गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मन्त्रालय अगाडिको पार्किङ क्षेत्रमै सीसी क्यामरा छैनन् «

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मन्त्रालय अगाडिको पार्किङ क्षेत्रमै सीसी क्यामरा छैनन्

पोखरा-गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न मन्त्रालय अगाडिको पार्किङ क्षेत्रमै सीसी क्यामरा जडान नहँुदा सुरक्षाकर्मीलाई कुनै घटना हुँदा सत्य तथ्य पक्ता लगाउन मुस्किल हुने जनाएका छन्। अति नै संवेदनशिल क्षेत्रमा हालसम्म सिसि क्यामरा जडान नहँुदा उक्त क्षेत्रमा हुने घटना तथा दुर्घटनाका बारेमा सत्य तथ्य पक्ता लगाउन आफूहरूलाई निकै मुस्किल पर्ने भएको कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
पोखराको केही भागमा सीसी क्यामरा जडान भए पनि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा विभिन्न मन्त्रालय अगाडिको पार्किङ क्षेत्रमा हाल सीसी क्यामरा जडान नभएको उनले जनाए । उनले भने, “पोखराका अति संवेदनशील क्षेत्रमा सिसि क्यामरा जडानको लागि पोखरा महानगरसंगको समन्वय गर्दै छौं, शान्ति सुरक्षाको लागि अहिलेको अबस्थामा सीसी क्यामरा अनिवार्य जस्तै भएको छ ।” पोखराको बैदाम, रामबजार, जिल्ला प्रहरी कार्यालय अगाडि लगायतका ठाउँमा हाल सीसी क्यामरा जडान भएको बताएका एसपी श्रेष्ठले त्यसको अनुगमन (मनिटरिङ) थप व्यवस्थित ढंगले कार्यालयबाटै गर्ने तयारी गरेको बताए ।
यसैबीच, सोमबार दिउँसो करिब ३ः०० बजे गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अगाडिको पार्किङ क्षेत्रबाटै एउटा स्कुटर चोरी भएको थियो । नेपाल सरकारका पूर्वप्रशासक (पूर्व सिडिओ) नरहरी बरालको ग ४ प १५५३ नम्बरको स्कुटर चोरी भएको हो । पर्यटन मन्त्रालयमा केही कामले उक्त क्षेत्रमा पार्किङ गरी राखेको स्कुर करिब एक घण्टापछि आउँदा चोरी भएको उनले बताए ।
कास्कीका अति नै सम्बेदनशिल सडक तथा पार्किङ क्षेत्रमा सीसी क्यामरा आवश्यक पर्ने कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोस रोकाले बताए । दसैंअघि पोखरामा ९ वटा स्कुटर तथा मोटरसाइकल चोरी भएको जसमा दुई जनालाई पक्राउसमेत गरिएको उनले जनाए । स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्