बढ्यो सान सगरमाथाको! «

बढ्यो सान सगरमाथाको!

गत मंगलबार (वि.सं. २०७७ मंसिर २३ गते) नेपाल र चीन सरकारले विश्वकै सर्वोच्च हिमशिखर सगरमाथाको नयाँ उचाइ संयुक्त रूपमा सार्वजनिक गरेका छन् । सोअनुसार अबदेखि सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेको छ । स्मरणीय छ, यसअघि नेपालले ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने चीनले ८ हजार ८ सय ४४ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका र युरोपका केही देशहरूले भने सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर मान्दै आएका थिए ।
खासगरी सन् १८५२ मा भारतमा खटिएर आएका सर्भेयर जनरल सर इन्ड्र्यु वाग÷वाफले ‘एक्स भी’ अर्थात् १५ औं चुली (चोमोलुङ्मा) नै विश्वको अन्य हिमालहरूभन्दा अग्लो हिमाल हो भनी घोषणा गरेपछि यसको महत्व ह्वात्तै बढेर गयो । साथै यो हिमालको उचाइ त्यो बेला ८ हजार ४० मिटर हो भनी घोषणा पनि भयो । त्यसरी घोषणा भएपछि यो हिमाल आरोहण गर्नका लागि बेलायत, जर्मनी, फ्रान्स, इटली, स्विट्जरल्यान्डलगायत अन्य युरोपेली देशका पर्वतारोहीहरूले यो हिमालमाथि विजय पाउनका लागि आरोहण गर्न होडबाजी नै गरे ।
त्यसका लागि सम्बन्धित देशको सरकार नै लागेर अभियान चलाउन थालेका थिए । बेलायत, जर्मनी, फ्रान्स, इटली, स्विट्जरल्यान्डलगायत अन्य युरोपेली देशहरू यस्तो कार्य (सगरमाथा चढ्ने) मा लाग्नुका केही उद्देश्यहरू रहेका थिए ।
अब सगरमाथाको असली नामबारे पनि केही जानकारी लिऊँ । अहिले आएर जसले जे भने पनि वास्तवमा सगरमाथाको सुरुदेखिको असली र खास नाम ‘चोमोलुङ्मा’ हो । तापनि खोज–अनुसन्धानमा लाग्ने मान्छेहरूले परापूर्व कालदेखि रहिआएको स्थानीय नामबारे वास्ता नगरेर वा स्थानीय बासिन्दाहरूलाई सोधखोज नगरेर ती पर्वतारोही तथा खोजकर्ताहरूले घोर अन्याय नै गरेका थिए भन्न सकिन्छ । बरु उनीहरूले ‘चोमोलुङ्मा’को अनेक नामहरू जस्तै देवढुङ्गा, भैरवनाथ, चरी लमेनी, मितीगुती, गौरीशंकर (पछि गौरीशंकर, मेलुङ्त्सेलगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि यो समस्या हल भयो ।), चापोलुङ्मा, थर्ड–पोल, द गडेस मदर अफ द अर्थ, मदर गडेस अफ द स्काई, चोमो काङ्कार, चोमोलुुङ्मो, पिक एक्सभी, १५ औं चुलीलगायत डेढ दर्जनभन्दा बढी नामहरू पो कि ? भनी भौंतारिए । नभन्दै पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरूले माथि उल्लिखित नामहरूमध्ये धेरैजसो नाम उच्चारण गर्ने, लेख्ने वा सम्झने गर्छन् ।
तर, ‘चोमोलुङ््मा’का अनेक नामहरू अनुमान गरिए तापनि सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखियो । स्मरणीय छ, सो बेला सर जर्ज एभरेस्ट सेवा अवधि सकिएर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । (नोट : माथिका विभिन्न नामहरूमध्ये केही नाम ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।)
त्यस्तै, ‘चोमोलुङ्मा’को उचाइका सम्बन्धमा सुरुदेखि नै एकरूपता थिएन । कहिले ८ हजार ८ सय ८८ मिटर, कहिले ८ हजार ८ सय ४० मिटर, कहिले ८ हजार ८ सय ५० मिटर, कहिले ८ हजार ८ सय ७२ मिटर, कहिले ८ हजार ८ सय ४४ मिटर, कहिले ८ हजार ८ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइएको थियो भने सन् १९५४ देखि मात्रै ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक र स्थिर उचाइ मानिँदै आएको थियो ।

–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्