अर्थसचिव नेतृत्वको टोलीबाट वीरगन्ज भन्सारको निरीक्षण «

अर्थसचिव नेतृत्वको टोलीबाट वीरगन्ज भन्सारको निरीक्षण

वीरगन्ज-नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने वीरगन्ज वैदेशिक व्यापारको प्रमुख नाका पनि हो । नेपालको प्रमुख नाका वीरगन्ज भन्सार, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) ड्राईपोर्ट पनि यहि छ । तर, नेपालको व्यापारमा सरकारी नीति अझै पनि व्यवसायमैत्री बन्न नकसकेको उद्योगी व्यवसायीहरुले नै गुनासो गर्ने गरेका छन् ।
वीरगन्ज नाकाबाट हुने व्यापार व्यवसायमा अवरोधका विषयमा तालुकदार मन्त्रालयहरु र तीनका उच्चअधिकारीहरु पनि त्यति अनभिज्ञ भने छैनन् । आयातमुखी अर्थतन्त्रको विकल्प नभएको मानसिकता बोकेका अर्थमन्त्रालयका अधिकारीहरुलाई समस्या समाधानको नाममा औपचारिक भ्रमण आएर उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने बाहानामा परिचित भएर जाने गरेका छन् ।
छलफलमा उठाएको विषयहरुको समाधान गर्ने प्र्रतिवद्धता जनाउने र काठमाडौं पुग्दा नपुग्दै बिर्सिने पूरानै प्रवृत्ति रहेको छ । यसपटक पनि अर्थमन्त्रालयका सचिव रामशरण पुडासैनी सहितको टोलीले वीरगन्ज भन्सार कार्यालय, एकीकृत भन्सार जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय (ड्राईपोर्ट) को स्थलगत निरीक्षण गरे । त्यसपछि यहाँका उद्योगी व्यासायीहरुसँग छलफल समेत गरेका छन् ।
अर्थ सचिवसहितको टोलीले स्थलगत रुपमा आएर छलफल गरेपछि निजी क्षेत्रको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले भने यसलाई व्यापार सहजीकरणका लागि विभिन्न समयमा उठाउदै आएको समस्याको स्थलगत रुपमा नै बुझ्ने प्रयास भनेको छ ।
विगतमा पनि अर्थमन्त्रीदेखि अर्थमन्त्रालयका उच्चअधिकारीहरु, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका उच्च अधिकारीहरुलगायतका विभिन्न उच्च सरकारी अधिकारीहरुसँग पनि यहाँका व्यावसायीहरुले बारम्बार छलफल र गुनासोहरु राख्दै आएका छन् । तर, अहिलेसम्म समस्या समाधान भयो भनेर व्यावसायीहरुले संतोष गर्ने ठाउँमा भने अझै पाएका छैनन् । सरकार हेरफेर होस् कि मन्त्री हेरफेर होस् अथवा सचिव फेरियोस की महानिर्देशक परिवर्तन होस्, नेपालको आयात निर्यातमा देखिएका समस्या समाधान गर्न तथा उद्योगी व्यावसायीहरुको समस्या बुझ्ने र राय सुझाव लिने बाहानामा वीरगन्जमा एकपटक आउने गर्छन् ।
जतिपटक मन्त्री, सचिव र उच्च अधिकारीहरुको परिवर्तन हुन्छ त्यति नै पटक सरकारी अधिकारीहरुको वीरगन्ज नाकामा भ्रमण हुने गरेको छ । यहाँका उद्योगी व्यावसायीहरुले हरेक पटक आउने ती अधिकारीहरु समक्ष केही न केही समस्याहरु राख्ने गरेका छन् । समाधानको भने झिनो आशा मात्रै राख्ने गरेका छन् । शनिबार आएको अर्थसचिव रामशरण पुडासैनीको टोलीले पनि वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज भन्सार, आईसीपी र ड्राईपोर्टका कार्यालय प्रमुखहरुसँग छलफल गरेका छन् । छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय कार्यकारिणी सदस्य सुवोध गुप्ताले भारत तथा तेश्रो मुलुकसँग हुने आयात निर्यातमा बारम्बार देखा परेको समस्याको बारेमा जानकारी गराएका थिए ।
अर्थसचिव पुडासैनीले पनि कोभिड–१९ का कारणले शिथिल बनेको नेपालको अर्थ व्यावस्थालाई कसरी उकास्ने भन्ने विषयमा निजीक्षेत्रका प्रतिनिधिहरु लगायत सरोरकारवालाहरुसँग छलफल गर्न आएको बताएका थिए । यस्ता छलफलहरु अहिलेसम्म हजारौं पटक भएकोले अब यसको व्यावहारिक रुपमा कार्यान्वयन भएमात्रै विश्वास गर्न सकिने उद्योगी व्यावसायीहरुको भनाइ छ ।
अर्थसचिव सहितको टोलीको यहाँका निजीक्षेत्र र सरोकारवालाहरुसँगको छलफल पनि विगतका सरकारी अधिकारीहरुको नियमित भ्रमणकै निरन्तरता र औपचारिकतामा मात्रै सीमित नरहेर प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् । विशेषगरी भारतसँगको खुला सीमाका कारणले नेपालमा हुने आयात निर्यातमा अनौपचारिक व्यापार बढी हुने शंका सरकारी अधिकारीहरुले गर्ने गरेका छन् ।
कोरोना महामारीमा गरिएको सीमा बन्दले औपचारिक व्यापारमा सुधार आएको व्यावसायीहरुले बताउदै आएका छन् । तर, अब सीमा नाका लामो समय बन्द गर्न सम्भव नरहेको र भारतसँगको सांस्कृतिक र सामाजिक सम्बन्धका कारणले पनि अब सीमा नाका खोल्नुपर्ने भएकोले फेरि पनि वीरगन्ज नाकाबाट आयात निर्यातमा हुने समस्यामा व्यवहारिक समाधान हुनेमा भने आशावादी मात्रै रहन सकिने उद्योगी व्यवासायीहरुको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्