पूर्वाधार विकासमा फड्को मार्दै तातोपानी «

पूर्वाधार विकासमा फड्को मार्दै तातोपानी

जिल्लाः जुम्ला
प्रदेशः कर्णाली
अध्यक्षः नवराज न्यौपाने
उपाध्यक्षः गंगादेवी उपाध्याय
बजेटः ४५ करोड ७४ लाख ९१ हजार ६२०
वडा संख्याः ९
क्षेत्रफलः ५२५.५१ वर्ग किमि
जनसंख्याः १७८३४
घरधुरीः ३११६


संविधानको धारा २९५(३) बमोजिम जुम्लामा गठन भएको स्थानीय तह हो, तातोपानी गाउँपालिका । यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका, उत्तरमा सिंजा गाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला छ । गाउँपालिकाको केन्द्र तातोपानी ३ लिताकोटमै तोकिएको छ ।
तातोपानी गाउँपालिका कृषि पर्यटन तथा जडिबुडीको प्रचुर सम्भावना भएको जिल्लाकै पहिलो स्थानीय तह हो । जहाँ मानो छरेर पाथी उब्जनी हुने उर्वर भूमि र धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र अनगिन्ती संख्यामा छन् । कृषि, पर्यटन र जडिबुटीका क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न तातोपानी गाउँपालिकाले सुरुवातदेखि नै पूर्वाधार विकासमा जोड दिँदै आएको छ । करिब ५२५.५१ वर्गकिमीमा छरिएर रहेका तातोपानीका सबै विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पु-याउन, पर्यटन प्रबद्र्धनका गर्न पूर्वाधार विकासलाई प्रथामिकता दिएर अघि बढेको छ । गाउँगाउँमा सिंहदरबार झल्काउने, नागरिकलाई संघीयताको महसुश गराउने गरी तातोपानीले विकास निर्माणदेखि सेवा प्रवाहलाई चुस्त रूपमा अघि बढाएको छ ।
पूर्वाधार विकासबिना सम्भावनाहरू अवसरमा रूपान्तरण नहुने र पूर्वाधार कृषि, पर्यटनबाट आर्थिक समृद्धि पनि असम्भव भएकाले आफूहरू पूर्वाधार विकासमै होमिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । अध्यक्ष न्यौपाने भन्छन, “स्थानीय सरकार आउनुपहिले पूर्वाधार विकासमा शून्य रहेको तातोपानी गाउँपालिकामा अहिले गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी भवन, पर्यटकीय पदमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणमा गति लिएको छ ।”
स्थानीय सरकार सञ्चालनका साढे तीन वर्षमा थुप्रै नमूना काम गरेको छ । जसमा सबै बस्तीमा ग्रामीण सडक पु¥याएको छ । चालू आवमा सबै सडक आरसीसी गर्ने लक्ष्य राखिएको छ भने जुम्लामै पहिलो खस भाषाको पाठ्यक्रम निर्माण, ४ वटा बर्थिङ सेन्टर निर्माण, पालिकाभरीका २८ वटै विद्यालयमा भवन निर्माण, प्राविधिक शिक्षालय सञ्चालन, घरमै पुगेर जेष्ठ नागरिकको निशुल्क उपचार सुरु भएको छ । लिफ्ट सिँचाइ निर्माण, एक वडा एक नमूना स्याउ बगैँचा निर्माण, विद्यालयमा अर्गानिक खाजा खुवाउने जस्ता नमूना नीति कार्यक्रम लागू तथा थुप्रै देखिने खालका पूर्वाधार विकास भएका छन् ।
पाँच वर्षे कार्यकालमा पालिकाभरीकै बस्तीमा एक घर एक धारा, ग्रामीण सडकलाई आरसीसी गर्ने, कृषि क्षेत्रबाट उद्यमी जन्माउन लगानी गर्ने, ९० जना नयाँ उद्यमी, तथा ५० जनाको स्तरोन्नति गर्ने, ६ नम्बर वडा रावतवाडामा १ मेगावटको सौर्य उर्जा जडान गर्ने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेको भनाइ छ । धौलिघाट बृहत खानेपानी योजनामा ७५ लाख, जाल्पादेवी जलविद्युत्मा लगानी गाउँपालिकाले गरेको छ ।
प्रत्यक्ष गाउँघरमै सबैखाले सेवा पाउँदा स्थानीयलाई पनि संघीयताको महशुस भएको छ । स्थानीय लोकबहादुर दमाई भन्छन, “पहिला एउटा सानो योजनाका लागि नेतालाई गुहार्नु पथ्र्यो । हिजोआज गाउँका बाटाघाटा बनेका छन्, सडक निर्माण भएका छन्, सिँचाइ कुलो बनेको छ । भ्रष्टाचार नहुने हो र खर्चमा मितव्ययिता गर्ने हो भने संघीयताले ढिलोचाँडो नागरिकका सबै आवश्यकता पूरा गर्नेछ ।”
चालू आवमा तातोपानीले कृषि तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिँदै बजेट करिब ३९ करोडको बजेट ल्याएको थियो । तर हाल राजस्व बाडफाँड, सशर्त, निशर्त शीर्षकको बजेट आएपछि वार्षिक बजेट ४५ करोड पुगेको छ । जसमा पुँजीगत १९ करोड ६२ लाख २३ हजार छ । कृषिमा १ करोड, स्वास्थ्यमा ५० लाख, सडकमा १ करोड, खानेपानीमा १ करोड, जनतासँग अध्यक्ष, उपाध्यक्ष कार्यक्रमका लागि १-१ करोड लगायत शिर्षकमा प्रथामिकीकरणको आधारमा बजेट विनियोजन गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । तातोपानी गाउँपालिकाले व्यावसायिक कृषि गर्नेलाई ५० प्रतिशत अनुदान, सीप हस्तान्तरण, नमूना स्याउ बगैँचा निर्माण, कृषिमा यान्त्रीकरण, बीउ बैंक स्थापना लगायतका नमूना नीतिलाई पनि अघि सारेको धितालको भनाइ छ ।
तीनै तहबीच समन्वयको अभावले पनि जनताको नजिकको सरकार संघीयताको मर्मअनुरूप विकास नभएको पाइन्छ भने अको तर्फ योजनाप्रति उपभोक्तामा इमानदारिता नहुने, अपनत्वको भावना नराख्ने, रचनात्मक सल्लाह र सुझाव नदिने चुनौती पनि छन् । स्वार्थका लागि मात्र काम गर्ने जस्ता समस्याहरू नै तातोपानी विकासका मुख्य चुनौती रहेको उपाध्यक्ष गंगादेवी उपाध्याय बताउँछिन् । कर्मचारी, जनप्रतिनिधि सबै मिलेर पाँच वर्षमा एक घर एक धारा, बाटो, बिजुली सबै वडामा पु-याउने उनको दाबी छ ।
जुम्लाका आठै स्थानीय तहमध्य विकास निर्माणमा फड्को मार्नु बजेट खर्च सन्तोषजनक गर्नुको मुख्य कारण तातोपानी गाउँपालिकामा दरबन्दी अनुसारका कर्मचारी सुरुवातदेखि नै भएकाले कार्यसम्पादनमा समेत सहज भएको छ । यतिबेला पालिकाको प्रशासनिक भवन निर्माणका लागि जगा छनोट भइसकेको र नामसारी गर्न मात्रै बाँकी रहेको छ । “धार्मिक, ऐतिहासिक, पुण्यभूमि प्रचुर सम्भावना गाउँपालिकाको शान, रमणीय, पर्यटकीय स्थलसहित समृद्धि हासिल गर्ने हाम्रो दृढ अभियान’ भन्ने नारालाई सफल गर्न सबै नागरिकलाई रचनात्मक सहयोग गर्न समेत तातोपानी गाउँपालिकाले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्