महासंघको खर्च विवरण सार्वजनिक गरिने

नेपाल उद्योग वाणिज्य महासंघभित्र शुद्धीकरण अभियान सुरु गरिने भएको छ । निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघको संस्थागत सुधारका लागि शुद्धीकरण अभियान सुरु गरिएको र सचिवालय सुधारबाट यसलाई अगाडि बढाइने अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् ।
अध्यक्ष गोल्छाका अनुसार महासंघको खर्च विवरण अब पारदर्शी बनाइ वेबसाइटमा राखिने व्यवस्था मिलाइनेछ । “महासंघ सार्वजनिक संस्था भएकाले यसका गतिविधि पारदर्शी हुनैपर्छ,” अध्यक्ष गोल्छाले मंगलबार ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा भने, “म अहिल्यै समय तोक्दिनँ तर विगतदेखि नै पारदर्शितामा प्रश्न उठेकाले हामी यहाँको खर्च विवरण सर्वसाधारण नागरिकले पनि हेर्न पाउनेगरी वेबसाइटमा राख्नेछौं । उनले महासंघभित्र आन्तरिक लेखापरीक्षणको काम सुरु भइसकेको जानकारी दिँदै यसलाई पारदर्शी बनाउन ६ महिनासम्म लाग्नसक्ने बताए ।
महासंघका पदाधिकारीको गत शनिबार चन्द्रागिरी रिसोर्टमा बसेको रिट्रिट बैठकमा सचिवालय सुधारलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको थियो । जसअनुसार सचिवालय सुधारका लागि उद्योग वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । श्रेष्ठले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको सल्लाह र सुझावमा सचिवालयको पुनर्संरचनासम्बन्धी कार्ययोजना महासंघ पदाधिकारीसमक्ष पेश गर्नेछन् । महासंघभित्र सञ्चालित कृषि उद्यम केन्द्रलगायत विभिन्न परियोजनाको खर्च विवरण सार्वजनिक नहुँदा आरोप प्रत्यारोप नै चल्ने गरेको छ । केन्द्रको खर्च विवरणका विषयमा मतभेद हुँदा तत्कालीन कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएर महासंघ छाडेका थिए ।
अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष रहँदा नै आन्तरिक लेखापरीक्षण गरी त्यसलाई सार्वजनिक गर्ने तथा महासंघको आम्दानी र खर्च विवरण पारदर्शी बनाउने प्रतिबद्धता सार्वजनिक कार्यक्रमबाटै गर्दै आएका थिए । सोही प्रतिवद्धता पूरा गर्न पदाधिकारी समेतको म्याण्डेट लिएर महासंघलाई पारदर्शी बनाउन गोल्छा अगाडि बढेका छन् ।
कार्यक्रममा अध्यक्ष गोल्छाले महासंघ अध्यक्षका हैसियतमा आफूले पेश गर्न लागेको भिजन पेपर सम्पूर्ण निजी क्षेत्रको सम्पत्ति हुने र यसैको आधारमा सरकारसँग सहकार्य हुने धारणा राखे । “मैले हाम्रो भिजन पेपरको अवधारणा सुनाउँदा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेल पनि उत्साहित भएर सहकार्य गर्न तयार छौं भन्नुभएको छ,” गोल्छाले भने, “यो भिजन पेपर शेखर गोल्छाको व्यक्तिगत नभएर सम्पूर्ण निजी क्षेत्रको हुनेछ र हामी सबै निजी क्षेत्रले एउटै भाषा बोल्ने हो भने सरकारले पनि हाम्रा कुरा अस्वीकार गर्न सक्ने छैन ।”
कार्यक्रममा अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, पूर्वअध्यक्ष सविन श्रेष्ठलगायतले महासंघ निर्वाचनमा दुई पक्षमा विभक्त निजी क्षेत्र एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष गोल्छाले भने चुनावको म्याण्डेट नै मिलेर जाऊ भन्ने रहेको यसको विकल्प नभएको बताएका थिए भने वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निर्वाचनपूर्व नै चुनावलगत्तै गुटबन्दी अन्त्य हुने सार्वजनिक अभिव्यक्ति दिएको र त्यसलाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका थिए ।