अघिअघि कोरोना, पछिपछि महानगर «

अघिअघि कोरोना, पछिपछि महानगर

विराटनगर-कोरोना संक्रमणलाई पराजित गरेका विराटनगर महानगरपालिका–३ का प्रा.डा. चन्द्र तिम्सिना संघीयताका बारेमा निकै चर्चा गर्छन् हिजोआज । विगतमा नेपालजस्तो सानो मुलुकका लागि संघीयता बेकारजस्तो लाग्थ्यो उनका लागि । जब उनलाई कोरोना संक्रमण भयो त्यसपछि संघीयताको मर्म र महत्व बुझे । कोरोना पुष्टि भएपछि सबैभन्दा पहिला वडाध्यक्षले फोन गरे उनलाई । त्यसपछि विराटनगर महानगरपालिकाको गाडी उनलाई लिन घरमै पुग्यो । अनि महानगरले सञ्चालन गरेको आइसोलेसनमा १९ दिन बसेर कोरोनामुक्त भए तिम्सिना । त्यसपछि भने संघीयताप्रतिको उनको धारणा परिवर्तन भएको छ । यदि स्थानीय तह थिएनन् भने कोरोना संक्रमण मात्रै होइन, ज्यान गुमाउनेको ग्राफ पनि निकै उच्च हुने उनको दाबी छ । तिम्सिना त एउटा प्रतिनिधि पात्र मात्रै हुन् ।
प्राध्यापक आरसी कोइराला पनि स्थानीय तहको मुक्तकण्ठले प्रशंसा गर्छन् । हालै संक्रमणमुक्त भएका कोइराला महानगरबाट छिनछिनमा फोन गर्ने गरेको सुनाउँछन् । वडास्तरबाट संक्रमितलाई औषधि उपलब्ध गराइएको थियो । महानगरले संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाएको थियो । आइसोलेसनको खानासहितको सम्पूर्ण खर्च महानगरले नै बेहोरेको थियो । तिम्सिना र कोइरालाजस्ता हजारौं कोरोना संक्रमितले यो बीचमा स्थानीय तहबाट सेवा पाएका छन् । स्थानीय तहको महत्व बुझेका छन् उनीहरूले । हुन पनि महानगरले कोरोनाबाट आफ्ना नागरिकलाई जोगाउन सबै किसिमको उपाय अवलम्बन गरेको छ । “कोरोनाले संघीयताको महत्व बुझाएको छ,” राजनीतिक विश्लेषक पीताम्बर दाहाल भन्छन्, “त्यसमा पनि स्थानीय तहको महत्व र योगदान धेरै नै देखियो । विराटनगर महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि जुन काम गरेको छ त्यो मुलुकमै नमुनायोग्य छ । महानगरले गरेका धेरै काम सार्वजनिक हुन सकेको छैन ।”

मुलुकमै पहिलो पटक लकडाउन घोषणा
मुलुकमा कोरोना संक्रमण देखिएपछि सबैभन्दा पहिला विराटनगर महानगरपालिकाले लकडाउन घोषणा गरेको थियो । उद्योग संगठन, मोरङ व्यापार संघ र अन्य संघसंस्थासँगको बृहत् छलफलपछि महानगर लकडाउन घोषणा गर्ने निर्णयमा पुगेको थियो । चैत ११ गतेदेखि संघीय सरकारले मुलुकभर लकडाउन घोषणा गरे पनि त्यसभन्दा अगाडि १० गते नै महानगरले लकडाउन घोषणा गरेर महानगरवासीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील देखियो । महानगरको सक्रियता र गम्भीरताले संक्रमण धेरै फैलिन सकेन । भारतसँगको खुला सिमानाका कारण महानगर कोरोनाको उच्च जोखिममा थियो । प्रदेश र संघीय सरकारसँगको समन्वयमा भारतबाट आउनेको समेत सहजै व्यवस्थापन ग-यो ।

निजी क्षेत्रसँगको सहकार्यमा पीसीआर मेसिन खरिद
संक्रमण उच्च दरमा बढिरहँदा पीसीआर रिपोर्ट ढिलो आएको र कोरोना परीक्षण अपेक्षाकृत नभएको भन्दै महानगरमाथि जनस्तरबाट दबाब बढेपछि महानगर आफ्नै ल्याब सञ्चालन गर्ने निष्कर्षमा पुगेको थियो । कोरोना संक्रमणको दर दैनिक रूपमा बढ्दै गएपछि महानगरपालिकाले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुन नसकेको र रिपोर्ट आउन ढिलो भएको भन्दै महानगरपालिकाले सहयोग जुटाएर पीसीआर मेसिन खरिद गरेको महानगरका मेयर भीम पराजुलीले बताए । समुदायस्तरमा संक्रमण फैलिएपछि पीसीआर परीक्षणमा समेत समस्या देखियो । प्रदेश सरकारले सञ्चालन गरेको पीसीआरमा रिपोर्ट लिन एक हप्ताभन्दा बढी कुर्नुपर्ने अवस्था सिर्जना भयो । जसबाट हप्ता दिनसम्म रिपोर्ट कुर्दा महानगरवासी हैरान भए । त्यसलाई ध्यानमा राखेर महानगरले आफ्नै पीसीआर खरिद गर्ने योजना बनायो । महानगरका मेयर भीम पराजुलीले अघि सारेको उक्त योजनामा मोरङ व्यापार संघ, उद्योग संगठनलगायतका संघसंस्था र उद्योगी–व्यवसायी सहयात्री बने । अनि तत्कालै पीसीआर मेसिन खरिद गरे । निजी क्षेत्र र नागरिक समाजका तर्फबाट ३१ लाख ६४ हजार रुपैयाँमा खरिद गरी १ थान पीसीआर मेसिन महानगरपालिकामार्फत कोसी अस्पताललाई उपलब्ध गराइयो । त्यसपछि पीसीआर रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने बाध्यताको अन्त्य भयो । यस्तै मूल्य अभिवृद्धि करसहित ३२ लाखबराबरको १ थान आरएनए एक्स्ट्राक्सन मेसिनसमेत कोसी अस्पताललाई हस्तान्तरण गरिएको मेयर पराजुलीले बताए । अमेरिकन ब्रान्डको हाइमिडिया कम्पनीको आरएनए एक्स्ट्राक्सन मेसिनबाट २४ घण्टामा १ हजार ५ सयसम्म परीक्षण हुने गरेको छ । पीसीआर रिपोर्ट पाउन अहिले सहज भएको छ ।

राहत वितरण र भेनमार्फत घरघरमै पीसीआर संकलन
महानगरले वडास्तरबाटै लकडाउनको समयमा कामविहीन भएका मजदुर र विपन्नलाई खाद्य सामग्री वितरण गरेको थियो । राहत वितरणसहित हालसम्म महानगरले कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि करिब ४ करोड रकम खर्च गरिसकेको मेयर पराजुलीको भनाइ छ । “हामीले जनताको स्वास्थ्य सुरक्षाका लागि कुनै कमी हुन दिएका छैनौं,” पराजुली भन्छन्, “अहिले पनि घरघरमै लगेर पीसीआर भेनको सेवा दिएका छौं । मलाई लाग्छ, नेपालमै पहिलो सेवा र परीक्षण हो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूले समेत हामीले दिएको सेवाको उच्च प्रशंसा गरेका छन् । हामीले ८५ वर्षभन्दा माथिका बुबाआमा, गर्भवती, सुत्केरी, ओछ्यान लगाएर सुतेका बिरामी, अपाङ्गता भएका मानिसहरूलाई घरमै सेवा प्रवाह गरेका छौं ।” ९ सय २ जनाले हालसम्म यो सेवा पाइसकेका छन् ।

अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघर पुग्दै मेयर
महानगरले घरघरमै अक्सिजनको आपूर्ति गरिरहेको छ । चौबीसै घण्टा स्वास्थ्यकर्मीको सहभागितामा अक्सिजन उपलब्ध गराएको मेयर पराजुलीले बताए । उनले भने, “सास फेर्न कठिन भएको खबर पाउनासाथ म आफैं अक्सिजनको सिलिन्डर बोकेर सम्बन्धित बिरामीको सहजताका लागि पुगेको छु । बिदा भएको वा रातको समयमा समेत पीसीआर परीक्षण गरेर सेवा प्रवाह गरेका छौं ।”

भारतबाट आउनेलाई सीधै होल्डिङ सेन्टरमा
भारतबाट आउने नेपाली नागरिकलाई महानगरले निर्माण गरेको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ । संघीय सरकारसँगको समन्वयमा जोगबनी नाका हुँदै आउने नागरिकलाई महानगरको बसमा होल्डिङ सेन्टरमा ल्याइन्छ । त्यहाँ ल्याएर पीसीआर चेकजाँच गरेपछि नेगेटिभ रिपोर्ट आएमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाइन्छ । महानगरले सञ्चालन गरेको आइसोलेसन र होल्डिङ सेन्टर अत्यन्त प्रभावकारी भएको उपमेयर इन्दिरा कार्कीको दाबी छ । नेपालमै नमुनाका रूपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनका पदाधिकारीले अनुगमन गरी प्रशंसा गरेबाटै पनि प्रस्ट हुने उनी बताउँछिन् । “क्वारेन्टाइन र आइसोलेसनमा गर्भवती, सुत्केरी, महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई अलग्गै राखी विशेष खानपिनसहित स्वास्थ्य सेवा प्रदान गरेका थियौं,” कार्कीले भनिन्, “साथै चौबीसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा राखिएको थियो । एकअर्कामा संक्रमण नफैलियोस् भनेर विशेष सतर्कता अपनाइएको थियो ।” महानगरले २ सय बेडको क्वारेन्टाइन र १ सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । महानगरको टिम कोरोना नियन्त्रण र रोकथामका लागि रातदिन खटिरहेको उनले बताइन् ।

प्लाज्मा दानका लागि एप्स सञ्चालन
प्लाज्मा लिने र दिनेहरूका लागि सहज होस् भन्ने उद्देश्यका साथ एप्स बनाइएको हो । यो कार्यक्रम अत्यन्त फलदायी हुने महानगरको दाबी छ । कोरोना संक्रमित भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एप्समा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ । संक्रमित भएर निको भएका व्यक्तिले रगत नदिएको हकमा मात्र यो लागू हुने र २२ दिनसम्म रगत नदिएको अवस्थामा महानगरपालिकाले बोलाएर रगत दिन इच्छुक व्यक्तिको रगत संकलन गरेर राखेमा २ महिनासम्म काम लाग्नेछ । साथै प्लाज्मा दिने व्यक्तिले रगत दिएको खण्डमा एप्समार्फत रगत दिएको जानकारी गराउनुपर्नेछ । उक्त एप्स डाउनलोड गर्न गुगल प्लेमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्नुपर्ने मेयर पराजुलीले बताए ।

प्रचार गरेनौं तर राम्रो काम ग-यौं
भीम पराजुली
प्रमुख, विराटनगर महानगरपालिका

विराटनगर महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि के–के काम ग-यो ?
कोभिड–१९ नियन्त्रणका लागि हामीले सुरुवाती अवस्थादेखि काम गरेका थियौं । जब छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमित भेटिएसँगै हामी तयारीमा जुट्यौं । स्वास्थ्यकर्मीहरूलाई यसबारे जानकारी दिने र संक्रमण फैलँदा कसरी काम गर्ने रणनीति बनायौं । विराटनगर महानगरले सुरुवाती अवस्थामै क्वारेन्टाइन निर्माण गरेको थियो । विराटनगर महानगर क्षेत्रमा नेपालमै पहिलो पटक लकडाउन गर्ने घोषणा गरिएको थियो । जनतामा यसबारे जनचेतना जगाउने काम भए । भारत हुँदै महानगर छिर्ने नाकामा हेल्थडेक्स राख्ने र सेवा प्रवाह गर्ने काम गरेका थियौं । यस्तै विराटनगर विमानस्थल र बसपार्कमा समेत हेल्थडेक्स स्थापना गरी जनचेतनामूलक काम गरेका थियौं । २ सय ४० बेडको क्वारेन्टाइनसँगै पछिल्ला परिस्थितिलाई मनन गर्दै १ सय २० बेडको आइसोलेसन बनाइयो । त्यहाँ स्वास्थ्य सेवा, खानपिन र अन्य सुरक्षाको प्रबन्ध गरियो । महानगरमा आरडीटी परीक्षण महानगरले पहिलो पटक सुरुवात ग-यो । यसका अतिरिक्त पीसीआर मेसिन खरिद गर्ने योजनाअनुरूप महानगर थप व्यवस्थापनमा जुट्यो । यसका लागि सुरुवाती अवस्थामा महानगरले २ करोडको कोभिड विपत् व्यवस्थापन कोष बनाएर काम थालनी गरेका थियौं । पछिल्लो समय विभिन्न दातृ निकाय तथा संस्थाहरूको समन्वयमा करोडौं मूल्यका आरएनए एक्स्ट्राक्सन मेसिन, भेन्टिलेटर, अक्सिजन हामीले सरकारी अस्पतालहरूलाई प्रदान गरेका छौं । अशक्त, अपाङ्गता भएका, सुत्केरी, वृद्धवृद्धाहरूलाई घरमै गएर पीसीआर परीक्षण गर्ने प्रबन्ध मिलाएका छौं । यसका लागि रोटरी क्लबसँगको समन्वयमा अत्याधुनिक पीसीआर भेन सञ्चालनमा ल्याएका छांै ।

पीसीआर मेसिनलगायत स्वास्थ्य सामग्रीहरू खरिद गर्ने योजना कसरी बन्यो ?
कोरोना संक्रमणको अवस्था बढ्दो क्रममा रहँदा यसबाट हुन सक्ने मृत्युदर र रोकथामलाई कम गर्नका लागि हामीले आन्तरिक र बाह्यरुपमा विभिन्न संघसंस्थासँग समेत समन्वय गरेका थियौं । यसका लागि महानगरमा कार्यरत सबै कर्मचारीहरूको तलबबाट ५ दिनको तलब कोरोना कोषमा जम्मा गरेका थियौं । मैलेसमेत ५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेको थिएँ । महानगरले यस्तै गरेर २ करोडको राहत कोष बनाउन सफल भएको थियो । समय बित्दै जाँदा विभिन्न संघसंस्थाको समन्वयमा विराटनगर महानगरले करोडौं मूल्यबराबरको सामान ल्याउन सफल भयो । जसअनुरुप कोसी कोभिड अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आरएनए एक्स्ट्राक्सन मेसिन, पीसीआर मेसिन, भेन्टिलेटर, विभिन्न स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि महानगरले अहिलेसम्म कति खर्च ग-यो ?
गत वर्षदेखि हालसम्म विराटनगर महानगरले कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि करिब ४ करोड रकम खर्च गरिसकेको छ ।

पीसीआर भेनबाट कति जनाले सेवा पाए ?
हामीले घरघरमै लगेर पीसीआर भेनको सेवा दिएका छौं । जसबाट ९ सय २ जनाले सेवा पाउनुभएको छ । मलाई लाग्छ, नेपालमै पहिलो सेवा र परीक्षण हो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूले समेत हामीले दिएको सेवाको उच्च प्रशंसा गरेका छन् । हामीले ८५ वर्षभन्दा माथिका बुबाआमा, गर्भवती, सुत्केरी, ओछ्यान लगाएर सुतेका बिरामी, अपाङ्गता भएका मानिसहरूलाई घरमै सेवा प्रवाह गरेका छौं ।

अक्सिजनको सेवा पनि प्रवाह गर्नुभयो हैन ?
हो, हामीले अक्सिजनको आपूिर्तका लागि हरतरहको प्रयास गरेका छौं । चौबीसै घण्टा स्वास्थ्यकर्मीको सहभागितामा अक्सिजन उपलब्ध गराएका छौं । सास फेर्न कठिन भएको खबर पाउनासाथ म आफैं अक्सिजनको सिलिन्डर बोकेर सम्बन्धित बिरामीको सहजताका लागि पुगेको छु । बिदा भएको वा रातको समयमा समेत पीसीआर परीक्षण गरेर सेवा प्रवाह गरेका छौं ।

विराटनगर महानगरमा कोरोना संक्रमितको अवस्था के छ ?
विराटनगरमा हालसम्म १८ हजार २ सय ७९ जनाको स्वाब संकलन गरिएको छ; जसमध्ये पोजेटिभ केस भने ६ हजार ९ सय २९ देखिएको छ । स्वाब संकलन गर्ने काम जारी छ । अहिले भने कोरोना संक्रमणको दर केही कम भएको देखिन्छ । यस्तै महानगरमा हालसम्म कोरोना संक्रमणका कारण ७२ जनाको मृत्यु भएको छ ।

महानगरले आफ्नै अग्रसरतामा सञ्चालन गरेको क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टर कत्तिको प्रभावकारी भयो ?
अत्यन्त प्रभावकारी भएको छ । नेपालमै नमुनाका रूपमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनका पदाधिकारीले अनुगमन गरी प्रशंसा गरेबाटै पनि प्रस्ट हुन्छ । क्वारेन्टाइन र आइसोलेसनमा गर्भवती, सुत्केरी, महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई अलग्गै राखी विशेष खानपिनसहित स्वास्थ्य सेवा प्रदान गरेका थियौं । साथै चौबीसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा राखिएको थियो । एकअर्कामा संक्रमण नफैलियोस् भनेर विशेष सतर्कता अपनाइएको थियो । आइसोलेसनमा हालसम्म ४ सय जनाले सेवा लिनुभएको छ भने महानगरको क्वारेन्टाइनमा ७ सय १६ जनाले सेवा लिनुभएको छ । होम आइसोलेसनमा ५ हजार २ सय ३१ जना रहनुभएको थियो । यो संख्या बढ्ने क्रममै रहेको छ ।

क्वारेन्टाइन, आइसोलेसन कहाँ–कहाँ छन् ?
हामीले चलाएका क्वारेन्टाइनहरू अहिलेलाई हामीले केही समयका लागि स्थगित गरेका छौं । सुरुवाती अवस्थामा मारवाडी सेवासदन, रामजानकी सेवा सदन, जैन भवन, काली धर्मशाला, बैझनाथपुर स्वास्थ्य चौकी, अतिथि सदनमा क्वारेन्टाइन सञ्चालन गर्नुका साथै पछि तिनै स्थानमा आइसोलेसन सञ्चालन गरेका थियौं । २ सय ४० बेडको क्वारेन्टाइन सञ्चालन गरेका थियौं । यस्तै १ सय बेडको आइसोलेसनसमेत सञ्चालनमा ल्यायौं । यसबाट धेरै सेवा प्रवाह भए ।

महानगरले प्लाज्मा दानका लागि एप्स पनि सञ्चालनमा ल्याएको छ, यसको प्रभावकारिता कस्तो छ ?
प्लाज्मा लिने र दिनेहरूका लागि सहज होस् भन्ने उद्देश्यका साथ एप्स बनाइएको हो । यो कार्यक्रम अत्यन्त फलदायी हुने विश्वास लिएका छौं । यसमा कोरोना संक्रमित भएर निको भएकाहरूले १५ देखि ४५ दिनभित्रका रगत दान गर्न सक्नेछन् ।

रोकथामका लागि अन्य प्रयासहरू के छन् ?
भरपुर रूपमा सञ्चारमाध्यमको सहयोग लिएका छौं । विभिन्न संघसंस्थाको सहयोगमा जनचेतनामूलक काम गरेका छौं । वडास्तरीय संयन्त्र बनाएर संक्रमितको पहिचान गर्ने काम गरेका थियांै । स्वास्थ्यकर्मीहरूलाई वडास्तरमा परिचालन गरी ज्वरो नाप्ने, कन्ट्र्याक्ट ट्रेसिङमा परेकाहरूको स्वास्थ्य परीक्षणका लागि नाम टिपोर्ट गरी स्वाब संकलनका लागि आउन अपिल गरेका छौं । कोरोना संक्रमित भए–नभएको विषयमा महानगरले एसएमस गर्ने र जानकारी दिने काम गरेको थियो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि आगामी योजना ?
संक्रमणको दर यही हो र यस्तो मोडमा पुग्ला भन्ने आकलन गर्न गाह्रो छ । यद्यपि हामीले सम्भावित जोखिमलाई ख्याल गर्दै वडास्तरमा सेवा प्रवाह गर्ने संयन्त्रलाई चुस्त बनाएका छौं । यसका लागि हामी पूर्ण तयारीमा छौं भन्दा पनि हुन्छ । यसका लागि प्लाज्मा संकलनका लागि रक्तदानका कार्यक्रम ल्याउँदैछौं । संक्रमितहरूलाई यहाँका कोभिड अस्पतालहरूसँग समन्वय गरी सेवा प्रवाह गरेका छौं । आधारभूत स्वास्थ्य सेवालाई पनि सुरक्षा सावधानीका साथ विस्तार गर्दै सेवा दिइ नै रहेका छौं । जनस्तरमा स्वास्थ्य शिक्षा प्रदान गर्ने काम निरन्तर चलिरहनेछ । स्वास्थ्य विज्ञहरूले जाडोको मौसममा संक्रमण फैलन सक्ने चेतावनी दिइरहेका कारण थप व्यवस्थापनमा महानगर लागेको छ ।

महानगरको सबै ध्यान कोरोना रोकथाम नियन्त्रणमा केन्द्रित हुँदा विकास–निर्माणका काम प्रभावित भएनन् ?
कोभिडका कारण विकास–निर्माणले जुन रूपमा गति लिनुपर्ने थियो त्यसअनुरूप लिन सकेको छैन । यो विराटनगरको मात्रै होइन, देशभरिकै समस्या हो । लकडाउनको समयमा केही पनि काम भएनन् । तर, अहिले भने विकास–निर्माणको कामले गति लिएको छ । कोरोना महामारी यतिमै नियन्त्रणमा आयो भने महानगरको पुँजीगत खर्च शतप्रतिशत गर्ने लक्ष्य छ । अहिले पनि सडक कालोपत्रे भइरहेका छन् । नाली र ढल निर्माण भइरहेका छन् । लकडाउन हटेपछि कुनै पनि काम रोकिएका छैनन् । महानगरले सबैजसो वडामा अत्याधुनिक सुविधा सम्पन्न वडा कार्यालयहरू निर्माण गरिरहेको छ । कतिपय वडा कार्यालय सम्पन्न भइसकेका छन् । महानगरको ध्यान कोभिड नियन्त्रण र रोकथाममा मात्रै होइन, विकास–निर्माणमा पनि केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्