नयाँ उचाइसँगै सगरमाथाको आरोहण आकर्षण के होला «

नयाँ उचाइसँगै सगरमाथाको आरोहण आकर्षण के होला

सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर


मंगलबार विश्वभर विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ बढेको समाचार प्रकाशन तथा प्रसारण भए । नेपालले पहिलो पटक आफ्नै साधनस्रोतको माध्यमबाट सगरमाथाको उचाइ मापन गरेको थियो । नेपाल र चीन सरकारले संयुक्त कार्यक्रम गरी ८,८४८ मिटर रहेको सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको सार्वजनिक गरे । सन् १९५४ मा ‘सर्भे अफ इन्डिया’ले सार्वजनिक गरेको ८,८४८ मिटरलाई हालसम्म आधिकारिक मानिँदै आएको थियो भने अहिलेको सर्भेले ८६ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । २०७२ को भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने भन्दै प्रश्न उठेपछि सरकारले एकल पहलमा सगरमाथाको उचाइ मापन सुरु गरेको थियो । तर, चिनियाँ पक्ष पनि पछि त्यसमा मिसिएपछि दुवै मुलुकको अपनत्व हुने गरी उचाइ मापन गरियो । यसअघि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयलाई लिएर विवाद देखिने गरे पनि संयुक्त अध्ययनपछि अब विवादको टुंगो लागेको छ । सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा नेपाल र चीनबीच संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने सहमति भएको थियो । त्यसपछि नेपाल र चीनका सर्भे टोलीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी मूर्तरूप दिएको नापी विभागले जनाएको छ ।
सगरमाथाको उचाइ मापन करिब दुई वर्षको समयमा नतिजा तयार भएको नापी विभागले जनाएको छ । करिब १३ करोड रुपैयाँ लागतमा सिरहाको माडरलाई ‘प्री साइड लेभलिङ’लाई आधार बनाएर विश्वमा प्रयोग भएका पुराना र नयाँ मापनका विधिलाई अनुसरण गरेर स्थलगत तथ्य संकलन, प्रशोधन गरी नतिजा सार्वजनिक गरिएको हो ।
दुई देशबीचमा रहेको सगरमाथाको नयाँ उचाइ संयुक्त रूपमा सार्वजनिक भएसँगै विगतमा सगरमाथाको उचाइमा रहेको विवादमा पूर्णविराम लागेको अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय उचाइ आधार संरचनाअनुसार उचाइ मापन गरेको विभागको भनाइ छ । मापन टोलीले आरोहण गरी सर्वाेच्च शिखरमा १ घण्टा १६ मिनेटसम्म डाटा संकलन गरेको र करिब २ घण्टा टोलीले शिखरमा बिताएको शिखर आरोणमा संलग्न रहेका टोलीको भनाइ छ । जीएनएसएस र जीपीएस विधिबाट सिरहाको माडरदेखि सोलुखुम्बुको पिके, पातले डाँडा, चुलायमुनसम्म करिब २ सय ४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि ३ सय ४६ स्टेसनबाट जीएनएसएस सर्भे गरी तथ्यांक संकलन तथा प्रशोधनपछि नतिजा प्राप्त भएको विभागले जनाएको छ । सगरमाथाको उचाइ बढेर गएसँगै अब विश्वभर नेपालको सन्देश कसरी प्रवाह हुन्छ, यसले नेपालको पर्वतारोहणमा कस्तो भूमिका खेल्छ । पर्यटक आगमन दर कस्तो रहन्छ । केही जानकारहरूले चीनतर्फको भाग आरोहणमा सहज भएकाले नेपालतर्फको आरोहणमा कम हुने सम्भावना रहेको समेत बताएका छन् भने परराष्ट्रविद्ले भने दुवैतर्फको आरोहणको महत्व रहेकाले गर्दा आरोहण जारी रहने र अझ नेपालतर्फको आरोहणको महत्व अझ बढिरहेको बताएका छन् । यसै सेरोफेरोमा सरोकारवाला निकायसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानीको सार :

नेपाल पक्षबाट आरोहण कम हुने जोखिम
आङछिरिङ शेर्पा
पूर्वअध्यक्ष
नेपाल पर्वतारोहण संघ (एनएमए)

नेपाल र चीनले सगरमाथाको नयाँ उचाइ मापन गरी विश्वमा सार्वजनिक गरेका छन् । यसले सगरमाथाको साख थप उचो भएको छ । चीन र नेपालको समान उचाइ सार्वजनिक हुनु सुखद हो, तर नेपाल पक्षलाई केही घाटा हुने आकलन मेरो छ ।
नेपाली मोहडाभन्दा चीनतर्फको मोहडा आरोहण गर्न सहज हुने भएकाले गर्दा पनि चीन क्षेत्रबाट आरोहण टोली बढ्ने मेरो अनुमान हो । हाम्रो भौगोलिक बनावटका कारण हवाई उडान भर्दै बेसक्याम्पसम्म मानिसले नै आरोणका सरसामान ओसार्नुपर्ने बाध्यता छ । तर, चीनतर्फबाट बेसक्याम्पसम्म नै सडक मार्ग सहज भएकाले गर्दा आरोहणलाई पनि सहज हुने र रोयल्टी पनि कम रहेकाले चीनतर्फको मोहडाबाट आरोहण गर्ने आरोही बढ्ने आकलन हो । चीनभन्दा नेपालमा सगरमाथा आरोहण गर्नका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बढी राजस्व तिर्नुपर्ने हुन्छ । कम रकम, नेपालीतर्फको मोहडाबाट खर्चिलो हवाई उडान, बढी समय र सहज व्यवस्थापन नभएकाले गर्दा सरोकारवाला निकायले यसमा सोचविचार गर्नु अपरिहार्य छ । चीनतर्फबाट आरोहण गर्दा करिब–करिब नेपालको तुलनामा १० दिनसम्म आरोहण कम हुन आउँछ । यसरी कम समय, आरोहणमा सहजता, स्थलमार्गको पहुँचले आधार शिविरसम्म नै यातायात सुविधा र रोयल्टी पनि नेपालको तुलनामा सस्तो भएको हुँदा नेपालतर्फको आरोहणमा कमी आउने मेरो अनुमान छ । नेपालतर्फका आरोही चीनतर्फ जान सक्छन्, यसअघि चीनतर्फबाट सगरमाथा आरोहण आरोही उचाइकै कारण नेपालतर्फ आकर्षित हुने गरेका थिए । मंगलबार चीन र नेपालले सगरमाथाको समान उचाइ सार्वजनिक गर्नुभन्दा अगाडि सगरमाथाको उचाइ नेपाल र चीनबीच फरक थियो । आरोहीले सगरमाथा आरोहण प्रमाणपत्र मोहडाअनुसार फरक प्राप्त गर्थे । आरोहण प्रमाणपत्रमा पनि दुवै मोहडाअनुसार उचाइ फरक उल्लेख गरिँदै आएको थियो ।
नेपालतर्फबाट ८,८४८ मिटर र चीनतर्फबाट आरोहण गर्दा सगरमाथाको उचाइ ८,८४४.४३ मिटर प्रमाणपत्रमा उल्लेख गरिने गरिएको थियो । यसरी उचाइमा एकरूपताको प्रमाणपत्र दुवै देशले जारी गर्ने भएसँगै सहजताका हिसाबले चीन पक्षबाट ओरोहण टोली बढ्ने सम्भावना रहेको छ ।
नेपाल सरकारले सडकमार्ग निर्माण, रोयल्टीमा कमी तथा आरोहीलाई विशेष सुविधा प्रदान गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । सरकारले सडक मार्ग चौडीखर्कसम्म पु¥याउन सकेको खण्डमा तुलनात्मक रूपमा सस्तो पर्न जान्छ । काठमाडौंबाट चौडीखर्कसम्म यातायात सुविधा भएमा प्रतिकिलोग्राम १० रुपैयाँ पर्न जानेछ । तर, हाल हवाई सेवाको प्रयोग गर्दा प्रतिकिलोग्राम १ सय १० रुपैयाँ पर्न जाने र लुक्ला एयरपोर्टबाट फेरि मानिसले बोकेर लानुपर्ने भएकाले थप ढुवानी महँगो पर्न जान्छ । आरोहण टोलीलाई धेरै सामान चाहिने हुँदा ढुवानीमै तीसौं लाख रुपैयाँ बढी खर्चिनुपर्ने बाध्यता छ । नेपालतर्फबाट वार्षिक ५ सय जना र चीनबाट करिब ६ सय जनाले सगरमाथाको आरोहण गर्ने गरेका थिए ।
सडक मार्ग भएमा एक भाग मात्र ढुवानी खर्च लाग्नेछ । विश्वमा सगरमाथा दुवै देशको सिमानामा रहेकाले नेपाल–चीनको साझा भएको सन्देश प्रवाह भएको छ । तर, चुचुरो भने नेपालकै हो भन्ने इतिहासले सीमासम्बन्धी दस्तावेजमा प्रस्ट उल्लेख छ । पछिल्लो समय कोभिड–१९ ले विश्वको अर्थतन्त्र ध्वस्त पारेको अवस्था छ । हिमाल आरोहण आवश्यकता नभएर रहर र सोख हो । त्यसैले कोभिड–१९ को समाधान नभई तत्काल यही अवस्थामा आरोहीको संख्या र पर्यटक आगमनमा कुनै वृद्धि हुनेछैन र पर्यटन क्षेत्रबाट ठूलो आशा नरहेको अवस्था छ । आरोहण गर्न महँगो भएकाले गर्दा विश्वको अर्थतन्त्र सबल हुनैपर्छ । आरोहणमा प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । सगरमाथाको नयाँ उचाइ विश्वभर जानकारी दिन नेपाल पर्यटन बोर्ड र यससँग सम्बन्धित संघसंस्थाले प्रचार–प्रसारमा ध्यान दिनुपर्छ ।
कोभिड–१९ ले नेपालको पर्यटन क्षेत्र ठूलो मारमा परेको छ । सरकारले पनि यस क्षेत्रमा संलग्न व्यवसायी र पेसाकर्मीलाई कुनै राहतका कार्यक्रम ल्याएको छैन । पाँच महिना कमाएर वर्षभरि खानुपर्ने अवस्थामा यस क्षेत्रका पेसाकर्मीहरू रहेका थिए, तर गत वर्ष र यस वर्षको सिजन गइसक्दा पनि उचित पहल हुन सकेको छैन । आरोहणमा आउने पर्यटन आगमनबाट २ खर्ब ४६ अर्ब रुपैयाँ आर्थिक उपार्जन हुने गरेको थियो र यस क्षेत्रमा करिब साढे ८ लाखले रोजीरोटी प्राप्त गरेका थिए ।

नेपाल ‘माउन्टेनेरिङ्को इन्टरनेसनल क्यापिटल’ हो
हिरण्यलाल श्रेष्ठ
परराष्ट्र मामिलाविद्

चीन र नेपालले संयुक्त रूपमा विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गर्नु सकारात्मक हो । यसले गर्दा विश्वमा नै सगरमाथाको उचाइ थप उचो र सगरमाथाको सन्देश विश्वभर पुगेको छ । नयाँ उचाइ सार्वजनिक भएसँगै यसको महत्व अझ बढेर गएको छ ।
सगरमाथा नेपाल–चीनको सिमानामा रहेको छ । आरोहण गर्ने टोली दुई तर्फबाट जारी नै रहन्छ । भलै कतैबाट अलि सहज होला, कतैबाट अलि असहज भए पनि आरोहणका क्रममा कुनै कमी आउने मैले देखेको छैन । दुवैतर्फको आरोहणको आ–आफ्नै महत्व छ ।
नेपालले पनि आरोहण टोली बढाउनका लागि आकर्षक प्याकेज र सहजीकरणमा ध्यान दिनुपर्छ । नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गरेको भएर नै यसको विश्वसनीयता बढेर गएको छ । यसअघिका विवादहरू र फरक–फरक उचाइको विवरणलाई यस नयाँ उचाइले एकरूपता प्रदान गरेको छ ।
सगरमाथा विश्वको सर्वोच्च शिखर भएकाले पनि अन्तर्राष्ट्रिय जगत्मा यसको ठूलो महत्व रहेको छ । नेपाल भनेको ‘माउन्टेनरीको इन्टरनेसनल क्यापिटल’ हो । त्यसैले यसलाई ग्लोबलमा नै चासोका साथ हेरिन्छ । पर्वतारोहण क्षेत्रका लागि सगरमाथा भनेको कहिल्यै कम नहुने आकर्षणको केन्द्र हो । सधैं हिउँ रहने भएकाले गर्दा ‘थर्ड पोल’ तेस्रो धु्रवको उपनामले पनि चिनिन्छ ।
सगरमाथा नेपाल र चीनबीचको सिमानामा रहेकाले चिनियाँ नागरिकमा पनि सगरमाथाप्रति गौरवको भाव रहँदै आएको छ । चीन र नेपालको भावना, सम्बन्ध र उचाइको प्रतीकका रूपमा सगरमाथा रहँदै आएको छ । नेपाल र चीनले वैज्ञानिक अध्ययन गरी उचाइ नतिजा प्रस्तुत गरेका छन् । यसले गर्दा यसअघि विश्वमा रहँदै आएको सगरमाथाको उचाइको विवाद पनि अन्त्य भएको छ ।

‘रियल एडभेन्चर साइट’ नै नेपालतर्फको आरोहण हो
मिरा आचार्य
निर्देशक, पर्यटन विभाग

सगरमाथाको आरोहणका लागि रियल एडभेन्चरको साइट नेपाल नै हो भनेर विश्वभर प्रख्यात छ । चीन र नेपालले मंगलबार संयुक्तरूपमा सगरमाथाको उचाइ सार्वजनिक गरेसँगै नेपालतर्फको आरोहणमा आरोहीको संख्या कमी आउने टीकाटिप्पणी सुनें यसमा म सहमत छैन् र आरोहणमा कुनै कमी आउने छैन । अझ नेपाल स्वयंले मापन गरेको भएर बढेर जानेछ । म आफै पनि बेसक्याम्पसम्म पुगेकी छु धेरै स्वदेशी विदेशी आरोहीसँग संवाद अध्ययन, अनुसन्धान, छलफलमा सहभागी भएर सगरमाथाबारे जानकारी लिएकी छु । विगतमा चीनतर्फको उचाइ कम थियो र नेपालतर्फको उचाइ बढी भएर नेपालतर्फको आकर्षण बढेको बताइएको छ यसमा पनि म सहमत छैन यो तथ्यगत हैन रियल एडभेन्चरका लागि नेपाल साइट नै विश्वभर प्रख्यात रहँदै आएको आरोहणमा सहभागीले बताउने गरेका छन् । र यो हो पनि । विगतमा उचाइ कम बढी भए पनि सर्वाेच्च शिखर सगरमाथाको चुचुरो समानस्तरमा थियो । चीनबाट भन्दा नेपालतर्फबाट नै आरोहण रोयल्टी सस्तो छ । विगतमा मैले गरेको तुलनात्मक अध्ययनअनुसार चीनको रोयल्टी शुल्क महंँगो थियो । नेपालको रोयल्टी चीनको भन्दा सस्तो रहेकाले यसलाई बढाउनु पर्छ भन्नेमा छौं । सगरमाथा भनेको सबैभन्दा अग्लो शिखर हो यसको अन्तर्राष्ट्रिय महत्व छ । चीन र नेपालको सीमामा रहेको सगरमाथा बढी नै रोयल्टी बुझाएर भए पनि शिखरमा पाइला टेक्नु विदेशीका लागि गौरवको विषय हो र हुँदै आएको छ । वास्तविक साहसिक पर्वतारोहण गर्न चाहनेका लागि नेपाल साइट सबैभन्दा उपयुक्त हो । किन भने नेपालतर्फबाट आरोहण गर्दा लुक्लाबाट सगरमाथाको शिखरसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ । करिब ५ हजार ३ सय ६४ मिटर मा बेसक्याम्प रहेको छ । कम्तीमा त्यहाँदेखि शिखरसम्म पैदल यात्रा तय गर्नुपर्छ । चीनतर्फ भने बेस क्याम्पसम्म यातायात पहुँच पुगेको छ । त्यस कारणले हेर्दा पनि नेपालको रियल एडभेन्चरमा रमाउन चाहनेका लागि पनि अहिले पनि विश्वभर नेपाल प्रसिद्ध रहेको छ । हाम्रो आफ्नै मौलिकता र प्राकृतिक सम्पदाले गर्दा पनि नेपाल सगरमाथा आरोहणमा नेपालतर्फको साख कम हुनेछैन र हुँदैन पनि बरु नयाँ उचाइसँगै थप बढेर जाने पक्का छ । साहसिक पदयात्राका लागि आरोहीले आफूलाई अनुकूल बनाउँदै लानुपर्छ यसले आरोहीलाई नयाँ पन त दिन्छ नै नेपालतर्फको आफ्नै ब्रान्ड कायम छ । हिउँ हेर्दै आरोहण गर्न, आरोहणको क्रममा विभिन्न हिम श्रृङ्खला हेर्न सकिने प्राकृतिक सौन्दर्यता हाम्रो छ दृष्यावलोकन गर्न चीनतर्फ पाइँदैन । नेपालतर्फको आरोहणमा आरोही दोहोरिएका छन् र त्यो सम्भावना छ । नेपालतर्फको आरोहणमा संलग्न आरोहीका अनुसार प्रत्येक ऋतुमा यसको सौन्दर्यता र प्राकृतिक टेस्ट पाउने गरेको बताउने गरेका छन् । यसले गर्दा यहाँ आउने गरेको पर्यटकले बताउँदै आएका छन् । यी समग्र कारणले गर्दा पर्यटन भनेको माउथ टु माउथ प्रचार हुने भएकाले पनि नेपालतर्फको आरोहण आफैमा पृथक र साहसिक छ । पछिल्लो समय नेपाल सरकारको साधन स्रोतको उपयोग गरेर नयाँ उचाइ प्राप्त भएसँगै सगरमाथाको थप प्रचार प्रसार भएकाले अझ बढेर जाने मैले देखेकी छु ।

प्रतिक्रिया दिनुहोस्