विद्युत् चुहावटमा कडाइ «

विद्युत् चुहावटमा कडाइ

दमौली-नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा कडाइ गर्न थालेपछि विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको छ ।
अघिल्लो वर्ष २०७४ साउन महिनामा भएको २४.८८% विद्युत् चुहावट २०७५ असोज महिनामा आउँदा ८.३०% मा झार्न वितरण केन्द्र सफल भएको छ । अघिल्लो आव ०७४/०७५ को समग्र विद्युत् चुहावट १६.६७% थियो भने चालू आव ०७५/७६ को असोज महिनासम्मको विद्युत् चुहावट ११.१५% रहेको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको समग्र विद्युत् चुहावट आव ०७२/७३ मा २५.७८%, आव ०७३/७४ मा २२.९% र गत आव ०७४/७५ मा २०.४५% रहेको थियो । यस हिसाबले तनहुँ वितरण केन्द्रले चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गरेको गोशलीको भनाइ छ । गोशलीका अनुसार ठूला उद्योग जडान भएका टिओडी मिटरमा नियमित डाटा डाउनलोड गर्ने गरिएको र छुट भएको युनिट छुट बिलिङवापत असुल गरिएको कारणले पनि चुहावट घटेको हो ।
यसमा ग्राहक वर्गबाट १ लाख ९७ हजार ३२१ रुपैयाँ असुलिएको छ भने करिब ५० लाख बराबरको छुट युनिट स्वीकृत हुने प्रक्रियामा छ । वितरण केन्द्रले लामो समयदेखि सामुदायिक संस्थामा बिग्रेको मिटर फेर्ने डाटा डाउनलोड गरी अध्ययन गर्ने र सम्भव भएका एकमुष्ट ग्राहकको एउटै एचटी मिटर राखी मिटरिङ गरेका छन् । यसले गर्दा नियमित महशुलभन्दा करिब एक तिहाइले मासिक खपत वृद्धि देखिएको गोशलीले बताए । चुहावट नियन्त्रण अभियानअन्तर्गत ३९ जना ग्राहकलाई कारबाही गरिएको र करिब २ लाखभन्दा बढी जरिवाना असुल गरिएको छ । “यस्ता चोरी गर्ने ग्राहकलाई नियमानुसार जरिवाना लगाई कारबाही गर्ने गरिएको छ,” गोशलीले भने, “मिटर बाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिन मिटरमा अन्य वस्तु प्रयोग गर्ने, डाइरेक्ट हुकिङ गर्ने, स्वीकृत क्षमताभन्दा बढी क्षमताको एमसिबी प्रयोग गर्ने र मिटरको सिल तोड्नेलाई कारबाही गरिएको छ ।”

बिग्रिएका मिटर बदली गर्ने अभियान
वितरण केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान नै चलाएको छ । हालसम्म यस्ता बिग्रेका करिब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको गोशलीले जानकारी दिए । यसले गर्दा नियमित महशुल संकलन पनि वृद्घि भएको छ । यस्ता मिटर बन्दबाट करिब १० लाख रुपैयाँ बराबरको छुट बिलिङवापत असुल गरिएको छ । चालू आव ०७५/७६ मा यस्ता १ हजार थान मिटर बदली गर्ने योजना रहेको गोशलीले बताए ।

लाइन काटेर २३ लाख असुली
वितरण केन्द्रले विद्युत् लाइन महशुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानबाट २३ लाख १४ हजार ७ सय ८ रुपैयाँ असुल गरेको छ । आव ०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् महशुल संकलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको सातौं दिनभित्र महशुल बुझाउने ग्राहकलाई बिल रकमको २% छुट दिइनेछ । मिटर रिडिङ गरेको आठौ दिनदेखि २२ औ दिनभित्र बिलअनुसारको महशुल लाग्नेछ ।
मिटर रिडिङ गरेको २३औं दिनदेखि ३० औ दिनसम्म विद्युत् महशुल बुझाएमा ५% थप दस्तुर लाग्नेछ । यस्तै ३१ औं दिनदेखि ४० औ दिनसम्म विद्युत् महशुल बुझाएमा १०% थप दस्तुर लाग्नेछ । मिटर रिडिङ गरेको ४१ औ दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५% थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १० अनुसार मिटर रिडिङ गरेको ६०औ दिनसम्म विद्युत् महशुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिनेछ ।

प्रतिक्रिया दिनुहोस्