औद्योगिक पार्कमा १० वर्ष कर छुट «

औद्योगिक पार्कमा १० वर्ष कर छुट

झापाको दमक नगरपालिकाले चिनियाँँ लगानीमा बन्न लागेको नेपाल–चीन मैत्री औद्योगिक पार्कमा लगानीकर्तालाई १० वर्षसम्म कुनै पनि प्रकारको स्थानीय कर नलिने भएको छ । दमक नगरपालिकाको पहिलो नगरसभाले दमकको औद्योगिक पार्क निर्माणको चरणदेखि १० वर्षसम्म कुनै कर नलिने निर्णय गरेको मेयर रोमनाथ ओलीले जानकारी दिए । नगरपालिकाले चिनियाँँ सरकारी टोलीसँगकोे छलफलपछि यस्तो निर्णय गरेको हो ।
दमकमा चिनियाँँले अर्बौं रुपैयाँ लगानी गर्न तयार रहेको अवस्थामा आफूहरूले औद्योगिक क्षेत्र निर्माणमा साझेदारीको रूपमा यस्तो निर्णय गरेको मेयर ओलीले बताए । नगरपालिकाको यस्तो निर्णयबाट चिनियाँ टोलीलेसमेत खुसी व्यक्त गरेको समेत बताए । उनले भने, “हामीले सक्ने साझेदारी यो पनि एउटा भएकाले हामी दमकमा स्थापना हुने उद्योगहरूसँग १० वर्षसम्म कुनै कर लिने छैनौं ।” दमकमा उद्योग स्थापनाले रोजगारका अवसरहरू सिर्जना हुने मात्र नभइ यस क्षेत्रको समृद्धि समेत हुने भएकाले आफूहरूले स्थानीय कुनै कर नलिने घोषणा गरेको उनले बताए ।
आफूहरूले लामो छलफल र परामर्शपछि यो निर्णयमा पुगेको उल्लेख गर्दै उनले सबैले यसलाई सकारात्मक रूपमा लिने अपेक्षा लिएको पनि बताए । उनले भने, “करिब १ लाख स्थानीयले रोजगारी पाउने अवस्था रहन्छ भने हामीले यसलाई महत्व दिएर प्रोत्साहन गर्न नै कन्जुस्याइँ नगरेका हौं ।”
नगरपालिकाको प्रयासमा नै दमक–१० मा रहेको रतुवाखोलाको जमिन औद्योगिक पार्कका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको छ । ५ सय बिघा जमिन लिमिटेडको नाममा गइसकेको नगरपालिकाले जनाएको छ । जम्मा २२ सय बिघा आवश्यक पर्ने भएकाले आसपासको जग्गा व्यवस्थापन तथा अधिग्रहणको कामसमेत भइरहेको नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताइन् ।
अधिकारीका अनुसार नजिक रहेको गौरादह नगरपालिका र कमल गाउँपालिकाको जमिनसमेत औद्योगिक पार्क निर्माणका लागि तयारी भइरहेको छ । औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार स्थानीय सरकारको रूपमा रहेको दमक नगरपालिकाले दमकमा स्थापना हुने उद्योगहरूलाई १० वर्षसम्म कुनै प्रकारको स्थानीय कर नलिने गरेको निर्णयको चिनियाँ टोलीले प्रशंसा गरेको छ ।
उद्योग स्थापनामा आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएको उनले बताए । लगानीको वातावरण बनाउने र लगानीको सुरक्षाको जिम्मेवारी लिनसमेत स्थानीय सरकार तयार रहेको पाएपछि उनीहरू चाँडो यहाँ काम गर्न आतुर रहेको आफूले पाएको थापाको भनाइ छ । हालै चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रूपेङको चिनियाँ टोली दमक आएर औद्योगिक पार्क निर्माण स्थलको अवलोकन गर्नुका साथै दमक नगरपालिकाका मेयर उपमेयरसहित बोर्ड सदस्यहरूसँग छलफल समेत गरेको थियो ।
अहिलेसम्म भएको तयारी र स्थानीय सरकारले गरेका प्रयासहरू सकारत्मक रहेको भन्दै टोलीले प्रशंसा गरेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले बताए । उनका अनुसार यो अहिलेसम्मकै चिनियाँ सरकारको सबैभन्दा उच्चस्तरीय टोली रहेको थियो ।
चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड’ अन्तर्गत बन्ने भनिएको यस औद्योगिक पार्कमा चिनियाँ सरकारको तर्फबाट ३ खर्ब ३३ अर्बभन्दा बढीको लगानीका विषयमा प्रारम्भिक चरणको सम्झौता भइसकेर विस्तृत सम्झौताको चरणमा प्रवेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्