सहकारीलाई व्यावसायिक बनाऔं : सहकारी मन्त्री पौडेल «

सहकारीलाई व्यावसायिक बनाऔं : सहकारी मन्त्री पौडेल

बागलुङ– लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएकी छिन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले जनतालाई पुँजी र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग सञ्चालन गरिरहेको जानकारी गराउँदै उनले सहकारीलाई व्यावसायिक बनाउन सहकारी ऐन र अन्य ऐनबीच तादम्यता मिलाउन आवश्यक रहेको समेत उनको भनाइ छ ।
अब विभिन्न प्रदेश सरकारबीचको समन्वयमा सहकारी संघ संस्थाहरुको उत्पादनलाई बजारीकरण गर्न आवश्यक भएको र लुम्बिनी प्रदेश सरकारको उत्पादन र बजारीकरणप्रति स्पष्ट धारणा तथा योजना रहेको उनले बताइन् । कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, सञ्चालक माधवलाल देबकोटाको सञ्चालन र बैंकका संचालक तथा लुम्बिनी प्रदेशका संयोजक बिजया धितालको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य तारा गुरुङले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्