कर्णाली नदीको वैज्ञानिक अन्वेषण «

कर्णाली नदीको वैज्ञानिक अन्वेषण

काठमाडौं-नेपाल नदी संरक्षण संस्थाले कर्णाली नदीको उद्गमस्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थल सम्म ४४ दिन लगाएर पहिलोपटक वैज्ञानिक अन्वेषण कार्य सम्पन्न गरेको छ । अन्वेषण भदौ ३१ गतेदेखि कात्तिक १२ गतेसम्म भएको थियो । विभिन्न विधाका ७ वैज्ञानिक, ३ अनुसन्धान सहायक, एक वातावरण पत्रकार र एक वृत्तचित्र फोटोग्राफर गरी १२ जनाको टोलीले कर्णाली नदीको करिब १०५० किमि यात्रा पूरा गरेको थियो ।
विशेषगरी पैदलमार्ग साथै राफ्टिङ र आवश्यकताअनुसार तिब्बत र भारतमा गाडीको समेत प्रयोग गरिएको थियो । नेपालभित्र बहने कर्णाली नदी प्रणालीको विभिन्न तथ्यांक संकलन गरी यसको सामाजिक, साँस्कृतिक तथा पर्यावरणीय महत्वलाई उजागर गर्न र नीति निर्मातालाई योजना निर्माण गर्न सहयोग पुराउने उद्देश्यले अन्वेषण गरिएको हो । नेपाल नदी संरक्षण संस्थाले कर्णाली क्षेत्रको दिगो विकासका लागि बहस चलाउँदै तिब्बत हुँदै बगेर आउने सो क्षेत्रको एकमात्र कर्णाली नदीलाई ‘पवित्र नदी करिडोर’ को रूपमा स्थापित गर्न खोजिएको छ ।
अन्वेषण कार्यको शुरुवात चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश क्षेत्रको माब्चाखम्बाव नदी
(तिबेतियन भाषामा ‘मजुरको मुख’) बाट भएको हो, यो नदी हुम्ला जिल्लाको हिल्साबाट नेपाल प्रवेशसँगै हुम्ला कर्णाली नामले चिनिन्छ । मुख्य कर्णाली तथा विभिन्न सहायक नदी÷खोलामा भएका जैविक विविधता, पानीको गुणस्तर, नदी आसपासको भौगर्भिक अवस्था, नदी प्रणाली तथा जलाधार क्षेत्रको अवस्था साथै उक्त क्षेत्रका बासिन्दाको जीवनस्तर, संस्कृति, सामाजिक परिवर्तन तथा नदीसँगको अन्तरनिहित सम्बन्धहरूका बारेमा तथ्यांकहरू संकलन गरिएको थियो । अन्वेषणको क्रममा २८८ जना स्थानीय व्यक्ति तथा सरोकारवालासँग वातावरणीय परिवर्तन र प्रभाव, भौतिक संरचना तथा विकास, जलचरहरूको प्रजाति तथा अवस्थिति, विपद् जोखिम व्यवस्थापनलगायतका विषयमा अनुसन्धान टोलीका सदस्यले छलफल, अन्तरक्रिया तथा प्रत्यक्ष अन्तर्वार्तासमेत गरिएको थियो ।
नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले संकलन गरिएका तथ्यांकलाई कर्णाली प्रदेशमा आयोजना हुन लागेको विभिन्न विकासका गतिविधि तथा अन्य पर्यावरण संरक्षणका लागि आवश्यक निर्णय लिन सहयोग पुग्न सक्ने बताए । “कर्णाली नदी आफैमा एक जैविक प्रयोगशला हो, कर्णालीको संरक्षण गर्नु हाम्रो दायित्व हो,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्