नगदे बाली र पर्यटन व्यवसायमा आत्मनिर्भर बन्दै इलाम «

नगदे बाली र पर्यटन व्यवसायमा आत्मनिर्भर बन्दै इलाम

नेपालका ७७ वटै जिल्लाको छुट्टाछुट्टै किसिमको विशेषता रहेको छ । त्यसैले भनिन्छ, नेपाल एक विविधताले युक्त देश हो । यहाँका सबै जिल्लामा उत्पादन भएका खाद्यबाली, अन्नबाली र नगदे बालीको उचित व्यवस्थापन गर्न सकिएको खण्डमा सरकारले थालनी गरेको समृद्धिको यात्राले सफलता प्राप्त गर्न सकिन्थ्यो । मुख्यतः अन्नको राजधानी झापा, उखुको राजधानी रौतहट साथै चियाको राजधानी इलाम । सोमध्ये आज इलाम जिल्लाको आत्मनिर्भरताले सिकाएको एक उदाहरण र उत्पादन गरिएका वस्तु तथा सेवाको बजारीकरणमा देखिएका तत्कालीन र दीर्घकालीन चुनौती र समस्याबारेमा कुरा गर्न चाहन्छौं ।
विशेष गरी इलाम जिल्लाको प्रमुख नगदे बालीहरूमा आलु, अलैंची, अम्रिसो, ओलन, अर्थाेडक्स चिया, अकबरे, अदुवा, किबी र तरकारीहरू पर्छन् । भौगोलिक विकटता र खपत हुने बजार सानो भएका कारण विचौलियाले भने ती नगदे बालीहरूमा मनोमानी गरी किसानहरूलाई आजित बनाइरहेका छन् । इलाममा उत्पादन भएका ती उत्पादन खपतको बजार झापाका विभिन्न सहर मात्र हुन् । ती सहरमा मात्र कृषकहरूले उत्पादन गरेका उत्पादन खपत हुन नसक्दा नगदे बालीले उचित मूल्य पाइरहेका छैनन् । त्यसैले सम्बन्धित निकायले यस जिल्लामा उत्पादन हुने नगदे बालीहरूको उचित बजारीकरण गरी यस जिल्लामा उत्पादन भएका कृषि उपजहरूलाई उपयोग गर्नु आजको एक प्रमुख आवश्यकता रहेको छ ।
यस जिल्लामा नगदे बाली साथसाथै पर्यटन व्यवसायले पनि दिनप्रतिदिन फड्को मार्दै गइरहेको छ । हिउँदको समयमा कन्याम, श्रीअन्तु,, माईपोखरी, सन्दकपुर भई भारतको मिरिक, दार्जीलिङ र झिलसम्मको यात्रामा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति आजभोलि देखिन थालेको छ । जसले समग्र जिल्लाको आयस्रोत, रोजगारी र अन्य व्यापार व्यवसाय बढाउन सहयोग गरेको छ । वनभोज, चलचित्र सुटिङ, हरियाली चियाबारीको मनोरम दृश्य हेर्नका लागि कन्याम, झुल्केघामको मुस्कान हेर्न श्रीअन्तु, रामसार सूचीमा सूचीकृत माईपोखरी अनि हिमालको सुन्दर सुदृश्य र मनमोहक ठाउँ सन्दकपुरलाई पर्यटकीय गन्तव्यका ठाउँमा लिन थालिएको छ । कोरोना भाइरस हुनुपूर्व यस जिल्लामा भिजिट नेपाल–२०२० को व्यापक प्रचारप्रसारले गर्दा आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुन थालिसकेको थियो ।
आजभन्दा करिब १ सय ५७ वर्ष अघिबाट व्यावसायिक रूपमा सुरूवात भएको चियाखेतीले १ सय ५७ वर्षपछि आफ्नै ट्रेडमार्क प्राप्त गरेको छ । ट्रेडमार्क प्राप्त भएसँगै अब नेपालले नेपालकै आफ्नै ट्रेडमार्क प्रयोग गरिएको चिया भारत र अमेरिकामा निर्यात गर्ने बाटो खुला भएको छ । यसबाट समग्र इलाम जिल्लाले व्यावसायिक रूपमा चिया खेतीमा आत्मनिर्भरता भई निर्यातमुखी व्यावसायिक फड्कोसमेत मारेको छ । सरकार तथा सम्बन्धित निकायले चिया खेतीका बारेमा तत्कालीन तथा दीर्घकालीन किसानका समस्यालाई बेलैमा सम्बोधन गर्दै आवश्यक प्रभाकारी नीति तथा कार्यक्रमबाट व्यवसाय प्रवद्र्धनका लागि किसानहरूलाई प्रोत्साहन, सहुलियत कर्जा प्रवाह गर्दै यस खेतीमा लगाउनु आजको प्रमुख आवश्यकता रहेको छ ।
अन्त्यमा, समग्र देश नै केही न केही कृषि उत्पादनमा अब्बल रहेका छन् । तीमध्ये सरकारको प्रमुख प्राथमिकतालाई आधार मानी सरकारले निर्यातमुखी व्यवसायलाई आत्मसात् गर्दै आर्थिक समृद्धि हासिल गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । कृषि नै विकासको प्रमुख आधार हो, कृषि क्रान्तिबाट नै देश समृद्ध बन्न सक्छ, त्यसैले सम्भावना देखिएका जिल्लाहरूमा व्यावसायिक खेती गर्न सरकारले प्रभावकारी र प्रोत्साहन गर्न जरुरी देखिएको छ । व्यावसायिक खेती गर्न सकिएमा त्यस खेतीको अध्ययन र अनुसन्धान गर्नेको भीड लाग्न गई पर्यटन व्यवसायको समेत विकासमा टेवा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्