फेवातालमा मापदण्डविपरीत निर्माण हुँदै गरेका भौतिक संरचना महानगरले भत्कायो

पोखरा-फेवातालमा मापदण्डविपरीत निर्माण हुँदै गरेको भौतिक संरचना पोखरा महानगरले पुनः भत्काएको छ । पोखरा–१८ स्थित खपौदीमा फेवातालबाटै पर्खाल निर्माण गर्दै गरेको भौतिक संरचना शनिबार महानगरको एक टोलीले भत्काइएको केही घण्टामा रातरात पुनः संरचना बनाएसँंगै महानगरको टोलीले आइतबार पुनः संरचना भत्काएको हो ।
शनिबार जनप्रतिनिधि बिना उक्त भौतिक संरचना महानगरको एक टोलीले डोजर लगाएर भत्काए पनि आइतबार पुनः करिब ५ मिटर जति पर्खाल निर्माण गरी ढुंगा–गिटीसमेत झारेकोले पोखरा महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवी गुरुङ, पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापासहितको टोलीको उपस्थितिमा उक्त संरचना भत्काएको हो । कानुन मिच्नेहरू कानुनका भागिदार हुने मेयर जिसीले बताए । मेयर जिसीले मापदण्डविपरीत निर्माण भएका भौतिक संरचना क्रमशः भत्काउँदै जाने चेतावनी दिएका छन् ।
पोखरा महानगरको नगर प्रहरी, सरसफाइ विभाग, वडा प्रहरी कार्यालय बैदाम, पोखराको नागरिक समाजको समेत सहभागितामा फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण गर्दैै गरेको सूचनाको आधारमा महानगरले उक्त संरचना डोजर लगाएर पुनः भत्काएसंँगै निर्माण सामग्रीअन्तर्गत डुंगा , गिटी १६ टिपर जफत गरिएको महानगरका नगर प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले बताए । टोलीले एउटा डोजर, ३ वटा टिपरमार्फत बिहान करिब ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त निर्माण सामग्री उठाएको थियो ।
पहिलाको व्लू स्काई प्याराग्लाइडिङ अवतरण गर्ने स्थलमा हाल पानीको सतह घटेसँंगै दीपेश श्रेष्ठ, मनोज श्रेष्ठ, प्रवेश शाक्यसहितको टोलीले व्यावसायिक प्रयोजनका लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अवस्थामा महानगरले डोजर लगाएर भत्काएको हो । नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले पोखराका धेरै ठाँउमा सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी गरे । यस बिषयमा सम्बन्धित व्यक्तिलाई सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन् ।
फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले महानगरलाई नटेरी फेवातालनजिक भौतिक संरचना निर्माण भएको दाबी गरे । फेवाताल सीमांकनको काम हाल जारी रहेको उनले जनाए । मापदण्डविपरीत निर्माण भएका भौतिक संरचनाको विवरण पेस गर्न आफूहरूले सम्बन्धित वडामा खबर गरेको महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले बताए । मापदण्डविपरीत जो कसैले निर्माण गरेको भौतिक संरचना भेटिएमा महानगरले भत्काउने र सामानसमेत जफत गर्ने अधिकृत शर्माले बताए ।