Logo

बगैंँचाबाटै सुन्तला बिक्री


दाङ-सल्यानी सुन्तला खरिद गर्नेका लागि व्यवसायीहरु बगैैँचामै पुग्ने गरेका छन् । सल्यानका सुन्तलाको बजार राम्रै हुन थालेपछि अहिले अधिकांश व्यापारी बगानमै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । व्यवसायीहरु बगैँचामै पुगेपछि कृषकलाई सुन्तला बिक्री गर्न बजार जानुपर्ने बाध्यता हटेको छ । सुन्तला खरिद गर्ने ब्यापारी नआउँदा कृषकहरु आफैंले बजारसम्म लगेर बिक्री गर्ने गरेको कृषकहरुको भनाइ छ ।
सल्यानी सुन्तला अहिले बगैंँचाबाटै ५० देखि ६० रुपैयाँसम्म बिक्री हुने गरेको सल्यानको बागचौर नगरपालिका–९ का कृषक प्रकाश डाँगीले बताए । सल्यानका सुन्तला दाङ, नेपालगञ्ज, बुटवल लगायतका बजामा पुग्ने गरेको छ ।
जिल्लामा उत्पादन भएको सुन्तला स्थानीय बजारहरु तुल्सीपुर, नारायणपुर, घोराही, लमहीलगायतका स्थानमा पनि पुग्ने गरेको छ । जिल्लामा यस वर्ष अघिल्लो वर्षको तुलनामा १ महिना ढिला मात्र सुन्तला पाकेको किसानहरु बताउँछन् । “अहिलेसम्म करिव ५० प्रतिशत सुन्तला तयार भएको छ ।” डाँगीले भने । अहिले सुन्तलाको बोट सुक्न थालेको उनले बताए । बोट पँहेलो भएर सुक्न थालेको छ । बोट मर्ने थालेपछि कृषकहरु चिन्तित भएका छन् ।
करिब ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका डाँगीलाई हरेक वर्ष मंसिरदेखि माघसम्म बिक्री गर्ने बताए । आम्दानीको मुख्य स्रोतको रूपमा रहेको सुन्तला खेती रहेको उनको भनाइ छ । “हाम्रो मुख्य उत्पादन नै सुन्तला हो ।” डाँगीले भने ।
कृषि विकास कार्यालय सल्यानका अनुसार अहिले जिल्लामा ७ सय ५० जना किसानले सुन्तला खेती गर्दै आएका छन् । हरेक किसानको एक सय बढी सुन्तलाका बोटहरू रहेको कृषि कार्यालयले जनाएको छ ।

करोडौंको सुन्तला निर्यात
गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै ११ हजार २ सय ७७ क्वीन्टल सुन्तला बिक्री भएको थियो । जसबाट ५ करोड ४० लाख रुपैयाँ आम्दानी भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए । “सल्यानमा पछिल्लो समय सुन्तला खेतीबाट करोडौँ भित्रिन थालेको छ” उनले भने, “सुन्तलाले बजार भाउ राम्रै पाउन थालेपछि किसानहरू पनि सुन्तला खेती तर्फ आकर्षित हुन थालेका छन् ।”
उनका अनुसार सल्यानको बागचौर नगरपालिका वडा नम्बर ८ र ९ मा मात्रै ३ सय ५० कृषक सुन्तला खेतीमा निर्भर रहेका छन् । कोटमौलामा मात्रै करिब ६० हजार सुन्तलाका बोटहरू रहेको सूचना अधिकारी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्