धनगढीमा सात सडकको शिलान्यास «

धनगढीमा सात सडकको शिलान्यास

धनगढी-क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा सात वटा सडकको निर्माणकार्य प्रारम्भ भएको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई र कालिका कन्ट्रक्सनबीच धनगढीका सात सडक निर्माण गर्ने सम्झौता भएको पाँच महिनापछि बिहीबार शिलान्यास गरी काम सुरु गरिएको हो । सम्झौता भएको २१ दिनभित्र निर्माणकार्य सुरु गर्ने दाबी गरेको निर्माण कम्पनीले शिलान्यासपछि सडक फिलिङको काम सुरु गरेको छ ।
“निर्माण कम्पनीले ‘डीपीआर’ लगायतका प्रक्रिया सम्पन्न गरे पनि क्रसर राख्ने स्थानको टुं्गो नहुनु, चाडपर्व लगायतले मजदुर उपलब्ध नहुनु र नदीजन्य पदार्थको उत्खन्न बन्द हुनुलगायतका समस्याका कारण तोकिएकै समयमा काम अघि बढ्न सकेन,” इकाई सूचना अधिकारी इन्जिनियर श्याम बुढाथोकीले भने, “अब योजनाको काम तीव्र रूपमा अघि बढ्छ ।” निर्माण कम्पनीले पुरानो ‘एयरपोर्टमा प्लान्ट’ राखेको छ ।
बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्त रूपमा चटकपुर–क्याम्पस रोड सडकको शिलान्यास गरेका थिए । आयोजनाअन्तर्गत पहिलो चारणमा कुल १०.२४ किलोमिटर सडक निर्माण निर्माण भइरहेको छ ।
३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (मेनरोड), ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा, ०.४३ किलोमिटरको मालपोत रोड र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको इन्जिनियर बुढाथोकीले बताए । उनले धनगढीको मेनरोड र चटकपुर–क्याम्पस रोड चार लेनको बन्ने बताए । बाँकी सडक दुई लेनको हुनेछ ।

डीपीआरको आधा सडक पनि समेटिएन
आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । तर आयोजना लागू भएको ५ वर्षपछि उपमहानगरपालिकाले १०.२४ किलोमिटर सडक निर्माणको कार्य अघि बढाएको छ ।
आयोजनाअन्तर्गत धनगढीमा विभिन्न आकारका २३ वटा सडक निर्माण गर्ने भनिए पनि पहिलो चरणमा सातवटा सडकको काम अघि बढाइएको हो । पहिलो चरणमा बनिरहेका यी सडकका चौडाइ पनि घटाइएको छ । धनगढीको मुख्य सडक चौराहदेखि कैलालीनालासम्मको सडकको चौडाइ ३० मिटर राखिएको भए पनि अहिले भने २४ मिटर कायम गरी निर्माण भइरहेको छ । इकाईका सूचना अधिकारी श्याम बुढाथोकीले सडकभित्र झण्डै ३० घर पर्न लागेपछि उपमहानगरपालिकाले २४ मिटरको चौडाइमा काम अघि बढाउने सहमति गरेको बताए ।
उनले तत्काललाई २४ मिटर चौडाइको सडक बनेपछि विस्तारै ३० मिटर नै बनाइने दाबी गरे । उनका अनुसार आयोजना र उपमहानगरपालिकासँंग घरधनीलाई मुआब्जा दिनसक्ने क्षमता नभएपछि अहिले सडकको चौडाइ घटाएर योजना अघि बढाउनु परेको बताए ।
उनले सन् २०१५ मा छुट्याइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणबद्ध रूपमा अघि बढाइएको बताए । पहिलो चरणमा ६८ करोड पाँच लाख ९८ हजार सात सय चार रुपैयाँमा कालिका कन्ट्रक्सनले ठेक्का पाएको छ ।
स्थानीय रणबहादुर चन्दले आयोजनाअन्तर्गत तोकिएको सडक मापदण्डभन्दा चौडाइ घटाएर बनाएकोमा चिन्ता व्यक्त गरे । उनले अहिले यत्तिको चौडाइले चाप धानेपनि पछि गएर सडकले चाप धान्न नसक्ने बताए ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले ढिलै भए पनि आयोजनाअन्तर्गत सडक निर्माणको काम सुरु भएको बताए । उनले तत्काललाई १० किलोमिटर निर्माण सुरु भएपछि एक महिनाभित्रै कैलाली पुलदेखि सेतोपुललगायतका सडकलाई समेटेर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारीमा रहेको बताए । उनले यसै वर्षभित्र थप १५ किलोमिटर सडकको निर्माणकार्य अघि बढाउने दाबी गरे ।

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको टुंगो लागेन
आयोजनाअन्तर्गत सडक, नालीसँंगै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पनि बनाउने योजना छ । धनगढी उपमहानगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि स्थान टुंगो लगाउन नसकेकाले निर्माण अन्योलमा परेको छ ।
सुरुमा वडा नम्बर १ मा स्थानीयको विरोध गरेपछि अहिले वडा नम्बर ७, पटेला सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा सो केन्द्र बनाउने योजना गरी काम गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा मन्त्रिपरिषद्को स्वीकृत आवश्यक भएपछि केन्द्र बनाउने स्थानको अन्तिम निर्णय हुन सकेको छैन । नगर प्रमुख वडले केन्द्र बनाउने स्थान छनोटको काम भइरहेको बताए । उनले छिट्टै डीपीआर तयार गराई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने दाबी गरे ।

मुख्य सडक बनाउन भौतिक संरचना वाधक
पहिलो चरणमै धनगढीको मुख्य सडकको चार किलोमिटरको काम अघि बढ्नु पर्ने थियो । तर, उपमहानगरपालिकाले पहिलो चरणमा १.३८ किलोमिटरको मात्र काम अघि बढायो । स्थानीयको सहयोग नहुँदा थप सडकको काम पहिलो चरणमा नसमेटिएको हो ।
नगर प्रमुख वडले सडक शिलन्यास कार्यक्रममा योजनाअन्तर्गत निर्माण हुने कतिपय सडकमा भौतिक संरचना रहेका कारण काम गर्न नसकिएको बताए । “त्यसमा पनि मुख्य सडकका स्थानीयको साथ र सहयोग नहुँदा पहिलो चरणमै मुख्य सडकको योजना अघि बढाउन सकेनौं,” उनले भने, “दुई महिनाभित्रै कैलाली पुलदेखि सेतोपुलसम्मको सडकलाई समेटर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारी छौं । सडक क्षेत्रमा पर्ने भौतिक संरचना आफै भत्काए विकास कार्यलाई तीव्रता दिन सहज हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्