होटलमा लगानीले जोगाएको हौसला «

होटलमा लगानीले जोगाएको हौसला

बारा-कोरोना कहरले अर्थतन्त्र ठप्प पारेको छ । कोराना कहरका बीचमा पनि बाराका विभिन्न शहरमा होटलमा लगानी भएको छ । भारतीय पर्यटकलाई लक्षित गरी सिमरा, निजगढ, कलैया, पथलैयामा तारे होटलहरुमा उत्साहजनक लगानी भइरहेको हो । होटल रिर्सोटको लगानी अर्ब रुपैयाँ भन्दा बढी रहेको अनुमान होटल तथा पर्यटन व्यवसायी संघको छ । स्थानीय लगानीकर्ता र बाहिरका व्यवसायीको साझेदारीमा तारे होटलहरु सञ्चालनमा आएका हुन् ।
होटलमा लगानी भित्रिएसँगै पर्यटन, रोजगार, स्थानीय उत्पादन खपत, बजार, यातायात, विमान कम्पनीहरुसमेत उत्साहित बनेका छन् । आगामी जनवरी १ लाई लक्षित गर्दै सञ्चालनको तयारीमा रहेका तीन तारे होटलहरुमा क्वीक ट्वान्टी र क्लासिक प्लाजा छन् भने अन्य केही स्तरीय होटलहरु पनि सञ्चालनमा आउन लागेका छन् । क्वीक ट्वान्टीका सञ्चालक नरोतम आर्चाय अँध्यारो समयसँगै उज्यालो पनि हुने सकारात्मक सोचका साथ सेवा गर्ने सुन्दर समयको परिकल्पनामा होटल सञ्चालनमा ल्याएको बताउँछन् । यसैगरी केही चाँही निर्माणाधीन छन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साह जुन गतिमा बाराका सहरहरुमा तारे होटल सञ्चालन र निर्माणको प्रतिस्पर्धाले सञ्चालक, सेवाग्राहीले मात्र लाभ नलिइ जिल्लाका विविध क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउने बताउँछन् । उनी रोजगार सिर्जनादेखि पर्यटन, यातायात र स्थानीय उत्पादनले मूल्य र प्रचार समेत पाउने बताउँछन् ।
विदेशको होटलमा कामको अनुभवका आधारमा कोरोना अवधिमा फर्केका श्रमिकलेसमेत धमाधम अवसर पाउन थालेका छन् । नेपालमै प्रसिद्ध बाह्रै महिना उत्पादन हुने खरबुजा, तरबुजा, जिउँदो माछाको समेत स्थानीय बजार बढ्ने र किसानले ढुवानी भाडाको लाभ समेत पाउने देखिन्छ ।
मौलिक, एकतले, कोलाहाल भन्दा अलि दूरीमा रहेका, खुल्ला स्थानमा स्तरिय होटल सञ्चालनमा आउने भएपछि पर्यटकको बसाइ अवधि समेत लम्बिने सम्भावना छ । बाराका सहरमा होटलमा लगानी केन्द्रित हुनुमा प्रदेश–२ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्ज आधा भाग बारामा रहेको छ भने सिमरामा विमानस्थल रहेको छ । यसैगरी छिमेकी मुलुक भारतसँग सबैभन्दा छोटो दूरीको स्थलमार्ग ६ लेन सडक, पशु बलिका लागि विश्व प्रसिद्ध गढीमाई मन्दिर, ऐतिहासिक र जनश्रुतिको विशाल सिम्रौनगढ राज्यका अवशेष, निर्माणाधीन निजगढ–काठमाडौं द्रूतमार्ग, निजगढ विमानस्थल, नयाँ सहरमा विकास हँुदै गएको सिमरा पूर्व–पश्चिम रेल र भारतीयलाई काठमाडौसँग नजिक बनाउने स्थल तथा हवाइ मार्गले पनि लगानी भित्रिएको हो ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष मोहन शर्माले सम्भावना बृहत देखेर लकानीकर्ता आएकाले यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रमा पर्ने बताए । उनले धार्मिक, वातावरणीयका साथै मौलिक सांस्कृतिक पक्षको पुर्नउत्थान हुने, पर्यटकको आगमन बढ्ने र विशेषगरी भारतीय पर्यटकको रामायण सर्किट बारामा मार्ग पर्ने हुँदा यहाँका होटलले समेत लाभ प्राप्त गर्ने बताए ।
“सम्भावना देखेरै बैंक तथा वित्तीय संस्थाको लगानी पनि होटलमा उत्साहप्रद देखिएको छ,” उनले भने, “अर्थतन्त्र चलायमान गराउन होटलमा गरिएको लगानीले हौसला थपेको छ ।”
पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा आउने व्यापारीले सिमराका होटल रोज्न थालेका छन् भने राजमार्गका पाहुनाको रोजाइ पथलैया र बसाइ निजगढ बन्दै गएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष साह होटलमा लगानी भएपछि स्थानीयको रोजगारी र व्यापारमा क्रान्ति आउने सम्भावना रहेको बताउँछन् ।
भारतीयहरुले विवाह, इन्गेजमेन्ट, बर्थ–डेलगायतका उत्सव गर्न पछिल्लो समय बारा आउने गरेपनि कोरोनाका कारण ठप्प बनेको थियो । तर केही समय यता विवाहका लागि होटलहरुमा बुकिङ्ग सुरु हुन थालेको छ । कोरोनाको डरले उनीहरु आफन्त मात्र लिएर आउने गरेका छन् । यसैले कोरोनाका कारण बन्द रहेका होटलहरुले समेत सेवा सूचारु गर्न थालेका छन् । कोरोना कहरमै न्यु नर्मल भन्ने अवधारणाले होटलहरुले विदामा पठाएका कामदार बोलाउन थालेका छन् भने करिब दुई हजार श्रमिकले नयाँ तारे र स्तरीय होटलमा अवसर पाउने शर्माले बताए ।
रुद्राक्ष, निजगढ, प्याराडाइज, लम्साल, गौतम, सगुन, गौतम होटललगायतले सेवा प्रवाह सुरु गरेका छन् । उता बरेबा दरबार इन कलैया, श्रेष्ठ रिर्सोट, प्याराडाइज सिमरालगायतले पुनर्निर्माण गरी सुविधा बढाएर तारे होटल बन्नेमा प्रतिक्षारत छन् ।
यसैबीच ठप्पप्राय रहेका साना ठूला उद्योग कलकारखाना पनि क्रियाशील हुन थालेका छन् ।

कोभिडपछि सुन्दर अवस्था बन्नेमा आशावादी छु
कृष्णकुमार श्रेष्ठ, सांसद प्रतिनिधि सभा

मेरो व्यापारिक क्षेत्र बाराको सिमरा बनेको छ । कोभिड पछिको सुन्दर अवस्था बन्नेमा म आशावादी छु । बारामा मैले अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छु । क्लासिक म्याटियर्स, ग्यास उद्योग, कृषि, घर जग्गामा अर्बौ रुपैयाँ लगानी छ । माहामारीकै समयमा सिमरा विमानस्थल नजिकै तीनतारे क्लासिक प्लाजा होटल सञ्चालनको अन्तिम तयारीमा छु । “समृद्ध नेपाल सुखी नेपाली बनाउने यात्रामा सिमरालाई म व्यापारिक थलो र राजनीतिक थलो चाँही तनहुँ नै बनाउनेछु ।” उनले भने ।
नेपालको सबैभन्दा ठूलो औद्योगिक करिडोर, पथलैया–वीरगञ्ज ६ लेन बाटो, पूर्व–पश्चिम रेलमार्ग, फास्ट ट्रयाक, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन र विशेष आर्थिक क्षेत्र प्राधिकरण जस्ता ठूला आयोजना सिमरासँग जोडिएकाले सो क्षेत्रमा गरिएको लगानी जोखिममा नपर्ने अनुमान गरेको छु ।
मैले प्रदेश मै पहिलो पटक बालबालिकाका लागि फनपार्क पनि सञ्चालनमा ल्याउन लागेको छु । अहिलेसम्म मैले पाँच सयभन्दा बढीलाई रोजगारी दिएको छु ।

प्रतिक्रिया दिनुहोस्