्षेत्रको अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने हुँदा अब खोल्नुको विकल्प नभएको उनी बताउँछन् ।
गण्डकी प्रदेशमा पूर्णरूपमा बन्दा हुँदा एक दिनमै ३८ करोड रुपैयाँ बराबर पर्यटनसहित अर्थतन्त्रमा कारोबार ठप्प हुने उपाध्यक्ष डा. शर्माले जनाए । गण्डकी प्रदेश सरकारले कोरोनाबाट प्रभावित भएका साना तथा मझौला व्यवसायीहरूका लागि लक्षित गरी १ अर्ब रुपैयाँको जीवनरक्षा कोष स्थापना गरेकाले त्यसको कार्यान्वयन अब केही सातामै हुने उनले बताए । एक अर्ब रुपैयाँको उक्त कोषले साना तथा सीमान्तकृत व्यवसायहरूलाई कर्जा प्रवाहमा ब्याज अनुदान दिइनेछ । “प्रदेशले व्यवस्थापन गर्ने हुँदा उक्त कोषबाट यस क्षेत्रमा करिब ७-८ अर्ब रुपैयाँ कर्जा सञ्चालन गर्न सकिने छ,” उनले भने, “जसले गुमेको तथा प्रभावित भएको अर्थतन्त्रलाई चलायमान बनाउनेछ ।” कोष सञ्चालनका लागि कार्यविधिसमेत बनेकाले छिट्टै कार्यान्वयन हुने भन्दै उनले कोरोनाबाट सेवामूलक वस्तु खरिद बिक्रीभन्दा उत्पादनमा जोड दिनुपर्ने पाठ सिकेर सबै लाग्नुपर्ने अवस्था आएको उल्लेख गरे । “पर्याप्त मात्रामा अस्पतालसहितका सेवा, सुविधा नहुँदा कोभिड—१९ को उपचार गर्न कठिनाइ भएकाले जनतामा केही असन्तुष्टि भएको हो यद्यपि तीनै तह बलबुताले भ्याएसम्म लागेकै छन्,” उनले भने, “बैंक तथा वित्तीय क्षेत्रमा ६० अर्ब रुपैयाँ तरलता छ ।”

कोरोना प्रभावितलाई बचाउनु सरकारको दायित्व होः भट्टराई
कोभिड—१९ को कारण हाल निजी क्षेत्र पर्ख र हरेको अवस्थामा रहेको अर्थशास्त्री लेखनाथ भट्टराईले बताए । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरुप निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरेको अवस्थामा कोभिड—१९ ले गर्दा हाल लगानी थेग्न कठिन भएको अवस्थामा सरकारले उनीहरूलाई कर छुट, पुनःकर्जा, ऋणको किस्ता अवधि बढाउनुपर्ने अवस्था आएको उनले बताए । “पछिल्लो समयमा पोखरा र पोखरा आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि केही चलायमान भए पनि त्यसले राम्रो मुनाफाभन्दा कामचलाउ ढंगले अघि बढेको छ,” भट्टराई भन्छन्, ‘कोभिड—१९ सम्भवत धेरै लामो समय नरहला, व्यापारमा सधैं नाफा मात्र पनि कहाँ हुन्छ ? व्यापारमा नोक्सान पनि हुन्छ, अहिलेको अवस्थामा भरथेग गर्नुप-यो ।’
“हाल बैंकमा धेरै डिपोजिट भएकाले व्यवसायीहरूलाई पुनः कर्जा लगानी गरी उनीहरूको आर्थिक क्रियाकलाप चलायमान बनाउनु पर्ने हुन्छ,” उनले भने, “स्वास्थ्य मापदण्डका कुरामा पूर्ण सुनिश्चितता गरी पुनःसहुलियत दरमा कर्जा प्रवाह गर्ने वातावरण छिट्टै गर्नुपर्ने, बजेट खर्च अझै पनि हुन सकेको छैन ।”
सरकारले ऋण लिएर भए पनि देशका गेम चेन्जर योजना तथा राष्ट्रिय परियोजनालाई सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भट्टराईको भनाइ छ । स्वास्थ्य संकट प-यो भनेर पर्यटनका सबै क्षेत्रमा सहज र सरलीकरण गर्नुको विकल्प नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्