बाख्रा पालेर वार्षिक १५ लाख आम्दानी «

बाख्रा पालेर वार्षिक १५ लाख आम्दानी

पोखरा-विगत १५ वर्षअघि जाइका प्रोजेक्टमा काम गरी आफ्नो गाउँ फर्किएका पोखरा महानगरपालिका २० स्थित आटिघर मौजामा एक स्थानीय युवा दुर्गाबहादुर गुरुङले गाउँमा छुट्टै पहिचान बनाएका छन् । रोजगारका लागि युवा शक्ति शहर बजार र वैदेशिक रोजगारमा जानेको लर्को लागेका बेला आफ्नो जन्म थलोमा केही गर्न सकिन्छ भनी गाउँ फर्किएका उनलाई बाख्रा पालन गर्ने सुरुवातको समयमा बाख्रा गोठाले भनेर बोलाउनेहरु हिजोआज दुर्गा सर भन्न थालेका छन् ।
मौजा हिल लाइफ स्टक बाख्रा फामका सञ्चालकसमेत रहेका उनले बाख्रा पालनसँगै बाख्राको क्रस (बाख्रा प्रजनन) गराउने, सामान्य रोगी तथा चोट पटक लागेका बाख्राको उपचार गर्न समेत दक्ष भएसँगै हाल उनलाई गाउँलेले सम्झने गरेका छन् । उनको पहलमा हाल गाउँमा करिब ४० घर परिवारले बाख्रा पालन गर्न थालेका छन् । मौजा बाख्रा पालन कृषि सहकारी संस्थाको अध्यक्ष समेत रहेका गुरुङले आफ्नो गाउँमा गाई-भैंसी तथा बाख्रा पालन धेरै किसानहरु भएको बताए ।
मौजामा कसैको गोठमा भैंसी तथा बाख्रा बिरामी हुँदा गुरुङ नै उपचार गर्न पुग्ने गरेका छन् । जाइका प्रोजेक्टरबाट हात झिकेसँगै विदेश जाने तयारी गरेका उनलाई जर्मनका डक्लेसले नेपालमा धेरै सम्भावना भएकाले विदेश जानु भन्दा स्वदेशमै केही गर्न दिएको सुझाव उनले मनमा लिएर आफ्नो गाउँ फर्किएर आफ्नै व्यवसाय थालेको बताउँछन् ।
आफूहरुले गाउँमा उत्पादन गरेको बाख्राको मासुको खपत पोखरा शहरमै हुने उनले बताए । बिउको रुपमा उन्नत जातको बाख्राको प्रजनन भने कास्कीसहित स्याङजा, पर्वत, तनहुँ, लगायतका गण्डकी प्रदेशका अन्य जिल्लासम्म लैजाने गरेको उनले बताए । उनले बाख्रा पालनबाट वार्षिक रुपमा १५ लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । बाख्रा पालन तथा कर्मचारीलाई तलब दिएर करिब ८ लाख जसो गुरुङले खुद नाफा कमाउने गरेका ह्न् । उनले २०६२ साल देखि व्यावसायिकरुपमा बाख्रा पालन सुरु गरेका हुन् । मौजामा जमुनापारी, स्थानीयसहितको क्रसमा वोयर जातको बाख्रा पालन सुरु भएको हो । मासुको लागि जिउँदो बाख्रा प्रति केजी ६ सय ५० मा र बिउको रुपमा प्रजजनको रुपमा लैजाँदा प्रति केजी एक हजारमा उनले बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्