Logo

फूलको चाडमा फुलेन फूल

तेह्थुमकी तारादेवी भण्डारीलाई यस वर्ष दाजुभाइलाई भाइटीका लगाउँदा फूलको माला लगाउन नपाउने चिन्ता छ । विगत वर्षमा बारीका डिल र आँगनका छेउमा लहलह फुल्ने मखमली र सयपत्री फूल यस पालि नफुलेपछि उनलाई यस्तो चिन्ता छाएको हो ।
फूल आफैँमा सुन्दर हुन्छ । यसको महत्व सँधै उत्तिकै हुन्छ । तर विशेष गरेर भाइटीकामा दाजुभाइलाई लगाइदिने फूल नै नभएपछि तारादेवीजस्तै धेरै दिदीबहिनीलाई कृत्रिम फूल खरिद गर्नुपर्ने बाध्यता छ ।
तिहारमा आवश्यक पर्ने फूल अधिकांशको बारीमा नफुल्दा तिहार खल्लो हुने स्थानीय बताउँछन् । यस वर्ष तेह्थुममा मात्र हैन इलाममा पनि विगतमा जस्तो राम्ररी फूल फुलेका छैनन् । अधिकांश ठाउँमा पर्याप्त फूल नफुलेपछि खास गरेर चेलीबेटीलाई चिन्ता छाएको छ ।
घरवरिपरि लगाएको फूल कोपिलामा नै मरेको र बाँचेको पनि राम्ररी नफुलेका कारण यो वर्षको तिहार खल्लो हुने उनीहरू बताउँछन् । यो वर्ष आफ्ना दाजुभाइलाई लगाउने माला बनाउन पनि फूल नभएको भन्दै महिलामा चिन्ता छ ।
तिहार ढिलो भएका कारण पनि भए बँचेका फूल फुलिसकेका छन् । केही वर्ष यता सयपत्री फूलको अभाव हुँदै आएको छ । इलाम माइजोगमाई–६ का नवराज काफ्लेले तिहारमा दिदीहिनीबाट टीका नलगाएको पाँच वर्ष भयो । वैदेशिक रोजगारीमा गएका उनले पाँच वर्षपछि यो साल तिहारको टीका लगाउँदैछन् । तर पाँच वर्षअघि जस्तो फूलहरू नफुलेको उनको भनाइ छ ।
आवश्यक पर्ने समयमा फूल नफुल्दा पुष्प ब्यवसायी तथा अन्य चेलीबेटीमा समेत नैराश्यता छाएको छ ।
विगतका वर्षमा यतिबेला बगंैचामा सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर यो वर्ष भने सयपत्री फूल अधिकांशको बगैँचामा फुलेको छैन । योे वर्ष अधिकांशका घर तथा बगैंचामा सयपत्री फूल नफुल्दा दिदीबहिनी निराश भएका छन् । यो वर्ष तिहार ढिलो परेकाले गाउँघरमै फुल्ने फूलहरू फक्रिसकेका छन् ।
केही वर्ष अघिसम्म गाउँका घर सयपत्री र मखमली फूलका मालाले ढकमक्क हुन्थे । झ्यालढोका सबैतिर सयपत्री फूलका माला बनाएर लगाउने चलन थियो तर त्यो अहिले एकादेशको कथाजस्तै भएको छ । फूल ब्यापारी र केहीलाई मात्र फूल नफुलेपछि चिन्ता छ ।
केही मानिसले बगैँचामा हैन बारदलीमा प्लास्टिकको धोक्रामा फूल रोपेका छन् । धोक्रामा रोपेको फूल राम्ररी आए पनि सानो बोट, थोरै उत्पादन भएका कारण तिहारमा नपुग्ने गरेको उनीहरू बताउँछन् । जिल्लामा ब्यावसायिक रूपमा मखमली र सयपत्री फूल खेती नगरिँदा तिहारमा फूलको अभाव हुने गरेको छ ।
नेपालमा उत्पादित फूलले उपभोक्ताको माग नधान्ने गरेकाले हरेक वर्षझै यस वर्ष पनि भारतबाट आउने कृत्रिम फूल उपभोक्ताले प्रयोग गर्नुपर्ने बाध्यता यस वर्ष पनि रहने देखिन्छ । तिहारमा प्रयोग गरिने फूलको माग स्थानीय नर्सरीले पूरा गर्न नसक्ने भएकाले भारतबाट फूल आयात गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्