अवसर बन्दै महामारी «

अवसर बन्दै महामारी

कोभिड–१९ महामारीले नेपालमा धेरैको व्यवसाय धरासायी भएको छ भने लाखौंले रोजगारी गुमाए । कति त महामारीको समयमा के गर्ने भन्ने अन्यौलमै पनि छन् । दोलखामा स्थानीय तहले भने पर्यटनको प्रवद्र्धन गर्दै नयाँनयाँ गन्तव्यको पहिचान गरेका छन् भने केहीले स्वरोजगारमूलक कृषि, पशुपंक्षीपालन र पर्यटनलगायतका व्यवसायमा पनि हात हालेका छन् । स्थानीय अर्थतन्त्र चलायमान बनाउन यसले सहयोग पु¥याउने अपेक्षा पनि लिइएको छ । साथै यस्ता कार्यले अनौपचारिक अर्थतन्त्रको क्षेत्रलाई केही हदसम्म चलायमान बनाउने देखिन्छ ।

दोलखा – नौ महिना अघिको लकडाउनले धेरैको व्यवसाय धरासायी भयो । लाखौंले रोजगारी गुमाए । अझ कति त महामारीको समयमा के गर्ने भन्ने अन्यौलमै छन् ।
तर केहीले भने महामारीको समयलाई पनि अवसरको रुपमा लिए । दोलखामा यही बीचमा नयाँ व्यवसाय समेत सुरु भएका छन् । लकडाउन अवधिभर व्यावसायिक संरचना तयार पारेर न्यु नर्मल अवस्थापछि भने केही चाहिँ सञ्चालनमा आएका छन् ।
सदरमुकाम चरिकोट बजारको ३ किलोमिटर टाढा भीमेश्वर नगरपालिका– ७ महादेव खोला नजिक लकडाउनकै बीचमा २ हजार कालिज हुर्केका छन् । दुई चरणमा १ हजारका दरले हालिएका चल्ला अहिले ८ महिनाका भएका छन् । अब कालिज बजारमा लैजान मिल्ने भएका छन् ।
यही बीचमा रिसोर्टसहितको संरचना पनि तयार भएका छन् । १४ रोपनी जग्गामा कालिज फाराम सञ्चालनमा छ । जिल्लामा पहिलो पटक स्वीमिङ पुलसहितको रिसोर्ट सञ्चालन गर्न ३ करोड रुपैयाँ बढी लगानी भइसकेको दुधपोखरी रिसोर्ट एण्ड एग्रो फर्मका निर्देशक मिङगुर शेर्पाले बताए । अब एक महिना भित्रै सञ्चालनमा आउने उनले बताए ।
भीमेश्वर नगरपालिका– १ कुथली खोलामा पनि अस्पताल सञ्चालक अमृत बुढाथोकीले रिसोर्ट सञ्चालनको तयारी गरेका छन् । यही बीचमा रिसोर्टको संरचना तयार गरेका छन् । अब परिस्थिति सामान्य भएर पर्यटकहरु आवतजावत हुन थालेपछि रिसोर्ट सञ्चालनमा आउने बताए । उनले पनि डेढ करोड रुपैयाँ बढी खर्च गरेका छन् । उनले रिसोर्टमै स्थानीय जातका कुखुरा र कालिज समेत पाल्न थालेका छन् ।
भीमेश्वर नगरपालिका– ५ मथानीका युवा रामहरि सुवेदी सरकारी जागिर छाडेर लामो समय आफ्नै गाडी चलाएर हिड्थें । तीन महिनादेखि उनी दुध बिक्री गर्दैछन् । उनले पनि गत असारदेखि भैंसी फाराम सुरु गरेर दुध, मल बिक्री वितरण सुरु गरेका हुन् । उनीसँग आठ वटा दुहुना भैंसी छन् ।
भीमेश्वर नगरपालिका– ४ जिलुका सरोज के.सी पनि वैशाखदेखि कालिज फाराम सुरु गरेका छन् । रोजगारीका लागि विभिन्न ठाउँ धाउँदा पनि निरुपाय भएपछि उनी स्वरोजगारमुलक व्यवसायमा लागेका हुन् । ५ सय वटा कालिजबाट सुरु गरेका के. सीको फारामबाट बिक्री वितरण हुन थालिसकेको छ ।
केही वर्ष क्रसर व्यवसाय गरेका तामाकोसी गाउँपालिका– १ भीरकोटका सुरेश उप्रेती पनि केही युवा साथीलाई लिएर बाख्रापालनमा लागेका छन् । तीन महिनादेखि उनी अत्याधुनिक खोर बनाएर बाख्रापालन गरिरहेका छन् । उनले उन्नत जातको बाख्रा थप्ने र घाँस, चरण क्षेत्र व्यवस्थापनमा लागेको बताए । एक सय बढी बाख्रापालनको गर्ने उनीहरुको योजना छ ।

पर्यटन गन्तव्यको प्रबद्र्धन र पहिचान
जिरी नगरपालिका– १ पुम्पामा निर्माणाधीन स्टोन पार्कमा गुरु रेम्पोचे र महादेवको मुर्ती स्थापना भयो । नगरपालिकामा जनप्रतिनिधि आउने वित्तिकै खोला किनारमा रहेका ढुंगाहरुलाई थप सजाएर नगरपालिकाले स्टोन पार्कको रुपमा विकास गर्ने योजना बनायो ।
अहिले यही पार्कमा धेरै आन्तरिक पर्यटकहरु घुम्न पुग्छन् । पार्कलाई थप सजाउने कार्यक्रम अन्र्तगत नै गुरु रेम्पोचेको प्रतिमा लकडाउनकै बीमा स्थापना भएको हो । अब यसमा पौडी पोखरी सहितको बगैंचा निर्माण गर्ने योजना छ ।
जिरी नगरपालिका– ३ माली डाँडामा बुद्धमार्गीहरुको एसियाकै ठूलो मुर्ती निर्माणको काम सुरु भएको छ । ५ वर्ष अघिदेखि विस्तृत अध्ययन प्रक्रिया सुरु भए तापनि निर्माण सुरु हुन नसके तापनि २ महिना अघिदेखि काम सुरु भएको हो । ११८ फिट अग्लो रेम्पोचेको मुर्तीसँगै एक हजार रोपनीमा बौद्ध विश्वविद्यालयकै संरचना निर्माण हुनेछ । यो पूरा हुँदा दैनिक सयौं पर्यटक जिरी ल्याउन सकिने जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताए । ४ वर्षमा यो योजना पूरा गर्ने लक्ष्य राखेको छ ।
जिरी नगरपालिकाले मुख्य रुपमा पर्यटकहरु लक्षित कार्यक्रम थालेको छ । जिरी बजार नजिकै जिरी खोलामा बाँध बनाएर ताल निर्माण गर्ने भएको छ । बहुउद्देश्यीय प्रकृतिको तालको डिपिआर निर्माण प्रक्रिया अन्तिममा पुगेको छ । त्यसैगरी हनुमन्ते डाँडाको विस्तृत विकास गर्ने गरी गुरु योजना बनेको छ । अहिले जिरी नगरपालिकातिरबाट हनुमन्तेडाँडासम्म पुग्ने पैदलमार्ग, खानेपानी, प्रतिक्षालय जस्ता पूर्वाधार तयार हुँदैछन् ।
गौरीशंकर र बैतेश्वर नगरपालिका र जिरी नगरपालिकाको संंगमस्थलको रुपमा रहेको हनुमन्ते डाँडामा भ्यू टावर, केबलकार सहित विश्वकै अग्लो हनुमानको मुर्ती राख्ने गरी योजना बनेको यसको अगुवाइ गरिरहेका बागमती प्रदेशका सांसद विशाल खड्काले बताए । जिरीलाई सगरमाथाको प्रवेशद्घारको रुपमा चिनिन्छ । सडकहरु खुलेसँगै सोझै पर्यटकहरु सोलु पुग्दा जिरीमा पर्यटकहरु एक दशक यता घटेका छन् । अब पुरानी पर्यटकीय नगरीको परिचयलाई कायम गर्ने गरी जिरी नगरपालिकाका महत्वपूर्ण योजना सहित एक वडा एक पार्कका कार्यक्रम चलेको छ ।
भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा गोलाकारमा तिलक पोखरी भ्रमण गर्नेहरु दैनिक बढ्दै गएका छन् । छ महिनासम्म तिलक पोखरी नामै नसुनेकाहरु दैनिक रुपमा पोखरी घुम्न आउनेहरु देख्दा स्थानीय समेत दंग परेका छन् ।
गोडर खोला र गुम्फा आपोको बीच भागमा पोखरी तयार भएको छ । पोखरी गत असारमा मात्र पूरा भएको हो । जुन बेला लकडाउन र निषेधज्ञाका कारण सर्वसाधरणलाई सहजै हिडडुलमा समेत सरकारले रोक लगाएको थियो । पोखरीले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ । त्यहाँ पुगेर फर्कनेहरुले सामाजिक सञ्जालमा तस्बिर हालेकै भरमा लोभिएर अरु पनि पुग्ने गरेका छन् ।
लकडाउनमा नियमित कार्यालय पनि बन्द भएको र व्यापार व्यवसाय पनि ठप्प भएपछि नयाँ नयाँ गन्तव्यको खोजीमा स्थानीयहरु लागे । दोलखा सदरमुकाम नजिकै रहेकाले चरिकोटका धेरै कर्मचारी, व्यापारी र नयाँ नयाँ गन्तव्यको खोजीमा हिड्ने युवाहरु बढी जसो तिलक पोखरीलाई पुगेका भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख सुरेश राउतले बताए ।
थामी जातीको उद्गम थालो राङराङ थलीमा थामी संग्राहालय बनाउने प्रयोजनका रुपमा पोखरी निर्माण गरिएको हो । तर संग्राहालय बन्न सुरु नहुँदै पर्यटकहरु अहिले नै बढ्न थालेको उनले बताए । चैत ११ गतेदेखि लकडाउन भयो । तर यही बीचमै पोखरी तयार भएको हो ।
पोखरीमा गोडर खोला र गुफा रसाएर आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन गरि तयार गरिएको उनले बताए । अहिले चरिकोट भ्यू टावरदेखि सिंढी सहित तयार गरिएको गोरेटो बाटो पनि पोखरीमै जोडिन्छ । यसले चरिकोटबाट भ्यूटावर पुग्नेहरुलाई थप एक घण्टा जंगलको बाटो झर्दा राङराङथली पुग्न सहज भएको छ ।
छेउमै जोडिएको जंगललाई समेत सदुपयोग गर्दै सुनाखरी मार्गको रुपमा विकास गरिएको छ । थोरै क्षेत्रमा ५० प्रजातीभन्दा बढी सुनाखरी भेटिएको इन्जिनियर राउतले बताए । पदमार्ग २ किलोमिटर रहेको छ । भ्यूटावरदेखि हिड्ने र पोखरी बीचमा जंगलको भएको र सहरबाट शान्त ठाउँ खोज्नेहरुका लागि महत्वपूर्ण भएकाले पनि अहिले तिलक पोखरी आन्तरिक पर्यटकहरुको गन्तव्य बन्न पुगेको हो । इन्जिनियर राउतले तिलक पोखरी लगायतको संरचना भीमेश्वर नगरपालिकाको गौरवको योजना समेत भएको बताए ।
लकडाउनका बीचमा भीमेश्वर नगरपालिका – ७ र ८ को बीचमा रहेको चरङ्गे खोलामा पुग्नेहरुको लर्को नै लाग्यो । नगर प्रमुख भरत के.सीले नयाँ पहिचान भएका गन्तव्यसम्म पुग्नका लागि नगरपालिकाले पदमार्ग र सडक मार्ग निर्माण गर्न लागेको बताए । झरना नै झरनाको रुपमा रहेको सुन्द्रावतीमा पुग्नेहरुको पनि लर्को नै छ । कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकाले सुन्द्रावती पुग्ने बाटो बनाए ।
बैतेश्वर गाउँपालिका– ८ र गौरीशंकर गाउँपालिका– २ बीचमा पर्ने पुक्ती खोलामा कालाघारी झरना छ । अहिलेसम्म नजिकैका स्थानीयहरुले समेत खासै वास्ता नगरेको यो झरनामा लकडाउनकै बीचमा धेरैले भ्रमण गरे । बैतेश्वर– ८ का वडाध्यक्ष रमेश अधिकारी वर्षात् सुरु हुनु अघि चैतदेखि जेठसम्म दैनिक ५० भन्दा बढी युवायुवतीले झरनाको अवलोकन गरेका बताउँछन् । सडकको नजिकै भए तापनि झरना जाने बाटो अप्ठ्यारो हुँदा गाउँपालिकाले चालु आर्थिक वर्षमा गोरेटो निर्माणका लागि बजेट समेत विनियोजन गरेको छ । यो झरनालाई पर्यटकीय गन्तव्य बनाउन बागमती प्रदेशका सांसद विशाल खड्काले बञ्जिजम्पसहितको संरचनाका लागि सहयोग गरेका छन् । यहाँ अब क्यानोनिङको लागि पहल भइरहेको अधिकारीले बताए ।
विगू गाउँपालिका– ४ भोर्लेमा रहेको झरना पनि अहिले आन्तरिक पर्यटकहरुको महत्वपूर्ण गन्तव्य बन्यो । सिंगटी–गोंगर सडक खण्डमा पर्ने झरना माथिबाट खसेर ठूलो हुँदा सडकभन्दा बाहिर तामाकोसी नदीसम्मै झर्छ । झरनालाई बाहिर पारेर गाडी ओहोरदोहोर गर्न सक्ने भएपछि लकडाउने फुर्सद भएकाहरु यो ठाउँ पुगेका हुन् ।
भीमेश्वर–४ जिलुमा रहेको वृन्दावन, टहलेश्वर मन्दिर लकडाउनमा नयाँ गन्तव्य बनेका वडाध्यक्ष हरिवंश चौलागाईँले बताए । नयाँ गन्तव्यमा पर्यटनको विकास हुनेमा उनी विश्वस्त छन् । टाढा जाने समय नभएको र यातायात समेत बन्द रहेको अवस्थामा नजिकका गन्तव्य पहिचान भए । भीमेश्वरले लकडाउनकै बीचमा चम्पुचा, मञ्जुश्रीपार्कको समेत थप सुधार गरेको छ ।
गौरीशंकरले पर्यटन प्रबद्र्धनकै लागि नयाँ पदमार्गको खोजी गरेको छ । चंखु, र सुरी हुँदै बुर्मुचे, बुकुनी हुँदै पाँचपोखरी जट्टापोखरीसम्म यही बेला भ्रमण नै गरेर पदमार्ग पहिचान गरेको छ । यसलाई थप विकास गरिने र पदमार्ग मर्मत गरी ठाउँठाउँमा बास बस्ने स्थल र पानीको व्यवस्थापन गर्ने अध्यक्ष सोयमबहादुर खड्काले बताए । गौरीशंकरले मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङ क्षेत्रको थप विकास गर्दै नयाँ पदमार्गको रुपमा खारे सोतली, मार्बू एलुङपास हुँदै च्छोरोल्पासम्म र हनुमन्ते, चेर्दुङको पदमार्ग विकासमा जोड दिन लागेको खड्काले बताए ।
शैलुङ गाउँपालिकाले सबैभन्दा महत्वपूर्ण गन्तव्य सय थम्का अर्थात् शैलुङलाई लिएको छ । दोलखाको शैलुङ र मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको संगम हो । यसको अधिकांश भू–भाग शैलुङ गाउँपालिकामा पर्ने भएकाले महत्वपूर्ण धार्मिक स्थललाई गन्तव्यको रुपमा विकास गर्न लागेको छ ।
लकडाउनकै बीचमा शैलुङ २० फिट अग्लो महादेवको मूर्ति समेत राखेको छ । शैलुङ आउने पर्यटकहरुका लागि खान बस्नका लागि सहज बनाउन होटल रिसोर्ट खोल्ने व्यवसायीहरुलाई गाउँपालिकाले नै घडेरी बनाएर उपलब्ध गराउने र केही रकम अनुदानको समेत घोषणा गरेको छ । शैलुङ नजिक कालापानीसम्म पुग्ने १२ महिना चल्ने कालोपत्रे सडक निर्माण भइरहेको बेला होटल लजको राम्रो व्यवस्था गर्न सके मनोरम दृश्यावलोकनका लागि शैलुङ दैनिक सयौं पर्यटक आउन सकने अध्यक्ष भरत दुलालले बताए ।
शैलुङ महाभारत श्रृंखलाको अग्लो डाँडा हो । यहाँ सयभन्दा बढी थुम्काहरु छन् । ३ हजार १ सय ३४ मिटरको उचाइमा रहेको यस डाँडाबाट सगरमाथादेखि अन्नपूर्ण हिमश्रृंखलासम्म र दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायतका ठाउँहरु देख्न सकिन्छ ।
शैलुङको विकास लागि मेलुङ गाउँपालिकाले पनि चासो देखाएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । योजना बनाउने सिलसिलामा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले लकडाउनकै बीचमा पटक पटक भ्रमण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्