देउवा हट्नु समाधान होइन

विश्वप्रकाश शर्मा
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
नेपाली राजनीतिमा अक्सर जित्नेहरूकै बढी चर्चा हुन्छ । अहिलेको ‘पावर पोल्टिक्स’मा जित्नेहरू नै शक्तिमा हुने हुँदा त्यो स्वाभाविक मानिएला । तर, अपवाद बन्ने गर्छन्, नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा । लगातार दुईवटा संसदीय निर्वाचन (संविधानसभा र प्रतिनिधिसभा) मा पराजय बेहोर्दा पनि शर्माको चमकमा कमी आएको छैन । लोकतन्त्रमा कोही पराजित नहुने दाबा गर्ने उनी जित्नेलाई विजेता र आफूलाई उपविजेताका रूपमा प्रस्तुत गर्छन् । लोकतान्त्रिक आचरण हराउँदै गएको चर्चाका बीच विजेतालाई माला पहिराईदिएर शुभकामना दिएका उनलाई यसपटक धेरै उपविजेताले सिकोसमेत गरे । अहिले उनी ‘हामी बदलिन्छौं, बदल्छौं कांग्रेस’ अभियानका साथ जिल्ला दौडाहामा छन् । सोही अभियानका क्रममा धादिङबेशीमा रहेका शर्मासँग कारोबारकर्मी जगन्नाथ दुलालले कांग्रेसभित्र भइरहेको नेतृत्व परिवर्तनको बहस, नयाँ सरकार गठनका अड्चन र देशको आगामी दिनका बारेमा केन्द्रित रही गरेको कुराकानीको सार:
तपाईंलगायत सात जना केन्द्रीय सदस्यले विज्ञप्ति जारी गरेर महासमिति बैठकको माग गर्नुभएको छ । विज्ञप्तिमार्फत दिन खोज्नुभएको सन्देश के हो ?
पार्टीका सात जना केन्द्रीय सदस्यले विज्ञप्ति जारी गरेको मिति म भन्छु— पुस १६ गते । त्यो मितिभन्दा ४१ वर्षअगाडि ०३३ साल पुस १६ गते बीपी कोइराला ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को अपिल गर्दै नेपाल आउनुभएको थियो । त्यसबेला बीपीले आफ्नो सन्देशमा भन्नुभएको थियो— हरेक राष्ट्रको जीवनमा यस्ता क्षण आउँछन् जुन बेला विगतका अप्रिय विवाद, तीता–नमीठा कुरा, सानातिना मतभेद सबैलाई बिर्सिएर राष्ट्रिय एकताको सूत्रमा बाँधिनुपर्छ । हामीले पुस १६ मै किन विज्ञप्ति जारी गर्यो त भन्दा पहिलो कारण, अहिलेको सन्दर्भमा पनि नेपाली कांग्रेसले राष्ट्रिय एकताका लागि पहल गर्नुपर्ने त छँदै छ, तर आफैँभित्रको मेलमिलापका लागि बढीभन्दा बढी जोड दिन जरुरी छ । दोस्रो, हामी सात जना नेपाली कांग्रेसभित्र चर्चामा, बजारमा आएजस्तो वा यथार्थमा भनिएजस्तो फरक–फरक समूहसँग नजिक पनि छौं । फरक–फरक ठाउँमा रहेर पनि एउटा मत राख्ने दृष्टिकोण भनेको मेलमिलापका लागि सकारात्मक पहल हो । तेस्रो कुरा, विज्ञप्ति जारी गर्नुअघि कसले के भन्दै हुनुहुन्थ्यो ? विज्ञप्ति आउँदै गर्दा हामी कहाँ पुग्यौं ? यो महŒवपूर्ण कुरा छ । विज्ञप्तिमा ती साथीहरूले पनि हस्ताक्षर गर्नुभएको छ, जो विज्ञप्ति आउनुअघि पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीभित्रै विशेष महाधिवेशनले समाधान हुन्न । यसले द्वन्द्व बढाएर जान सक्छ । त्यसकारण विशेष महाधिवेशन होइन, महासमितिको बैठक बोलाउनुपर्छ । विशेष महाधिवेशन भन्दै गरेका साथीहरू पनि त्यसलाई छोडेर महासमिति बैठकमा आइपुग्नुभयो । महासमिति बैठकमा जाने प्रक्रिया पार्टीको केन्द्रीय कार्यसमितिको बैठक हो । केन्द्रीय समितिको बैठक बस्नुपर्छ अनि त्यो बैठकबाट आजको सन्दर्भमा देखिएका समस्याको डाइग्नोसिस गर्नुपर्छ । त्यसपछि के उपचार गर्ने भन्ने कार्यान्वयनका लागि जानुपर्छ ।
तपाईंहरूको विज्ञप्तिलाई कांग्रेसमा पुराना पुस्ताको औचित्य सकिएको भन्दै नयाँ पुस्ताले दिएको चुनौतीका रूपमा बुझ्न सकिन्छ ?
विज्ञप्ति आउनुभन्दा एक दिनअघि मात्र साथीहरूले बोल्दै गर्दा ७० वर्ष नाघेकाहरूले राजनीति छोड्नुपर्छ । केन्द्रमा होस् वा वडातहसम्म ७० कटेकाले कांग्रेस पार्टीको नेतृत्व छोड्नुपर्छ भन्दै हुनुहुन्थ्यो । तर, मेरो कुरा के छ र रहनेछ भने राजनीति ‘एज’ले होइन, एजेन्डाले हुन्छ । पुस्ताले होइन, प्रवृत्तिले हुन्छ । राजनीतिमा कोही बेलामा ८६ वर्षका गिरिजाप्रसाद कोइरालाले ५६ वर्षका पुष्पकमल दाहाल प्रचण्डलाई पछि लगाउन सक्नुहुन्छ । कुनै बेला त्यही राजनीतिमा ४७ वर्षका बाराक ओबामाले ६५ वर्षको जो मक्केनलाई हराउन सक्छन् । त्यसकारण त्यो विज्ञप्तिमा ७० कटेकाले छोडिहाल्नुपर्छ भन्ने पनि आएन । मेरो ठहर के छ भने कसैको कपाल फुल्दैमा ऊ राजनीतिमा, समाजमा, पारिवारिक जिम्मेवारीमा, प्रशासनिक क्षेत्रमा, साहित्यमा, संगीतमा, कलामा अयोग्य हुँदैन । कपाल फुल्दैमा कोही अयोग्य र कपाल कालो छ भन्दैमा ऊ योग्य हुने भन्ने हुँदैन । त्यसैले त्यो विज्ञप्ति आउँदै गर्दा फरक–फरक कुरा गरिरहनुभएका साथीहरू एउटै सारमा आइपुग्नुभएको छ । आवेगमुक्त भएर ठण्डा दिमागले कांग्रेसलाई रूपान्तरण गर्ने गरी अभियानअगाडि बढाउनुपर्छ भन्ने कुरामा सबै आइपुगेका छौं । त्यसले गर्दा पार्टी नेतृत्वबाट भएका राम्रो कामको पनि स्मरण गरेका छौं । सँगैमा जे कमजोरी भएको छ त्यसका बारेमा हाम्रो भनाइ जे कमजोरी भएको छ, त्यसमा गम्भीर समीक्षा होस् भन्ने छ । कमजोरी भएका विषयलाई केन्द्रीय समितिमा लगेर छलफल गरेर उचित ढंगले समाधान खोज्ने गरी अगाडि बढ्नुपर्छ भनेर हामीले जिम्मेवारीपूर्वक भनेका छौं । त्यसकारण विज्ञप्ति पूरै पढ्नेले यो विज्ञप्ति जिम्मेवार ढंगले, सोचेर लेखिएको पाउनेछ । हामी सात जनाको विज्ञप्तिमा त्यो पनि उल्लेख छ । हाम्रो पार्टी सभापति एवं प्रधानमन्त्री त्यसका लागि बधाईको हकदार हुनुहुन्छ भनेर हामीले भनेका छौं ।
कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जस्तो पराजय बेहो¥यो, यसले शीर्ष नेताहरू उमेरले मात्र होइन अब पार्टी अगाडि बढाउन नेतृत्व क्षमताका हिसाबले पनि असक्षम रहेको पुष्टि गर्दैन र ?
मेरो बुझाइमा नेतृत्वलाई मात्र दोष लगाएर उम्किन मिल्दैन । पाका नेताहरूले नेतृत्व गरेका कारण यो अवस्थामा पुग्यौं भन्यौं भने त्ये भ्रम हुन्छ । नेपाली कांग्रेसको ७५ जिल्लामध्ये नामै उल्लेख गरेर भन्दै गर्दा चितवन जिल्ला सम्झन्छु । जहाँ जो सभापति हुनुहुन्छ एकदमै युवा हुनुहुन्छ । केन्द्र र प्रदेशमा उम्मेदवार हुनुभएका अधिकांश साथी युवा हुनुहन्थ्यो । तर, परिणाम किन अनुकूल आएन ? युवा भनेर मात्र नहुने रहेछ । युवाको जाँगरलाई पनि र पाकाको अनुभवलाई पनि फ्युजन गरेर कांग्रेस अगाडि जाने हो । त्यसकारण नेतृत्वलाई, नेतृत्व पुगेको उमेरलाई दोष लगाउने कुराले मात्र हामी समाधानमा पुग्दैनौं ।
एकातिर तपार्इं विज्ञप्तिमार्फत शीर्ष नेतृत्वलाई महासमिति बैठक माग गर्नुहुन्छ । अर्कातिर ‘हामी बदलिन्छौं, बदल्छौं कांग्रेस’ भन्दै जिल्ला दौडमा पनि हुनुहुन्छ । यसमा केही तादात्म्यता छ ?
अब नेपाली कांग्रेस पार्टीभित्र फरक–फरक ठाउँमा उभिएर फरक–फरक कुरा बोलिरहँदा जति उचित हो, त्यो भन्दा फरक–फरक विचार समूहमा रहेका भनिएका युवाहरू एकै ठाउँमा उभिएर साझा कुरा बोल्नु त राम्रो हो नि ! हामीले विज्ञप्तिमा प्रतिकूल राजनीतिक अवस्थाको बीचमा पनि निर्वाचन सम्पन्न गराउने कर्तव्य कांग्रेसको नेतृत्वले सम्पादन गरेको छ, त्यसको सराहना पनि गरिएको छ । राष्ट्रव्यापी रूपमा जहाँ–जहाँ साथीहरूको बीचमा निराशा छ त्यसमा आत्मविश्वास भर्ने कुरामा मेरो सक्रियता हो । मैले कार्यकर्ताका बीचमा स्वावलम्बी बन्ने, पार्टीलाई स्वावलम्बी बनाउने, राजनीतिलाई स्वावलम्बी बनाउने र राष्ट्रलाई स्वावलम्बी बनाउने साथै तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि भन्ने कुरा व्यवहारमा लागू गर्नुपर्छ । यो कुरा मैले पहिलेदेखि भन्दै आएको छु । कांग्रेसको सन्दर्भमा गर्नुपर्ने थुप्रै संरचनागत काम छन् । मनोवैज्ञानिक काम छन् । यी काम गर्दै नवीन कांग्रेस बनाउनुपर्छ । उमेरको तन्नेरी र प्रौढभन्दा पनि विचार र गतिले पार्टी सशक्त बन्ने हो । त्यसले मात्र पार्टी युवा हुन्छ । कांग्रेसलाई तन्नेरी बनाउने अठोटका साथ अघि बढेको छु ।
एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न कांग्रेसले अर्घेल्याइ“ गरेको आरोप लगाइरहेको छ । के साँच्चै कांग्रेस सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न नचाहनुभएको हो ?
अहिले देउवाले छोड्नुपर्छ भन्दै गरेकाहरूले के बिर्सिरहेका छन् भने, देउवाले छोड्नुपर्ने होइन, निर्वाचनको एउटा प्रक्रिया सकिसकेपछि नयाँ प्रधानमन्त्री आउने हो । तर, देउवाले त कम्तीमा देशव्यापी रूपमा कांग्रेस हार्दैछ भन्ने थाहा हुँदाहुँदै पनि निर्वाचन सम्पन्न गराउने दायित्व पुरा गर्नुभयो । त्यत्रो आगो लागेको मधेस, त्यत्रो मानिस मारिएको मधेस, कमरेड केपी ओलीले गएर सभामा बोल्दै गर्दा पनि चार जना मानिस मारिएको मधेसमा एक गोली खर्च नगरी, कसैको रगत नबगी निर्वाचन सम्पन्न हुने अवस्था त शेरबहादुर देउवाकै नेतृत्वकालमा भयो नि । त्यसका लागि उहाँलाई बधाई दिनुपर्छ ।
शेरबहादुर देउवालाई थाहै थियो, एमाले र माओवादी गठबन्धन गरेर आउँदा हार्छौं भन्ने । हार्दैछौं भन्ने थाहा हुँदाहुँदै चुनाव गराएको प्रधानमन्त्रीले चुनावपछि सरकार नछोड्लान् भन्ने परिकल्पना गर्नु गलत हो । यदि प्रधानमन्त्रीले चुपचाप राजीनामा दिएर बूढानीलकण्ठ गएर सुतेको भए पनि कमरेड ओलीले भन्नुहुन्थ्यो, होइन कस्ता–कस्ता प्रधानमन्त्री देख्नुपर्ने ? चुनाव हारेपछि गएर चुप लागेर सुतिदिने ? संवैधानिक तथा राजनीतिक उल्झनहरू सफा गर्नु नपर्ने ? त्यसैले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भनेको राजीनामा दिएर गएर सुत्नु थिएन । मार्गप्रशस्त गर्नु भनेको संवैधानिक र यो उल्झनलाई हटाउनु हो ।
कांग्रेसमा आशा गरिएका तर फरक–फरक कित्तामा रहेका सात युवाले एउटै विज्ञप्तिमा हस्ताक्षर गरेको विषयलाई कतिपयले आउँदो महाधिवेशनमा पार्टीमा हस्तक्षेप गर्ने तयारीका रूपमा पनि अथ्र्याएका छन् । अहिलेको विशेष परिस्थितिमा मात्र तपाईंहरू एक ठाउँमा उभिनुभएको हो वा कतिपयले अपेक्षा गरेजस्तो यो सहकार्य महाधिवेशनसम्मै रहन्छ ?
भूकम्पबाट घर ढल्यो भने घरमा इँटा कति प्रयोग भएको थियो । सिमेन्ट कति कमसल थियो । बालुवा कसरी धेरै प्रयोग भयो । पानी किन कम हालियो । मिस्त्री किन राम्रो भएन भन्ने छलफल तत्काल भयो भने उद्धारको कर्म छुट्छ । भूकम्पले घर ढलेपछि सबैभन्दा पहिले घर किन कमजोर भयो भन्ने बहसमा जानेभन्दा घरमा थिचिएको मान्छेलाई अस्पताल लैजानुपर्छ । अथवा कोही थिचिएका छैनन्, घाइते छैनन् भने भरे बस्ने टहरा, खाने चामलको व्यवस्था गर्नुप¥यो । नेपाली कांग्रेसले एक अर्को वैशाख १२ बेहोरेको छ । एक अर्को भूकम्प बेहोरेको छ । नेपाली कांग्रेसलाई राष्ट्रव्यापी रूपमा अहिले मनोवैज्ञानिक रूपमा उद्धारको घडीमा छौं हामी । हामी बदलिन्छौं, कांग्रेसलाई बदल्छौं भनेर सार्वजनिक रूपमा एकै ठाउँमा उभिएर अपिल गर्छन् भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ । नेपाल विद्यार्थी संघको सभापति, महामन्त्री भइसकेका पछिल्लो पुस्ताका तर केन्द्रीय कार्यसमितिमा रहेका साथीहरू एक ठाउँ उभिएका छौं । कतिपय साथी तत्काल सम्पर्क हुनुभएन । छलफल हुन पाएन । तर, त्यो विज्ञप्तिको भावनामा सहमत हुने साथीहरू धेरै हुनुहुन्छ । त्यसको अर्थ हामी पाँच–सात जना एकै ठाउँमा उभिएर त्यहाँबाट सभापति, महामन्त्रीको उम्मेदवारी दिँदै छौं भन्ने होइन । म हस्तक्षेप गर्ने भन्ने शब्दसँग सहमत छैन । एउटा निर्वाचन हुँदै गर्दा चाहे संसदीय होस् वा पार्टीभित्रको निर्वाचन हुँदा कसैले कसैलाई हस्तक्षेप गरिरहेको हुँदैन । उसले आफूलाई अगाडि प्रस्तुत गरिरहेको हुन्छ । त्यसकारण अहिले हामीले जारी गरेको विज्ञप्तिले देशभरि रहेका कांग्रेस कार्यकर्ताहरू, युवाहरूमा एउटा ढाडस होस् भन्ने सोचेको हो । त्यसमा पार्टीको प्रतिरक्षा गरिएको छ । नेतृत्वको पनि प्रतिरक्षा गरिएको छ । कमजोरीलाई खोजेर अघि बढ्छौं भन्ने धारणा राखिएको छ । हामी बदलिन्छौं र बदल्छौं कांग्रेस भनिएको छ । त्यसको मतलब हामी कोही अमूक व्यक्तिले कुनै पदमा नेतृत्व लिन्छौं भनिनु, बोलिनु, गाँसिनु अर्थहीन छ ।
वाम गठबन्धनले नयाँ सरकार बनाउन पुग्ने सामथ्र्यसहितको जनमत पाएका छन् । कांग्रेसका महामन्त्री शशांक कोइरालाले सार्वजनिक रूपमा वाम गठबन्धन भत्काउन लागेका छौं भन्नुभएको छ । के साँच्चै कांग्रेस वाम गठबन्धन भत्काउने खेलमा लागेको हो ?
यसमा दुईवटा अभिमत छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्भवतः प्रधानमन्त्री बन्दै हुनुहुन्छ । शुभकामना छ । तर, नेकपा एमालेलाई एकल सरकार बनाउने गरी त मतदाताले अभिमत दिएका छैनन् । त्यसकारणले गर्दा केपी ओली नै किन प्रधानमन्त्री बन्नुप¥यो त ? भन्ने धारणा पनि आएका छन् । कमरेड प्रचण्डले आकांक्षा राख्नुहुन्छ भने त विगतमा पनि तेस्रो दलबाट प्रधानमन्त्री भएकै हो । त्यसकारण तेस्रो दललाई नै दिऊँ न त भनेर कांग्रेसभित्र कसैले सोच्यो होला । अथवा राजनीतिमा चर्चा–परिचर्चा भयो होला । त्यो बिल्कुल अनौठो होइन । तर, मेरो बुझाइमा के हो भने अहिले एमाले र माओवादी गठबन्धन बनेर गइसकेपछि हामीले हारेका हौं वा नहौंला, तर उनीहरूले जितेका हुन् । कांग्रेस हारेको त होइन तर उनीहरूले जितेका हुन् । दुईवटा दक्खल गाँसेर आउँदा जितेको जुन चित्र छ त्यसलाई हार्दिक ढंगले स्वीकार गर्नुपर्छ । त्यसकारण नेपाली कांग्रेस पार्टी र माओवादी पार्टीका बीचमा अथवा एमालेभित्रै कमरेड केपी ओलीलाई रोक्ने कुराका सन्दर्भका कुनै खेल भइरहेका छैनन् भनेर म दाबा गर्दिनँ । तर, हुनुपर्छ के त्यो म भन्छु । वामलाई सरकार बनाउने म्यान्डेट र हामीलाई संगठन बनाउने म्यान्डेट मतदाताले दिनुभएको छ भन्ने लाग्छ । त्यसकारण कांग्रेसको महामन्त्रीले यदि गठबन्धन भत्काउँछौं भन्ने हिसाबले बोल्नुभयो भन्ने जुन कुरा बाहिर आएको छ, त्यो मलाई पत्यार लाग्दैन । उहाँ त्यसरी बोल्ने मानिस हो भन्ने लाग्दैन ।
प्रदेश केन्द्रको विषयलाई लिएर अहिले केही प्रदेशमा आन्दोलन चलिरहेको छ । पहिलो पटक देशमा प्रदेश सरकार बन्दै छन् । आगामी दिनहरू कस्तो देख्नुहुन्छ ?
अबको नेतृत्वमा धेरै भर पर्छ । एक्लै अगाडि बढ्ने मानसिकतालाई दम होइन, ‘दम्भ’ भन्छन् । अहिले केपी ओलीले सबैलाई गाँसेर अघि जाने दम देखाउनुहुन्छ वा एक्लै बढ्ने दम्भ देखाउनुहुन्छ त्यसैमा नेपालको अबको राजनीति निर्भर गर्छ । सुरुवाती संकेतहरू राम्रो देखिएका छैनन् । जस्तो केपी ओली जान्नुहुन्छ, एकल संक्रमणीय प्रक्रिया संविधानमा शब्दमा नलेखिए पनि बहुमतीय या सहमतीय समानुपातिक भनेपछि समानुपातिकको एउटा हिस्सा भन्ने उहाँलाई थाहा थियो । उहाँलाई थाहा नभए अरूले थाहा दिनुपथ्र्यो । उहाँले के सोचाइ बनाउनुपथ्र्यो भने एकल संक्रमणीय प्रक्रियामा जाँदै गर्दा राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि आउँछ । तर, उहाँले त्यो राष्ट्रिय सभाको परिकल्पना यसरी गर्नुभयो कि जहाँ प्रतिपक्ष नै नहोस् । उहाँले एकल संक्रमणीयमा नजाऔं भन्नु भनेको विपक्षरहित राष्ट्रिय सभा बन्नु हो । त्यसको संकेत के हो ? भोलि बन्न लागेका प्रधानमन्त्रीले विपक्षरहित राष्ट्रिय सभा परिकल्पना गर्दै हुनुहुन्थ्यो भने उहाँ कुन मनोविज्ञानले जान चाहँदै हुनुहुन्थ्यो ? त्यो संकेत के हो ? राष्ट्रपतिलाई धारा ६६ ले भन्छ, राष्ट्रपतिले अधिकारको पालना, कर्तव्यको पालना गर्दै गर्दा मन्त्रिपरिषद्को सल्लाह र सम्मतिमा हुनेछ । राष्ट्रपतिलाई त्यस्तो सल्लाह र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ । धारा ६६ ले त्यो भन्दाभन्दै, राष्ट्रपतिलाई अध्यादेश अस्विकार गर्ने अधिकार छैन भन्ने थाहा हुँदाहुँदै एमालेले यो अध्यादेश जारी गर्नु हुँदैन भन्यो । कमरेड ओलीले बोल्नुभएको कुराको संकेत के हो ? राष्ट्रिय सभा गठन नभईकन महिलाको उपस्थितिको संख्या प्रस्ट हुँदैन । तर, उहाँहरू समानुपातिकको नतिजा निर्वाचन आयोग किन निकाल्दैन भन्दै हुनुहुन्छ । संविधानको धारा ८४ को ८ किन उहाँले बिर्सनुभयो ?
एमाले ठूलो पार्टी भएर आइसकेपछि संविधानमा भएको व्यवस्था विपरीत चल्न दबाब सिर्जना गर्यो । दम्भ प्रस्तुत ग¥यो भन्ने यहाँको आरोप हो ?
म आदरपूर्वक कमरेड केपी ओलीलाई भन्छु, प्रदेशका प्रमुखहरू शेरबहादुर देउवाजीले तोक्ने हो भने उहाँले तोकेकाबाट शपथ लिन्न किन भन्नुभयो ? डडेल्धुराको असिग्राम गाउँको रुवाखोला किनारको कुनै व्यक्ति शेरबहादुर देउवा नभएर अहिले उहाँ नेपालको प्रधानमन्त्री हुनुहुन्छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनले के भन्छ भने प्रदेशसभा निर्वाचनको परिणाम आएको सात दिनभित्र निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष परिणाम बुझाउँछ । प्रदेश प्रमुखले निर्वाचन आयोगको परिणाम प्राप्त भएको २० दिनभित्र प्रदेशसभाको आह्वान गरिसक्छ । ३५ दिनभित्र नयाँ मुख्यमन्त्री चयन भइसक्छ । भनेपछि त्यो प्रदेश सभाको प्रमुख नै नभइसके पनि त्यो प्रदेशको परिणाम उहाँले कसलाई बुझाउन खोज्नुभएको थियो ? त्यसैले मैले भनेँ, देउवाले तोकेकोमा शपथ खान्न भन्ने ? कुन प्रकारको दम्भ हो यो ? त्यसो भए कसले तोकेकोमा शपथ खाने त ? बरमझियाको पेडा पसलमा गएर शपथग्रहण गर्न मिल्दैन । त्यो जुन संकेत छ, त्यो गलत छ । अन्ततः हामी फेरि कहाँनेर आउनुप¥यो भने प्रदेश प्रमुख तोक्ने कुरामा आउनुपर्यो । प्रदेश प्रमुख तोकेपछि प्रदेशसभाका सदस्यले शपथग्रहण गर्नेछन् । शपथपछि राष्ट्रिय सभाका लागि मत हाल्न योग्य हुनेछन् । उहाँहरूले भोट हालिसकेपछि राष्ट्रिय सभा गठन भइसक्नेछ । गठन भएपछाडि प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभाबाट निर्वाचित जुन प्रतिनिधि आउँछन् त्यसभित्र महिलाको एकतिहाइ संख्या नपुग कति हो त्यसको हिसाब आउँछ । अनि निर्वाचन आयोगले संविधानतः ती महिला पुगेन, लिएर आऊ भन्छ । त्यसैले निर्वाचन आयोगले संविधानतः नतिजा प्रकाशन नगरेको हो । यो सबै प्रक्रियालाई उल्ट्याउन खोजेर देउवाले सत्ता छोडेनन् मात्र भन्ने कुरा जिम्मेवार अभिव्यक्ति होइन । त्यसैले अबको राजनीति कसरी जान्छ भन्ने कुरा देउवासँग भन्दा पनि ओलीले कसरी लिएर जान चाहनुहुन्छ त्यसमा भर पर्छ । राजनीतिक जटिलता छन् । प्रदेशको नाम के राख्ने, केन्द्र कहाँ राख्ने विवाद छ । यस्तो अवस्थामा कांग्रेसलाई साथ लिएर हिँड्ने कुरा उहाँले सोच्नुपर्छ । नेपाली कांग्रेसले पनि कसले कसरी लिएर हिँड्न चाहन्छ, चाहँदैनन् भन्दा पनि उदार हृदय बनाएर हिँड्नतिर सोच्नुपर्छ । किनभने कांग्रेस कहिले ठूलो दल होला, कहिले सानो होला । कहिले सडकमा होला, कहिले सत्ता या सहादतमा होला । कांग्रेस जेठो हुनुको नाताले सधंै जिम्मेवार भूमिका निर्वाह गर्यो , गर्छ र गरिरहनेछ ।