रेखा यादवको दुई कृत्ति विमोचित «

रेखा यादवको दुई कृत्ति विमोचित

साहित्यकार तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य रेखा यादवद्वारा लिखित नेपाली भाषाको ‘आत्मजा’ हिन्दी भाषाका ‘तुम बिन’ विमोचित भएका छन् ।
शनिबार संघीय राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेतृ हिसिला यमीलगायतका साहित्यिक व्यक्तिहरुद्वारा संयुक्त रूपमा विमोचन गरिएको छ ।
नेतृ यादवद्वारा लिखित दुईवटा फरक–फरक सन्दर्भमा एउटा उपन्यास र अर्को कविता संग्रह अति नै उपयोगी रहेको धारणा जसपा अध्यक्ष यादवले राखेका छन् ।
अध्यक्षले उपन्यासबारे आफ्नो धारणा राख्दै समाजमा भए गरेका घटना र परिवेशहरु समेटिएकाले वास्तवमै पठनीय रहेको उल्लेख गरेका छन् । ‘महिला र पुरुष देवैको हाम्रो समाजमा जन्मदेखि नै मृत्युसम्मको दृष्टिकोण समेटिएको छ,’ अध्यक्षले बताए ।
‘हाम्रो समाजमा रहेका कुरिती तथा बेथितीहरु बदल्नका लागि साहित्यका तथा लेखकहरुको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘त्यो साहित्य अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले तत्कालीन समाजको चित्रण गरेको हुन्छ ।’
वरिष्ठ साहित्यकार तथा युगपुरुष सत्यमोहन जोशीले पनि ‘आत्मजा र तुम बिन’को प्रशंसा गरेका छन् । कोभिडका कारण उनी विमोचन कार्यक्रममा उपस्थित हुन नसकेपछि आफ्नो बधाई सन्देश पठाएका थिए ।
उनले दुवै पुस्तकको मुक्तकुण्ठाले प्रशंसा गरेका छन् । साथै उनले यी दुवै पुस्तक अति नै महत्वपूर्ण र समाजमा परिवर्तन ल्याउने खालको रहेको आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
यसैगरी, जसपाकी नेतृ हिसिला यमी लगायतका साहित्यकार तथा विशिष्ट व्यक्तिहरुले दुवै पुस्तकको प्रशंसा गरेका छन् ।
नेपाली भाषाको आत्मजा उपन्यास र तुम बिनमा लेखिका यादवले केही आफ्नो अनुभव, केही सामाजिक परिवेश र भावनाका कुराहरु समेटेकी छन् । उनले आत्मजामा हाम्रो समाजमा लिभिङ्ग टुगेदरले मान्यता पाउनुपर्ने कुरामा समेत जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्