कोभिडको त्रासमा सेयरबजारको आश

लकडाउनकै बीचमा पनि विभिन्न कम्पनीका सेयर निष्कासन र सूचीकरण भए भने बजारले एउटा गति लिन थाल्यो । लकडाउन अनौपचारिक रूपमा खुल्दै गयो भने सरकारमा अर्थमन्त्री परिवर्तन भयो । बजारमा कारोबारीहरूको सकृयता बढ्न थाल्यो, जसले बजार परिसूचक २०७७ मंसिर १७ गते हालसम्मको उच्च विन्दु २०७१.०२ र बजार पुँजीकरण २७.७५ खर्ब रूपैयाँ कायम हुन पुग्यो । दैनिक कारोबार समेत २०७७ मंसिर १४ मा उच्चतम ९.२२७ अर्ब रुपैयाँसम्म पुग्यो ।
कोभिड प्रभाव मुक्त हुँदै गएको अवस्थामा बजारको स्थायित्वसँगै थप उच्चतम विन्दु हासिल गर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
सन् २०२० विश्व जनजीवन र आर्थिक–सामाजिक पूर्णत कोभिडमय रह्यो । सुरुवाती चरणमा निकै त्रसित, आतंकित र निरास बनाएको कोभिडले वर्षको अन्ततिर आइपुग्दा बल्ल आशाको किरण देखाउँदै छ । खोपको विकास र कोभिडसँग जीउने मानवीय प्रयासस्वरूप परिवर्तित जीवनशैली र आर्थिक–सामाजिक गतिविधिले सम्भावनाको ढोका उघ्रिँदैछ । चीनको बुहानबाट विकासितमुलुक हुँदै नेपाल आइपुगेको कोभिड आतंकसँग जुध्न विश्वले डो-याएको लकडाउनको बाटोमा नेपाल पनि लुखुरलुखुर हिँड्न बाध्य भयो । नेपाल सरकारले २०७६ चैत ११ गतेबाट अत्यावश्यकबाहेकका सेवा र आवागमनसमेत ठप्प पा-यो भने अत्यावश्यक सेवा समेत नियन्त्रित रूपमा सञ्चालनमा ल्यायो ।
तर महामारीकाबीच निरन्तर सञ्चालित विश्व धितोपत्र बजारको विपरित सरकारी र नियामकीय निर्देशनसँगै २०७६ चैत ११ गतेबाटनेपाली पुँजीबजार भने बन्द भयो । स्वचालित र प्रविधिमा आधारित भनिएको पुँजीबजार बन्द हुँदा पक्ष र विपक्षमा कारोबार र लगानीकर्ताहरूको तर्क–वितर्क निकै भए । बजार खोल्ने प्रयासस्वरूप सर्किटको नियम नै परिमार्जन गरेर २०७७वैशाख ३० गते खुलेको बजार पुनः ३१ गतेबाट बन्द भयो ।तरल सम्पत्ति लामो समय बन्धकमा परेको र स्वचालित भनिएको बजार संचालनका कानुनी र व्यवहारिक समस्याहरू केलाउँदै समाधान निकाल्न लगानीकर्ता, बजार नियामक, सरकारी निकाय, बजार संचालक र दलालहरूबीच छलफलहरू भए । लकडाउन र अन्योलता कै बीच २०७७ असार १५ गतेबाट बजार नियमित कारोबारमा फर्कियो । कारोबारमा भौतिक उपस्थिति निरुत्साहित गर्दै क) अनलाइन कारोबारलाई प्राथमिकता, ख) विद्युतीय भुक्तानीमा सहजीकरण, ग) अनलाइनबाटै डिम्याट, कारोबार खाता र अनलाइन प्रणालीको युजर नेम र पासवर्ड लिने व्यवस्था गरियो भने अनलाइन कारोबार प्रणालीबाटै डिम्याटमा भएको सेयर जाँचको शुरुवात गरियो । कोभिडले अन्य क्षेत्रमा जस्तै नेपाली सेयरबजारलाई विद्युतीय प्रणालीमा हिँड्न बाध्य बनायो भने कतिपयलाई वैकल्पिक आयको सम्भावित क्षेत्रका रूपमा परिचय दियो । निराशा र आशंकालाई चिर्दै बजार परिसूचक र पुँजीकरणले सबैलाई उत्साहित र आशावादी बनाउँदै लग्यो ।
कोभिड र बजार
लकडाउन र नियन्त्रित आर्थिक गतिविधि बीच अर्थतन्त्र र आर्थिक वृद्धिदरमा उल्लेख्य संकुचन आउने अर्थविद्हरूको अनुमान रहेको छ भने अनौपचारिक तथ्यांकहरूले अर्थतन्त्रमा करिव २ खर्बको आर्थिक क्षति पुगेको बताइन्छ । यसका बावजुदसुरुवाति चरणको केहि नकारात्मक प्रभाव बाहेक सेयर बजार परिसूचक र कारोबार रकममा उल्लेख्य सुधार आएको छ । कतिपयले बजार बढेको भन्दा चलखेल, कर्नरिङ र सर्कुलर ट्रेडिङ गरी बढाइएको र यसले अर्थतन्त्रसँग तालमेल नराख्ने अस्वभाविक भन्दै स्थायित्वमा प्रश्न उठाए । नेपालको सन्दर्भमा जति नै अर्थतन्त्रको ऐना र ब्यारोमिटर भनेपनि नेप्से परिसूचक (इण्डेक्स) र पुँजीकरणले न समग्र धितोपत्र बजारको गहिराइ र फैलावट समेत नाप्न सक्छ, न अर्थतन्त्रसँगको बजार सम्बन्धलाई यथार्थपरक प्रस्तुत गर्न । बजार सरोकारवालाहरूबाटै शुद्धतामा बारम्बार प्रश्न उठाइएको परिसूचक र पुँजीकरणले बजारको यथार्थरूप मात्र होइन, अर्थतन्त्रसँगको सम्बन्धलाई पस्कन नसक्ने तितो यथार्थ पनि हाम्रो सामु रहेकै छ । अझ अर्थतन्त्र संकटका बावजुद बजारमा वृद्धिको सम्भावना नेपाली धितोपत्र बजारले स्वीकारेको छ । त्यसैले जुनसुकै कारण बजारको उतारचढाव भएपनि बजार सदैव सही हुन्छ (मार्केट इज अलवेज राइट) भन्ने मान्यता प्रचलित पनि छ ।
विश्वमा कोभिड फैलिंदै गर्दा नेपालमा त्यसको खास चर्चा र प्रभाव समेत थिएन भने सूचीकृत कम्पनीहरूको आव २०७६-७७ को दोस्रो त्रैमासिक वित्तिय अवस्थाको पूर्वानुमान र विवरण निस्कँदै थिए । २०७६ असार मसान्तको १२५९.०१ को बजार परिसूचक पुस मसान्तमा १२६३.३८ र बजार पुँजीकरण रु. १६.१ खर्बबाट बढेर २०७६ फागुन १८ मा १६६७.७४ (बन्द १६३९.८७) विन्दु पुगि बजार परिसूचक सरकार लकडाउनमा जानु अघिल्लो कारोबार दिन २०७६ चैत ९ मा घटेर १२५१.४५ मा ओर्लिएको र पुँजीकरण रु. १६ खर्ब कायम भयो ।
बैशाख मसान्तमा दुई दिन र केहि सुधार र प्रयास पछि लकडाउनकै बीच २०७७ असार १५ गते नियमित कारोबारका लागि खुलेको बजार पहिलो दिन नकारात्मक (नेगेटिभ) सर्किटपछि केही सम्हालिँदै दोस्रो र तेस्रो दिन सकारात्मक (पोजिटिभ) सर्किट तथा चौथो दिन नेगेटिभ सर्किटसँगै कारोबार रोकियो ।लामो समयपछि नियमित सर्किट र चार घण्टा (११ देखि ३ बजेसम्म) को कारोबार समयसहित खुलेको बजार करिब ४० मिनेटमै ४ प्रतिशतको नेगेटिभ सर्किटसँगै रोकिएको कारोबार खुलेर सम्हालिँदै पहिलो दिन परिसूचक १२.८७ अंकले झरेर ११८८.७० कायम हुँदा करिब ४८.५३ करोडको कारोबार भयो ।
असार १६ गते एक बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किट र ७२.०५ अंकको वृद्धिसँगै परिसूचक १२६०.७५ पुग्दा करिब २२.७२ करोडको मात्र धितोपत्र किनबेच र बजार बन्द भयो । असार १७ गते पनि १२.२४ बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किटसहित ७५.७७ अंकले बढेर परिसूचक १३३६.५२ पुग्दा ४०.७३ करोडको कारोबारसँगै बजार बन्द भयो । लगातारको सर्किटसँगै दुई दिनमा १४७ अंकले उक्लेको बजार चौथो दिन १२.४० बजेतिरै ६ प्रतिशतको नेगेटिभ सर्किटसहित ८०.४१ अंकको गिरावटसँगै १२५६.११ पुगेर ४७.६६ करोडको किनबेच हुँदा पूरै दिन कारोबार रोकियो । केहि दिनको उच्च उतारचढाव पछि भने बजारले विस्तारै लयमा फर्किएर आवको समाप्तिमा बजार परिसूचक १३६२.३४ र पुँजीकरण १७.९३ खर्बमा पुग्यो ।
लकडाउनकै बीचमा पनि विभिन्न कम्पनीका सेयर निष्कासन र सूचीकरण भए भने बजारले एउटा गति लिन थाल्यो । लकडाउन अनौपचारिक रूपमा खुल्दै गयो भने सरकारमा अर्थमन्त्री परिवर्तन भयो । बजारमा कारोबारीहरूको सकृयता बढ्न थाल्यो, जसले बजार परिसूचक २०७७ मंसिर १७ गते हालसम्मको उच्च विन्दु २०७१.०२ र बजार पुँजीकरण २७.७५ खर्ब रूपैयाँ कायम हुन पुग्यो । दैनिक कारोबार समेत २०७७ मंसिर १४ मा उच्चतम ९.२२७ अर्ब रुपैयाँसम्म पुग्यो ।
कोभिडबाट सूचीकृत कम्पनीहरूको व्यवसाय र मुनाफामा धेरैथोरै प्रभाव परेकै छ । होटल व्यवसाय अझै ४–५ वर्ष प्रभावित हुने तथ्य नै बाहिरिएको छ । बैंक तथा वित्तिय संस्थाहरूले राज्य र नियामकीय निर्देशनसँगै ब्याज छुट र कर्जा अनि ब्याज भुक्तानीमा थप समय दिँदाको थप प्रभावित भए । विमा व्यवसाय तुलनात्मकरूपमा कम प्रभावित देखिँदै गर्दा विद्युत उत्पादन भई ग्रिडमा जोडिएका जलविदुत आयोजना भने सामान्यत प्रभावित भएनन् । यसरी कोभिड संक्रमणको फैलावट, आर्थिक गतिविधिमा संकुचन र सूचीकृत कम्पनीहरूमा नकारात्मक प्रभावका बावजुद बजार परिसूचक र पुँजीकरण ५० प्रतिशत हाराहारी बढेको यथार्थ हो ।
२०७७ मंसिर २८ को बजार तथ्यांकले लकडाउनको अघिल्लो दिनभन्दाबजार परिसूचक ७५९ (६०.६५%) र पुँजीकरण १०.९५ खर्ब रूपैयाँ(६८.४४%) ले बढेको छ । उपसूचकगत रूपमा सबैभन्दा बढि व्यापार समूहको १५४.७० र अन्य समूहको १४६.६९ प्रतिशतले बढ्दा बैंकिग क्षेत्रऔसतमा ३७.९१, बीमा औसतमा ८४.१८, जलविदुत ८७.०२ प्रतिशतले बढेको छ ।
बजार वृद्धि र स्थायित्व
बजार सरोकारवालहरू समय–चक्र (मार्केट साइकल) अनुसार पनि नयाँ उचाइमा पुग्नेमा ढुक्क थिए, तर कोभिड र लकडाउनसँगै आर्थिक गतिविधि र बैंकिङ मुनाफामा प्रभावित हुँदा तत्काल बजार आक्रमक ढंगले अगाडि बढ्नेमा सशंकित थिए । यसैबीच अर्थमन्त्री परिवर्तनसँगै बजारमा अदृष्य रूपमा सकारात्मक माहौल देखिन र कारोबारीहरूको सक्रियता बढ्न थाल्यो । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले बजारमा सस्तो र सहज पैसाको उपलब्ध गराउनुका साथै केही बैंकले पूर्व कर्जा स्वीकृति गरेर खरिद पश्चात् धितो कायम गरे हुने व्यवस्था गरिदिए भने कतिपय व्यवहारिक समस्याको सहज समाधान समेत उपलब्ध गराए । बजेटको सेयर धितोकर्जामा मार्जिन १२० दिनको औसत वा प्रचलित मूल्यको ७० प्रतिशतसम्म उपलब्ध गराउन सकिने नीतिगत व्यवस्थाले पनि कर्जाको लागत र सहजता बनायो । कतिपय बैंक तथा वित्तिय संस्थासँगै अन्य संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्रमा लगानी तथा कारोबार बढाए । बजार वृद्धिमा अधिक तरलताको उल्लेख्य भूमिका रहँदै गर्दा रेमिट्यान्समा निरन्तरको वृद्धि, अन्य आर्थिक क्षेत्रमा अर्थोपाजन अवसरको कमीसँगै बेरोजगार÷अर्धबेरोजगार र फुर्सदिला व्यवसायीको धितोपत्र बजारमा प्रवेशले कारोबार बढाउन सघायो । प्रविधिगत पूर्वाधारमा सुधारसँगै भौतिक उपस्थिति विनै अनलाइन (कम्प्युटर, मोवाइल) बाटै बजारमा सहज पहुँच कायम गरी सेयर तथा रकमको कारोबार र राफसाफले पनि बजार र कारोबार बढायो । यो वा त्यो कारणसँगै कारोबारी र लगानीकर्ताको आशावादी र सकारात्मक मानसिकताले धितोपत्रको माग र मूल्यमा वृद्धिसँगै परिसूचक, कारोबार रकम र बजार पुँजीकरण बढ्यो ।
कारोबार समयमा किन्ने र बेच्नेको मानसिकता अनि मोलमोलाइबाट निर्धारित मूल्यसँगै कम्पनीको सेयरको मूल्य, बजार परिसूचक र पुँजीकरण परिवर्तन सुनिश्चित छ ।आस र त्रासले सहजै डो¥याउने बजार कारोबारीेको व्यवहार र मानसिकता, पैसाको उपलब्धता र लागत अनि नियामकीय भूमिकाले बजारको स्थायित्व र दिशा निर्देशित गर्नेछ ।
उच्चविन्दुबाट सामान्य करेक्सन हुँदै सामान्यीकरण तर्फ बढेको बजारसूचीकृत कम्पनीहरूको आगामी वित्तिय उपलब्धिबाट केहि प्रभावित भएता पनि ठूलो गिरावटको अपेक्षा कमै गरिएको छ । अर्थतन्त्रले सोचेजस्तो गति लिएर सूचीकृत कम्पनीहरूको व्यवसाय र मुनाफामा सुधार; बजारमा आवश्यक रकमको सस्तो र सहज उपलब्धता; नियामकीय सहयोग; कारोबार लागत (कमिसन, शुल्क) मा कमी; अनलाइन कारोबार प्रणालीमा थप सुधार, चुस्तता र सहजता भएको र अर्थतन्त्र अनि बजार समेत कोभिड प्रभाव मुक्त हुँदै गएको अवस्थामा बजारको स्थायित्वसँगै थप उच्चतम विन्दु हासिल गर्ने सम्भावना पनि उतिकै रहन्छ । जति नै सकारात्मक र उत्साहित हुँदा पनि सेयर बजार सबैभन्दा जोखिमपूर्ण र अनिश्चित भएकोमा भने सबैको ध्यान जानैपर्छ ।