इजरायलको रोजगारीमा निजी क्षेत्रको संलग्नता अस्वीकार्य «

इजरायलको रोजगारीमा निजी क्षेत्रको संलग्नता अस्वीकार्य


नेपालीको आर्कषक श्रम गन्तव्य इजरायलले रोजगारसम्बन्धी कुनै पनि प्रक्रियामा निजी क्षेत्रलाई संलग्न गराउन नहुने शर्त राखेको छ । विगतमा म्यानपावर व्यवसायीले विभिन्न गन्तव्यमा चर्को शुल्क लिने र हजारौं श्रमिकलाई अलपत्र पार्ने प्रवृत्ति देखिएको भन्दै इजरायलले निजी क्षेत्रको संलग्नता अस्वीकार गरेको हो ।
विगतको अनुभवका आधारमा इजरायलको रोजगारी प्रक्रियाको काम अब दुई देशका सरकारले नै गर्ने भएका छन् । सरकार नै सहभागी भएको कोरियामा रोजगारीको अनुभव राम्रो भएकाले इजरायलले पनि सोही मोडलमा कामदार लैजाने भएको बताइएको छ ।
असोज दोस्रो साता भएको नेपाल र इजरायलबीचको सम्झौतामा नेपाली श्रमिक पठाउँदा गरिने प्रक्रियामा निजी क्षेत्रको संलग्नता नहुने उल्लेख छ । सो सम्झौताअनुसार हाल १ लाख २५ हजार रुपैयाँभन्दा बढी मासिक कमाइ हुने इजरायलको रोजगारी छनोट प्रक्रियामा दुई मुलुकका सरकारको मात्र संलग्नता हुने छ । नेपाली श्रमिकलाई रोजगारीमा इजरायल पठाउने प्रक्रियाका लागि हाल २ देशबीच भएको सम्झौता र प्रोटोकलमा आधारमा कार्यविधिको मस्यौदा बनाइएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक टीकाराम नेउपानेले सम्झौता र प्रोटोकलका आधारमा रहेर बनेको कार्यविधि ढिलोमा दुई हप्ताभित्र स्वीकृत हुने जानकारी दिए । आवश्यक भए विभागले श्रमिक छनोट समिति बनाएर आवेदन आह्वान, छनोट र भर्ना प्रक्रियाका लागि श्रम गन्तव्यलाई सहजीकरण गर्नेछ । नेपाली श्रमिकको भिसा र अन्य आवश्यक प्रक्रियाको काम इजरायलको पपुलेसन इमिग्रेसन एन्ड बोर्डर अथोरिटी (पीबा)ले गर्ने छ ।
पछिल्लो समय म्यानपावरले बढी तलब सुविधा हुने श्रम गन्तव्यमा श्रमिक छनोट गर्दा ठगी गरेपछि आर्कषक श्रम गन्तव्यहरूले जीटूजी अवधारणा लागू गर्दै गएका छन् । यसअघि सन् २००८ मा कोरिया सरकारले विदेशी श्रमिक छनोट गर्ने प्रक्रिया जीटूजीका माध्यमबाट गरेको थियो । श्रमिक छनोट प्रक्रियामा नेपाल सरकारको संलग्नताको आलोचना हँुदै आए पनि हजारौ श्रमिक न्यून शूल्कमा विदेश जान पाएका छन् । एक दशकअघि कोरियाको रोजगारीमा म्यानपावर कम्पनीले चर्को शुल्क लिएपछि तत्काल सञ्चालनमा रहेका मुनड्रप्स ओभरसिज र लुम्बिनी म्यानपावरलाई कारबाही गरी जीटूजी माध्यमबाट नै पठाउन थालेको थियो ।
सन् २०१५ मा नेपाल र इजरायलबीच नेपालबाट केयरगिभर लैजानेसम्बन्धी पाइलट कार्यक्रममा हस्ताक्षर भइ नेपाली केयरगिभर रोजगारीका लागि इजरायल जाने गरेकोमा विगत केही समयदेखि सो प्रक्रिया रोकिएको थियो । हालै इजरायली सरकारले सरकारी संरचना (जीटूजी) मार्फत वृद्ध एवं अशक्त इजरायली नागरिकहरूको हेरचाहका लागि नेपालबाट केयरभिगर लैजाने गरी निर्णय गरेकोले केही दिनभित्र नेपाली युवा रोजगारीका इजरायल जान पाउने छन् । यसका लागि नेपालबाट पहिलो चरण पाँच सय जनालाई केयरगिभरमा लैजाने प्रक्रिया सुरु गरिएको छ । इजरायल सरकारले नेपालबाट ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने गरी २ हजार ५०० युवालाई रोजगारी दिने जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले नेपाली श्रमिक पठाउने सम्बन्धमा असोजमा नै सम्झौता गरिसकेका कारण सोका आधारमा बनाइने कार्यविधिका लागि केही दिनभित्र विभागका महानिर्देशक र इजरायलका प्रतिनिधिबीच हस्ताक्षर हुनेछ । विभागले दुई देशबीच भएको श्रम सम्झौता र प्रोटोकलका विषयवस्तुलाई आधार बनाएर तयार गरेको कार्यविधि केही दिनभित्रै मन्त्रालयले स्वीकृत गर्ने जनाइएको छ ।
कार्यविधिको मस्यौदामा एसईई वा सो सरह पास गरेका आवेदकले १५ महिनाको र प्लस टु पास गरेकाले ३ महिनाको केयरगिभर तालिम अनिवार्य लिएको २५ देखि ४५ वर्षको उमेर हुनुपर्ने उल्लेख छ । यसरी छनोट भएर इजरायल गएका नेपालीले वृद्धाश्रममा स्याहारसुसारको काम गर्नुपर्ने हुन्छ । पहिलो चरणमा पाँच सय नेपाली केयरगिभरमा इजरायल गएपछि कृषि, उद्योग, सुरक्षा गार्ड लगायतका क्षेत्रमा समेत नेपाली पठाउने बिषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्