पोखरामा पनि पिंजडामुक्त खोरमा कुखुरापालन गर्ने अभियानको सुरुवात «

पोखरामा पनि पिंजडामुक्त खोरमा कुखुरापालन गर्ने अभियानको सुरुवात

पोखरा-काठमाडौं र चितवनमा पिंजडामुक्त खोरमा कुखुरा पालन गर्ने अभियानको सुरुवात गरेको पशुकल्याणको क्षेत्रमा क्रियाशील संस्था एनिमल नेपालले पोखरामा पनि उक्त अभियान सुरु गरेको छ । उक्त अभियानका नेपाल संयोजक निर्मल शर्माले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पर्यटकीय नगरी पोखरामा पनि उक्त अभियानको सुरुवात भएको जानकारी गराएका हुन् ।
उनले भने, “राम्रोसँग हिँडडुल गर्न नपाउने गरी केजमा पालेका कुखुरा र त्यस्ता कुखुराबाट उत्पादन भएका अण्डा मानव स्वास्थ्यका दृष्टिले राम्रो हुँदैन, पिंजडा वा बन्दखोरमा कुखुरा पालन गर्दा क्रुर तथा निर्दयी हुने हुन्छ, जसले गर्दा कुखुरा पालन व्यवसाय कल्याणकारी हुँदैन ।” पिंजडा मुक्ता खोरमा पालेका कुखुराहरूको शारीरिक विकास जस्तै पखेटा, खुट्टा र हाडको विकास अपेक्षाकृत राम्रो हुने, पिंजडा मुक्त खोरमा पालिएका कुखुरा र कुखुराको अण्डा स्वास्थ्यका लागि राम्रो हुने, पिंजडा मुक्ता खोरमा पालिएका कुखुराले सूर्यको प्रकाश, स्वस्च्छ हावा, पानी पाउने हँुदा इन्जेक्सनको समेत साइड इफेक्ट कम पर्ने भएको अभियानका संयोजक शर्माले जनाए ।
काठमाडौं ठमेलका २५ वटा रेष्टुराँहरूले पिंजडा मुक्त खोरमा पालेका कुखुरा र कुखुराको अण्डा उपलब्ध गराउने गरी आफूहरूसँग प्रतिवक्तद्धा जनाएको बताउँदै शर्माले चितवन र अब पोखरामा पनि केही रेष्टुराँ व्यवसायीहरूले यस अभियानमा साथ दिने जनाए ।
सन् २०२५ सम्ममा नेपालमा पिंजडा मुक्त कुखुरा पालन गर्ने अबस्था सिर्जना गर्न हाल आफुहरूको अभियान सुरु भएको अभियानका संयोजक शर्माले बताए । नेपाली बजारमा हाल उपलब्ध हुने कुखुरा र कुखुराको अण्डा मध्य करिब ८० प्रतिशत जसो पिंजडा (केज) मा पालेको र २० प्रतिशत जसो मात्र पिंजडा मुक्ता ढंगले पालेको उनले जनाए । यूरोपका धेरै देशमा यसको अभियान सुरु भएकाले नेपालमा पनि यसका लागि आफूहरू अभियानमा जुटेको शर्माले जनाए ।
पिंजडा मुक्त कुखुरा र कुखुराको अण्डाको मुल्य पनि पिंजडामा पालेकाको भन्दा केही महँगो हुने अभियानका संयोजक शर्माले बताए । पिंजडामा पालेर कतै चल्न नदिने गरी अगाडी दाना र पानी दिने पछाडिबाट अण्डा लिने र तल्लो भागमा सुली संकलन गर्ने पैसा मात्र कमाउने लक्ष्यले पन्छीको स्वतन्त्रतालाई नै हनन गरी पालन गरेका कुखुरा र कुखुराको अण्डाको महत्व अब कम हुने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्