हिमालयन हाइड्रो एक्स्पो २०१८ राष्ट्रपति भन्छिन् : ऊर्जामा अपेक्षित विकास भएन

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा ऊर्जाको विकास अपेक्षित रूपमा हुन नसकेको बताएकी छन् । ऊर्जा उत्पादन सुरु भएको एक सय सात वर्षको इतिहासमा जम्मा ९ सय मेगावाटमात्र जलविद्युत् उत्पादन भएको भन्दै राष्ट्रपति भण्डारीले जलस्रोतको विकासका लागि सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् ।
शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऊर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । उनले पर्याप्त जलस्रोतको अधिकतम सदुपयोग गर्दै ऊर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आव्हान गरेकी छन् । हाइड्रो एक्स्पोले ऊर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरी समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।
नेपालमा पहिलोपटक आयोजना भएको अन्तर्राष्ट्रियस्तरको हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक ऊर्जाखपत भए पनि अवस्था निराशाजनक भएको बताइन् । जलविद्युत्को विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रक्रिया सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् । नवीकरणीय ऊर्जाको विकासलाई उत्तिकै प्राथमिकता दिनुपर्ने बताएकी राणाले निजी क्षेत्र जलविद्युत् विकासमा प्रतिबद्ध रहेको बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी सिर्जना गर्न ऊर्जा विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । ऊर्जा विकासबाट तीव्र औद्योगिकीकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोलाई सम्बोधन गर्दै इपानका अध्यक्ष गुरागाईंले राजनीतिक दल, सरकार र सम्बन्ध पक्षले ऊर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । ऊर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्यक्ष गुरागाईंको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाइ छ । यसले विभिन्न मुलुकसँग ऊर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर सिर्जना गर्दै ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरू लगायत झण्डै सयभन्दा बढी स्टल रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीको छ ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता छ ।
विशेषगरी सीएमसी इटाली, भोइथ–जर्मनी, क्रिष्टल–भारत, फलोवेल–भारत, वापटेक–बुल्गेरिया, मार्भल–चेक रिपब्लिक, बीएफएल–भारत, पावर चाइना–चीन, सीएसईसी–चीनजस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी छन् ।
७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने एक्स्पोको आयोजक एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । सबै नेपाली एक भएर जुटेको खण्डमा कम लागतमा अधिक ऊर्जा उत्पादन सम्भव रहेको उनको भनाइ छ ।
एक्स्पो अवधिमा हाइड्रो पावरका मुख्यमुख्य विषयमा सेमिनार समेत सञ्चालन गरिएको छ । पहिलो दिन पुस २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुस २२ गते बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन पुस २३ गते हाइड्रो पावरसम्बन्धी सेमिनार सञ्चालन हुनेछन् ।
यसैगरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावरसम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार भएका वस्तु तथा सेवाबीच प्रतिस्पर्धासमेत हुँदैछ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरू मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृतसमेत गरिने छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।
एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अप्m कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।
नेपाल टनेलिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अप्m कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघ, नेपाल युरोपियन चेम्बर अप्m कमर्स एवं स्वदेशी तथा विदेशी कम्पनीहरूको पनि एक्स्पोलाई सहयोग छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सीएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रूपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि र एनएमबी बैंक रहेका छन् ।