स्वास्थ्य सुविधामा फड्को

कोभिडकालमै स्थानीय स्तरमा स्थापना भएका स्वास्थ्य संस्थाहरूले संक्रमण नियन्त्रणमा भूमिका खेल्नुका साथै स्थानीय अर्थतन्त्र पनि चलायमान बनाएको पाइन्छ । स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जनासमेत भएको छ भने स्वास्थ्य संस्था वरपरमा स–साना होटल व्यवसाय तथा अन्य बजार केन्द्रहरू पनि बिस्तार हुन थालेको छ ।
रुकुम पश्चिम –रुकुम पश्चिमका स्थानीय तहले नेपाल सरकारको नीतिअनुसार कोभिड–१९ बिरुद्ध लड्न स्वास्थ्य सेवासुविधा प्रवाह गर्न कसर बाँकी राखेका छैनन् । कोभिडकालमै स्थानीय स्तरमा स्थापना भएका स्वास्थ्य संस्थाहरूले संक्रमण नियन्त्रणमा भूमिका खेल्नुका साथै स्थानीय अर्थतन्त्र पनि चलायमान बनाएको पाइन्छ । स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जनासमेत भएको छ भने स्वास्थ्य संस्था वरपरमा स–साना होटल व्यवसाय तथा अन्य बजार केन्द्रहरू पनि बिस्तार हुन थालेको छ । स्वास्थ्य विषय क्षेत्र सम्बद्ध अध्ययन गरेका स्थानीयले गाउँमै सेवा र रोजगारी गर्ने अवसर पनि पाएका छन् । जिल्लाका ४ स्थानीय तहले अस्पताल सुरु गरिसकेका छन् । नगरपालिकाले २५ र गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालन गर्न पाउँछन् ।
यसै अनुसार अस्पताल सञ्चालनमा ल्याएको स्थानीय तहहरूले जनाएका छन् । आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले संविधानको कार्यान्वयन अन्तर्गत नै नगर अस्पताल सञ्चालनमा ल्याइएको बताए । अस्पताल उद्घाटनपछि नियमित रूपमा अस्पतालमा डाक्टरले सुविधा दिइरहेका उनले बताए । अस्पताललाई व्यवस्थित बनाउन र सेवा प्रवाहलाई सजिलो बनाउन सुविधासम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको केसी बताउँछन् ।
आठबिसकोटमा ३५ जना विभिन्न क्षेत्र र तहका स्वास्थ्यकर्मीहरूले रोजगारी पाएका छन् । नगरले पछिल्लो पटक २६ जना स्वाथ्यकर्मीहरू करारमा भर्ना गरेको छ । नगर अस्पताल स्थापना भएपछि स्वास्थ्य क्षेत्र अध्ययन गरेर बसेकाहरूलाई ठूलो अवसर सिर्जना भएको नगर अस्पतालकी अहेब मुना केसी बटाला बताउँछिन् । “अस्पतालमा शैया थप्ने तथा भौतिक पूर्वाधार विकासको काम भइरहेकाले अझै थपले रोजगारी पाउने संभावना देखिन्छ,” उनले भनिन् । नगरका केही वडाबाट सदरमुकाम खलंगा आउन एक दिन भन्दा बढी समय लाग्छ । स्थानीय तहहरू बनेपछि धेरैजसो कामकाज तथा विकास निर्माण मागका लागि सदरमुकाम खलंगा धाउनुपर्ने समस्या त हट्यो तर उपचारका लागि नआई सुखै थिएन । जिल्ला अस्पतालबाहेक त्यस क्षेत्रका लागि पायक पर्ने अन्य अस्पताल थिएन । चौरजहारी अस्पताल, नेपालगञ्ज वा काठमाडांै जानुपर्ने बाध्यता थियो । सामान्य अवस्थामा समेत उपचारमा समस्या भइरहेको त्यस क्षेत्रका नागरिकका लागि कोरोना भाइरस संक्रमणको बेला झनै समस्या खट्कियो । संक्रमितहरूको लागि आइसोलेसन आवश्यक पर्ने देखियो । यसै कारोनाकालको दुई सातामै आठबिसकोट नगरबासीको दुःख छोटियो । नगर र स्थानीयहरूको जनश्रमदानमा उक्त अस्पताल भवन निर्माण भयो । त्यसका साथै यसअघिको इलाका स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा विकास गरी २५ शय्याको थप व्यवस्थित अस्पताल निर्माणसमेत भयो । कोरोना संक्रमणको बढ्दो ग्राफबीच आठबिसकोटले दुई सातामै १० शैयाको आइसोलेसन भवन निर्माणसहित अन्य जनरल अस्पतालको व्यवस्थापन गरेको केसीले बताए । “काठमाडौंसहितका प्रमुख सहरका सुविधासम्पन्न अस्पतालहरूमा पनि कोरोना संक्रमितहरूको लागि आइसोलेसन बेडहरूको अभाव भएर समस्या भइरहँदा पनि रुकुममा त्यस्तो समस्या देखिएन,” उनले भने, “कोरोनाकालको समस्याबीचमा अस्पताल निर्माण गरेर तत्काल जनतालाई सुविधा दिने काम धेरैका लागि नयाँ र नमुना जस्तो लाग्छ ।” हेल्थ असिस्टेन्टको नेतृत्वमा रहने स्वास्थ्यचौकी २५ शय्याको अस्पताल बनेपछि सर्वसाधारणले तीन वर्षदेखि चिकित्सकीय सुविधा नियमित पाइरहेका अस्पताल प्रमुख मणिराज शाह बताउँछन् ।
यसैगरी सानीभेरी गाउँपालिकाले स्थापना गरेको गाउँपालिका स्तरीय स्वास्थ्य संस्थामा पनि एक डाक्टरसहित १८ जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । जसमा डाक्टरसहित अधिकांश कर्मचारी गाउँपालिकाले करारमा भर्ना गरेको हो भने केही चाहिँ यसअघिकै स्वास्थ्य चौकीबाट तानिएका छन् । यसैगरी चौरजहारी अस्पतालमा एक एमबीबीएस डाक्टरसहित २२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले रोजगारी पाएका छन् जसमा अधिकांस स्थानीय छन् । सानीभेरी गाउँपालिकाले कोरोना संक्रणको सुरुवात हुँदाताका नै पछिको आवश्यकताको महसुस गर्र्दै तत्काल उद्घाटन गरेर अस्पतालको सेवा सुचारु ग¥यो । ७ नम्बर वडाको छोटेबगरमा एक जना एमबीबीएस डाक्टरसहित स्वास्थ्य सुविधा प्रदान गरिरहेको स्वास्थ्य संयोजक छविलाल केसीले बताए ।
त्रिवेणी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनमा ल्याएको छ । जसबाट सामान्य स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर संचालनमा ल्यायो । यसपछि प्रदेश राजधानी सुर्खेत र दांङलगायतका जिल्लामा स्वाब पठाउनु बन्द भयो । नगर प्रमुख विशाल शर्माले चौरजहारीले मेसिन ल्याएपछि जिल्लाका ६ स्थानीय तहका साथै सल्यान र जाजरकोटका नागरिकलाई पनि परीक्षणमा सहयोग पुगेको बताउँछन् ।