पाइला पाइलामा ठगीँदै उपभोक्ता

सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउँदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाइला पाइलामा ठगीने गरेका छन् ।
व्यवसायीले हरेक क्षेत्रमा उपभोक्ता ठगीरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलपम्प, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी फुलफूल, अटोमोबाइल, यातायात, लत्ताकपडा, ड्राइभिङलगायतका अधिकांश क्षेत्रमा उपभोक्ता ठगीइरहेको पाइएको छ । नियमनकारी निकायबीच समन्वय नहुँदा ठगी गर्ने व्यवसायीलाई प्रोत्साहन मिलेको र बजार उपभोक्तामुखी भन्दा पनि व्यवसायीमुखी बन्दै गएको अधिकारकर्मीको आरोप छ ।
“नियमनकारी निकायबीच समन्वय नहुँदा बजारमा कालोबाजारी तथा ठगी मौलाउँदै गएको छ,” राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “क्षेत्रगत कानुन कार्यान्वयन नहुँदा कैफियत भेटिए पनि कारबाही नहुँदा उपभोक्ता ठगीइरहेका छन् ।” व्यवसायीसँगको मिलेमतोमा दोषीले कारबाही नपाइ उन्मुक्ति पाउँदा बजार व्यवस्थित बन्न नसकेको उनको भनाइ छ । “उपभोक्ता अधिकार सुरक्षित राख्न थुप्रै ऐननियम भए पनि कार्यान्वयन नहुँदा हरेक क्षेत्रमा व्यवसायीले उपभोक्ता ठगीरहेका छन्,” उनी थप्छन् । बजारमा सरकारको कमजोर उपस्थितिसँगै कर्मचारी र व्यवसायीको मिलेमतोले कानुनको उल्लंघन भइ बजार सुधार हुन नसकेको उनको भनाइ छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा अस्पतालमा ठगी गरेको भेटिए पनि कारवाही गर्ने निकाय मौन रहँदा उपभोक्ता ठग्ने अस्पताललाई कारवाही हुन सकेको छैन । सेवा शुल्कको नाममा चलेको अस्पतालले सर्वसाधारणसँग ठगी गरेको फेला परेको विभागको भनाइ छ । यस्तै, शिक्षा क्षेत्रमा स्कुलले तोकिएभन्दा मनपरी शूल्क लिइ उपभोक्ता ठगी गरिरहेका छन् । ९ लाख रूपैयाँ पर्ने मारुती गाडीलाई विभिन्न खर्च देखाएर १६ लाख रूपैयाँसम्ममा बिक्री गरेको अनुगमनका क्रममा फेला परेको छ । “हरेक क्षेत्रमा विकृति विकराल छ,” आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, “नियमनकारी निकायको कमजोरीका कारण व्यवसायीले उपभोक्ता ठगिरहेका छन् ।” सेवा शुल्कको नाममा ठूला अस्पतालले कानुनले तोकेभन्दा बढी रकम उपभोक्ताबाट असुल गरिरहेको पाइएको उनले बताए । यस्ता विकृति नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान नदिँदा उपभोक्ता मारमा परेको उनको भनाइ छ । सेवा शुल्ककको नाममा वार्षिक रूपमा अस्पतालले २ देखि अढाई अर्ब रूपैयाँ सर्वसाधारणबाट ठगी गरेको पाइएको उनको भनाइ छ ।
नियमनकारी निकायबीच समन्वय अभाव: विभाग
व्यवसायीसँग मिलेमतोको उपज : उपभोक्तावादी
२० प्रतिशतभन्दा बढी नाफा खाना नपाइने कानुनी व्यवस्था भए पनि व्यवसायीले दोब्बर÷तेव्बर मूल्य लिइ उपभोक्ता ठगिरहेका छन् । बजारमा नुनदेखि सुनसम्म उपभोक्ता ठगिइरहेको उनको भनाइ छ । सरकारले बजार अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । उपभोक्तासम्बन्धी थुप्रै ऐन नियम भएपनि कार्यान्वयनमा आउन नसक्दा बजार व्यवस्थित बन्न सकेको छैन । जसले गर्दा पनि उपभोक्ताहरू पाइलापाइलामा ठगिइरहेका छन् ।
विभागले पुल्चोकको अरुण इन्टरकन्टिनेन्टल टे«डर्सको मारुती, अग्नी इन्टरप्राइजेजको महिन्द्रा, अटम टे«डिङ प्रालि दरबारमार्गलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न प्रहरीमार्फत मुद्दा दायर गरेको छ । यस्तै, ठगी गर्ने अस्पतालमा बीएण्डबी अस्पताल, नेपाल इन्ष्टिच्युट अफ न्युरोलोजी एण्ड एलाइड साइन्सेज, इशान बाल तथा महिला अस्पताल, ग्रान्डी इन्टरनेशनल अस्पताल, बयोधा अस्पताल र नर्भिक इन्टरनेशल हस्पिटललाई कारबाहीका लागि प्रहरीले मुद्दा दायर गरिसकेको छ । विभागले चालू आर्थिक वर्षको पुस दोस्रो सातासम्म कारवाहीका लागि विभिन्न २६ वटा मुद्दा प्रहरीमार्फत दायर गरेको छ । यस अवधिमा विभागले ३ हजार २ सय ६७ वटा व्यावसायिक फर्ममाथि अनुगमन गरेको छ । ७४ व्यवसायीको व्यवसाय नै बन्द गरेको विभागले जानकारी दिएको छ । विभागले बजार अनुगमन गरे पनि प्रभावकारी ढंगले कारबाही नहुँदा बजार व्यवस्थित बन्न सकेको छैन ।